१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल भ्रमण वर्षको पूर्व सन्धयामा लुम्बिनी सडक खाना महोत्सव

खाना महोत्सवबारे जानकारी दिँदै लुम्बिनी होटल संघ।

भैरहवा- नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्धयामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैठौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनीको स्थानीय खानालाई ब्राण्डीङ गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न र भिजीट नेपाल २०२०लाई स्वागत गर्न महोत्सव आयोजना गरिएको हो।

लुम्बिनी होटल संघको आयोजना लुम्बिनी विकास कोष, लुम्बिनी सास्ंकृतिक नगरपालिका, भिजीट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६को सहआयोजनामा लुम्बिनीको महिलवारमा अगामी पुस १५ गते (३१ डिसेम्बर) खाना महोत्सव हुन लागेको पत्रकार सम्मेलन गरी लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए।
स्थानीय उत्पादनलाई प्रवद्र्धन, लोप हुन लागेको संस्कृति तथा परिकारलाई प्रोत्साहन गर्न सन् २०१२ देखिनै खाना महोत्सव आयोजना भए पनि यस वर्ष गत वर्ष भन्दा दोब्बर खानाका स्टल राखी प्रदेश ५ सरकारको सहयोगमा स्थानीय परिकारको केही खानालाई ब्राण्डिङ गर्ने संघका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए।

पाल्पा, अर्घाखाची, नवलपरासी, कपिलबस्तु लगायतका छिमेकी जिल्लाका आन्तरिक एवं भारतसहित विभिन्न देशका पर्यटकहरुलाई लक्षित गर्दै आयोजान हुँदै आएको महोत्सवमा यस वर्ष लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलले होटलमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने आयोजकले  जानकारी दिएको छ। खाना महोत्सव भएकोले यस वर्ष सबै स्तरका होटलको परिकार स्टलबाट सस्तो मूल्यमै पाउने छन्।

खाना माहोत्सवको सन्दर्भ पारेर होटल संघले ३ रात ४ दिनको टुर प्याकेजको घोषणा गर्नेछ। विद्यार्थीहरुका लागि हाल १२ सयमा २ दिन एक रातको प्याकेज, र अन्य पर्यटकहरुका लागि होटलको स्तर र खाना अनुसार ५ हजार ५ सयदेखि ८ हजार ५ सयसम्मको प्याकेज रहने होटल संघका महासचिव लिलामणी शर्माले बताए। प्याकेजमा खाना, बास र यातायातसहित लुम्बिनीका ११ वटा स्थानीय गाउँ जोडेर बनेको परिपथ, चराको अवलोकन, तिलौराकोट र लुम्बिनीका पुरातात्विक अवलोकन, लुम्बिनी विकास कोषभित्रका बौद्ध विहारहरुको अवलोकन गाइड मार्फत गराइने छ।

महोत्सवभित्र फरकफरक ठाँउ र दुरीमा थारु सस्कृतिक नाच, पञ्चेबाजा, नौमतीबाजा, लाखे नाच, बिरहा, पंजाबी भांगडा लगायतका स्थानीय साँस्कृतिक कार्यक्रमहरु गरिने स्थाीनय परिकारका संयोजक हेम विष्टले बताए। महोत्सवमा विभिन्न जातजातीका दर्जन बढि मौलिक खाना, पकाउने रेसिपीहरुको प्रदर्शन गरी यस वर्ष प्रदेशको ब्राण्डिङ खानाको रुपमा घोषणा गर्ने छौ।

गत वर्ष ब्राण्डिङ गर्न खोजेको भएपनि सोचे अनुसारको मौलिक खानाका परिकारको सहभागिता नभएकोले यस वर्ष प्राथमिकताका साथ यस कामलाई अगाडि बढाएका छौ। मुस्लिम, थारु, यादव लगायतका स्थानीय जातजातीको परिकारका साथै चिनियाँ, जापानी, बर्मेली, कम्बोडियन, थाईका विभिन्न परिकार लोपन्मुख विभिन्न जातजातीको खानाका परिकारलाई प्रवद्र्धन गर्ने गरिने स्थानीय परिकार संयोजक विष्टले नागरिक न्यूजलाई बताए।

पछिल्ला वर्षहरुमा नेपालीको खानपान शैली केही परिस्कृति हुँदै गएकोले हामीले स्थानीय लोप हुन लागेको लिट्टी चोखा, सेलरोटी, माटोको भाडामा पकाइएको मासु, रिक्बच, थारु, मुस्लिम, मगर तथा स्थानीय जातजातीको विभिन्न परिकारहरुको पनि सक्दो सहभागिता गराउने छौ। त्यस्तै बुद्धले खाने गरेका सुजाताको खीरको प्रदर्शनी गर्न पनि सहकार्य गरिरहेका छौ– विष्टले नागरिक न्यूजलाई बताए।  

 

प्रकाशित: २ पुस २०७६ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App