२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी चालकमा उच्च रक्तचाप

बाजुरा- प्रहरीले सवारी सञ्चालनमा कडाइ गरेको छ। जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो। चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

सोमबारदेखि जिल्लामा चल्ने सबै सवारी चालक र सह–चालकको रक्तचाप तथा स्वास्थ्य अवस्था चेक जाँच सुरु गरेको छ। सामान्य अन्य स्वास्थ्य अवस्थाबारे जानकारी लिएपनि मुख्य रुपमा रक्तचाप जाँच गरिएका प्रहरीले बताएको छ।

जाँच गरिएकामध्ये अधिकांश चालकहरुको उच्च रक्तचाप रहेको स्वास्थ्यकर्मीले बताएका छन्। छड्के रुपमा सडकमै सवारी चालक र सह–चालकको स्वास्थ्य चेक जाँच गर्ने गरिएको छ। सवारी साधन सञ्चालनको गति, व्यवहार र आचरणबारे पनि जानकारी लिनेगरि प्रहरीले रक्तचाप जाँच गर्ने गरेको छ।

बाजुराबाट धनगढी, महेन्द्रनगर र नेपालगञ्जमा चल्ने सवारी साधनका तथा बसका चालक र सह–चालक हरुको रक्तचाप चेक जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धबसिंह भाटले बताएका छन्। जाँच गर्नेक्रम जारी रहेको छ।

सडकमा हुने सवारी दुर्घटना न्यूनिकरण तथा सवारी चालकको रक्तचापको अवस्थाका बारेमा बुझ्नका लागि जाँच प्रक्रिया सुरु गरिएको हो। जिल्ला अस्पताल बाजुरासँगको सहकार्यमा जाँच गर्ने गरिएको छ।

जिल्ला कारागार नजिकै रहेको बसपार्क र यात्रामा जान लागेका बसका चालक र सह–चालकलाई सडकमै जाँच गर्ने गरिएको छ। लामो दूरीका सवारी साधन बस चलाउनका लागि स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्ने हुँदा आउँदा जाँदा छड्के रुपमा जाँच गर्ने योजना प्रहरीको छ।

खानपीन, लगातारको धपेडी र नियमित स्वास्थ्य जाँच समस्याले चालकमा शारिरीक र मानसिक दुबै प्रकारको समस्य हुने र दुर्घटना बढ्ने हुँदा पूर्व सतर्कताका लागि जाँच गरिएको ट्राफिक जनक दानीले बताएका छन्।

सार्वजनिक तथा निजी यातायातका सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको छ। सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी दानीको भनाइ छ।

हरेक दिन निजी तथा सार्वजनिक यातायातका ३२ जना चालक र सह–चालकको स्वास्थ्य चेक जाँच गरिँदै आएको छ। चेक जाँचको क्रममा अधिकांश चालकहरुको उच्च रक्तचाप बढी देखिएको छ।

जाँच गरिएका मध्ये ७० प्रतिशत बढीमा रक्तचाप देखिएको छ। सडक दुर्घटना न्यूनिकरणका लागि बेलाबेलामा चालक सह–चालक, र यात्रुहरुसँग छलफल, यात्रुका गुनासोसमेत सुन्ने गरेको ट्राफिक प्रहरीले बताएको छ।

पाँच जना यात्रुको बढी भाडा फिर्ता
मार्तडीबाट धनगढी, महेन्द्रनगर र  नेपालगञ्जमा छुट्ने लामो दूरीका बस व्यवसायीहरुले चर्काे भाडा लिने गरेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले निगरानी बढाएको छ।

सोमबार बाजुराबाट धनगढीका लागि छुटेको ना७ख १७२ जय मालिका यातायात प्रा.लि र र महेन्द्रनगरका लागि छुटेको ना६ख १७९६ पवनदुत यातायातले तोकिएको भन्दा बढी भाडा लिएको खबरपछि पाँच जनाको भाडा ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता गराइएको छ।

भौतिक तथा यातायात व्यवस्था विभागले गएको मंसिर २१ गते भाडादर प्रति किलोमिटर तीन रुपैयाँ लिने गरी सवारी साधन चलाउने अनुमती दिएको भएपछि व्यवसायीहरुले भने अटेर गर्दै आएका छन्।

 

प्रकाशित: ८ पुस २०७६ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App