१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बाधक नेपाली समय

हाम्रो देशले विकासको गति लिन नसक्नुमा विविध कारणमध्ये एउटा प्रमुख कारण हो– नेपाली समय । समयलाई हेर्ने हाम्रो दृष्टिकोण कस्तो छ, समयलाई खेर फालेर कसरी हामी विकासमा पछि परिरहेका छौं भन्ने तथ्य यस आलेखमा प्रस्ट्याउने प्रयास गरिएको छ ।

समय सबैका लागि समान हुन्छ । समयले कसैलाई आफ्नो, कसैलाई पराई ठान्दैन, कसैलाई बढी र कसैलाई कम भनेर छुट्याउँदैन, कसैलाई सानो र कसैलाई ठूलो देख्दैन, कसैले पाउने वा नपाउने भन्दैन; समय कसैले खोस्न र लुट्न सक्दैन, कोहीसँग किन्नुपर्दैन, कोहीसँग सापट माग्नुपर्दैन, कसैलाई बाँड्नुपर्दैन र कोहीसँग हात पनि फैलाउनु पर्दैन । आफूलाई चाहिने समय आआफूसँगै हुन्छ । यी सब हामी सबैले अनुभव गरेकै कुरा हुन् ।

तर पनि हामी समयभित्र गर्नुपर्ने काम नगर्ने, बहुमूल्य समय सदुपयोग नगरी खेर फालेर बर्बाद गर्ने अनि पछाडि प¥यौं, देश विकास भएन भनेर अरूलाई दोष दिँदै विदेशीसँग सहयोगका लागि सधैं हात फैलाइरहने ? अझ विदेशीबाट सहयोग लिएर थालिएका काम पनि समयमै कार्यान्वयन गर्न नसक्ने ! अनि कसरी देश विकास होस् त । नेपाली समय नै देश विकासको बाधक भएको छ । हामी सबैले आआफ्नो तहमा हरेक काम समयभित्र गर्न सुरुवात ग¥यौं भने ठोकुवासाथ भन्न सकिन्छ– अबको ५ देखि १० वर्षसम्ममा हामी नसोचेको प्रगति गर्न सक्छौं ।

पटकपटक मौका पाएर समयको सदुपयोग गर्न नसक्ने पटके नेताहरूलाई आराम लिएर नयाँ युवालाई नेतृत्व दिनुको विकल्प छैन । अनि युवाले यसरी टुलुटुलु हेरेर बसिरहनु पनि समयको बर्बादी नै हो ।

समयभन्दा शक्तिशाली कोही छैन । गएको समय फर्किंदैन, समयले कसैलाई पर्खिंदैन । पर्खिने भएदेखि एम्बुलेन्समा ल्याएको बिरामी नागढुंगाको जाममा परेर समयमै अस्पताल पुग्न नसकी किन मृत्युको मुखमा पर्नुपथ्र्याे ? समयमा औषधोपचार नपाएर, समयमा पढ्न नपाएर, समयमा पाठ्यपुस्तक नपाएर, समयमा बीउबिजन नपाएर, समयमा मल नपाएर, समयमा किटनाशक औषधि नपाएर, समयमा निर्माण सामग्री नपाएर, समयमा पेट्रोलियम पदार्थ नपाएर, समयमा पिउने पानी नपाएर र समयमा निर्णय नभएर सिर्जित अनगन्ती समस्याको थुप्रोमा किन अलमलिनुपथ्र्याे ? यी समस्या त हाम्रो दिनचर्याजस्तै भइसकेका छन् ।

यस्तो अवस्थामा गुज्रिरहँदा पनि हाम्रा कतिपय नेता, बुद्धिजीवी, कर्मचारी, व्यापारी, आआफ्ना ओहोदाको आवरणमा आफूलाई समयभन्दा शक्तिशाली ठानिरहेको देखिन्छ । त्यसैले त ठूलाबडा उपस्थित हुने कार्यक्रममा घण्टौं पर्खेर बस्नुपर्ने, अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सवारी हुँदा ट्राफिक जाम भएर घण्टौं रोकिनुपर्ने,  ठूलाबडा सवार हुने हवाईजहाजमा पनि कुर्नुपर्नेजस्ता विडम्बना हुने गरेका छन् । त्यसैले विकासको बाधक नेपाली समय हो ।

समयको सदुपयोग गरेर देश विकास गरेका उदाहरण हेर्न धेरै टाढा जानुपर्दैन । हाम्रै दुई छिमेकी देश हेरे पुग्छ । चीनले ४० वर्षभित्र गरेका विकास–निर्माण : चाहे त्यो तिब्बतमा रेल ल्याउने होस्, ओलम्पिक खेलको तयारी होस्, थ्रि गर्जेज ड्याम होस् वा ठूलठूला अकल्पनीय पुल हुन् वा तोकिएको अवधिअघि नै पूरा गरिएका सुरुङमार्ग; सबै समयको सदुपयोगले सम्भव भएका हुन् । तर अचम्म ! त्यही चीनका मानिस (चिनियाँ) नेपाल आएर परियोजना ठेक्का लिँदा पनि तिनलाई समेत नेपाली समयमा ढालेर काम ढिला गराउँछौं । त्यसैले पनि होला– हालै नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा जे बोलिन्छ, त्यो काम समयभित्रै पूरा गरिन्छ; नेपालले पनि यस्तै गरोस् भन्ने आशयको सन्देश दिएका ।

चिनियाँ सय वर्ष पछाडिसम्मको सोच राखेर काम गर्छन् । उनीहरूको  भनाइ नै छ– वर्षदिनको सोच राख्ने हो भने अन्न उब्जाऊ, १०–२० वर्षको सोच राख्ने हो भने रूख रोप, सय वर्षको सोच राख्ने हो भने शिक्षामा लगानी गर । केही दशकअघिसम्म खाद्यान्न निर्यात गर्ने देश नेपाल आज आयात गर्ने अवस्थामा आइपुगेको छ । हरियो वन नेपालको धन भन्ने सुनिन्थ्यो, तर त्यो पनि सकिएर गयो । शिक्षामा लगानी हेर्ने हो भने बालुवामा पानी हालेसरह भइरहेको छ । हाम्रा शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति बेरोजगार भई रोजगारीका लागि विदेशमा अदक्ष श्रमिकका रूपमा पलायन भइरहेको जगजाहेरै छ । यसमा सुधार गर्न ढिला भइसक्यो ।

हामी सबैलाई ज्ञान भएकै कुरा हो– सेवन गरिसक्नुपर्ने समय सीमा नाघेपछि खाएको औषधिले काम गर्दैन । तसर्थ त्यस्तो औषधि सेवन गर्नुको कुनै अर्थ हुँदैन । त्यति मात्र होइन, चिकित्सकले बिहान खालीपेट, खाना खाएपछि वा सुत्नुअगाडि आदि समय उल्लेख गरेर दिएका औषधि तोकिएका समयमा खाइएन भने पनि त्यसले काम गर्दैन । यही कुरा देश विकासमा पनि लागू हुन्छ । देश विकासको जिम्मेवारी लिएर बसेका नेतृत्वकर्ताहरूमा यो अझ बढी लागू हुन्छ ।

आफू दलको नेता वा प्रधानमन्त्री हुँदाको समयावधिमा कुनै उल्लेखनीय काम गर्न नसक्ने, तर पटकपटक दलको नेता वा प्रधानमन्त्री हुने मोह नछाड्नु पनि म्याद नाघेको औषधिजस्तै हो । पटकपटक मौका पाएर समयको सदुपयोग गर्न नसक्ने पटके नेताहरूलाई आराम दिएर अब नयाँ युवाले नेतृत्व लिनुको विकल्प छैन । युवाले यसरी टुलुटुलु हेरेर बसिरहनु पनि समयको बर्बादी नै हो । युवाले नेपाली समयको यो परम्परा परिवर्तन गरी विकासको समय बनाउनु आजको आवश्यकता हो ।

पूर्वउपरथी

प्रकाशित: २ पुस २०७६ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App