२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्षाले हिमपात, लेक क्षेत्रमा अत्यधिक चिसो

रामेछाप- शुक्रबार बिहानदेखिको २४ घण्टे बर्षासँगै जिल्लाको उच्च लेक क्षेत्रमा केही वर्ष यताकै बाक्लो हिमपात भएको छ। बर्षा र हिमपातका कारण ती क्षेत्रमा अत्यधिक चिसो बढेसँगै जनजीवनसमेत प्रभावित बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारणहरु मारमा परेका छन्।

जिल्लाको उच्च क्षेत्रमा रहेको दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका उच्च क्षेत्रमा अत्यधिक हिमपात भएको छ। ति गाउँपालिकाका अग्ला डाँडाहरुमा यतिबेला हिँउले ढपक्क ढाकेका छन् भने ती क्षेत्रका बस्ती तथा घर आगनमासमेत हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ।

हिमपातले अत्यधिक चिसो बढेको र घरबाट बाहिर निस्कने सक्ने अवस्था नै नरहेको कुभुकास्थलीकी अनिता बस्नेतले बताइन्। दोरम्बा गाउँपालिकाको शैलुङ क्षेत्र,  डडुवा, गोश्वारा, उमाकुण्ड गाउँपालिकाको गुम्देल, कुभुकास्थली, बाम्ती, प्रिति,  गुप्तेश्वर र गोकुलगंगा गाउँपालिकाको बेताली, चुचुरे, रस्नालु र ठोसेको अग्ला भूभागहरुमा बाक्लो हिमपात भएको छ। शैलुङ क्षेत्रमा ४/५ फिटसम्म हिँउ जमेको स्थानीयहरुले बताएका छन्।

जिल्लाका अधिकांश क्षेत्रमा अघिल्ला वर्षहरुको तुलनामा अत्यधिक हिमपात भएको स्थानीयहरुको प्रतिक्रिया छ। हिँउले गाउँका अग्ला भूभाग सेताम्मै भएर ढाकेको छ। हिँउसँगै चिसो पनि अत्यधिक बढेको गुम्देलकी शिक्षिका सचि कार्की बस्नेतले बताइन्। चिसोले गुम्देलको जनजीवन यतिबेला कष्टकर बनेको छ उनले भनिन्। निरन्तरको वर्षाले सेर्दिङ, क्यामा र लाच्छोरको अग्ला भूभागमा बाक्लो हिमपात भएको शिक्षिका बस्नेतले बताइन्।

चिसोका कारण लेकक्षेत्रको शुक्रबारको पठपाठनसमेत प्रभावित बन्यो। निरन्तरको वर्षा र हिमपातका कारण जिल्लाको लेक क्षेत्रको जनजीवन प्रभावित भएता पनि अप्रिय घटनाहरु भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए।

अझै मौसममा बदली आउने मौसमविद्को भनाइका आधारमा अझै हिमपात बढ्न सक्ने अनुमान गरिएको छ। अझै वर्षा र हिमपात बढ्न सक्ने भएकाले सजगता अपनाउन र चिसोबाट बच्न मौसमविद्हरुले आग्रहसमेत गरेका छन्।
    

प्रकाशित: २८ मंसिर २०७६ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App