१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्साको पोखरियामा एकसाथ विभिन्न ठाउँमा आगलागी

आगलागीमा जलेको स्थानीय भरतसिंह पहाडिको घर। तस्बिरः नागरिक

वीरगन्ज- पर्साको पोखरीया नगरपालिकाको वडा नम्बर ४ र ५ मा सोमबार राति करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी अनौठो किसिमले फैलिएको देखिएको छ। करिब साढे ४ घण्टाको लागातार प्रयासपछि नियन्त्रणमा आएको आगोले घर, पान पसल, गोठ, छाप्रो र किसानले गाईबस्तुका लागि राखेका परालको कुन्यूहरु जलेका छन्।  

बिभिन्न ठाउँमा आगो फैलिएपछि गाउँभरी हल्ला मच्चिएको स्थानीयले बताए। जाडोले गर्दा मानिसहरु चाँडै सुतेका थिए। आगलागीको हल्लाका कारण बिउँझिदा बेग्लाबेग्लै ८ ठाउँमा आगो फैलिएको देखे। आफै लागेको आगलागी भन्दा कसैले गरेको आगजनी हो कि भनेर प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार वडा नम्बर ५ सतवरीयामा राखिएको परालको कुन्यूबाट सोमबार राति साढे ९ बजे सुरु भएको आगो मंगलबार बिहान करिब २ बजे नियन्त्रणमा आएको थियो। आगो पोखरीया नगरपालिकाकै वडा नम्बर ४ पोखरीया बजारसम्म फैलिएको थियो। सुरुमा सतबरियाका प्रेम रामको परालमा आगो लागेको थियो। आगो नियन्त्रणका लागि दमकलसहित पुग्दा अर्का जमुना साह तेलीको परालमासमेत आगो लागेको देखियो। दुवै स्थानको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहँदा अन्य ठाउँमासमेत आगो सल्केको थियो।

ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार विनोद बाबाको खरको झुपडी, हुँदै पोखरियाका चोकट राउत डोमको घर, प्रेम रामको ‘गुम्टी’ पसल र भरत सिंहको घरसम्म आगो पुगेको थियो। त्यस्तै स्थानीय जमुना साह, सुखारी राम, भिखारी राम, विपत महारा र ठग साहको परालमा समेत आगलागी भएको भेंटिएको छ। प्रहरी, पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिकाबाट गएको दमकल र स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा लिइएको पोखरियाका नगरप्रमुख दीपनारायाण रौनियारले बताए।

प्रहरीका अनुसार आगलागीको प्रकृति देख्दा व्यक्त्तिले आगो लगाएको हुन सक्ने आँकलन गरिएको छ। प्रहरीले अनुसन्धान अगाडी बढाइएको जनाएको छ। पोखरिया नगरपालिका, नगरकार्यपालिकाको कार्यालयको तर्फबाट यसैबीच मंगलबार आगलागी पिडितलाई राहत बितरण गरिएको छ।

स्थानीय समाजिक कार्यकर्ता धर्मेन्द्र चौरसियाका अनुसार नगरप्रमुख रौनियार र निर्वाचित जनप्रतिनिधिहरुले कम्बल र त्रिपाल लगायतका राहत सामग्री बितरण गरेका छन्।
 

प्रकाशित: १ पुस २०७६ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App