१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शीतलहरबाट शतर्क हुँदै रुपन्देही, सरोकारवालालाई निर्देशन

अस्पतालमा डाक्टर कुर्दै बिरामीहरु

भैरहवा- शीतलहर तराईको एउटा समस्याको रुपमा छ। जाडो क्रमश बढ्दै गएपछि अस्पतालहरु पनि भरिभराउ हुँदै गएको छ। युवा भन्दा पनि बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभावित पार्ने जाडो र शितलहरले रुपन्देहीसहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भई ज्यान जानेसमेत गरेको छ।

हुने खाने भन्दा पनि गरिखानेलाई कष्टकर हुनेलाई तराईको जाडोले सताउदै आएपछि बढ्दो चिसोसँगै शीतलहर प्रभावितलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति शतर्क भई विपद्को सामना गर्न कार्ययोजना अघि सारेको छ।

उद्दार र पूर्व तयारीको लागी सरोकारवाला कार्यालय तथा संघ संस्थाहरुको समन्वयबाट जिल्लालाई शीतलहरको जोखिमबाट बचाउन समितिले विविध कार्ययोजना अघि सारेको हो। माघसम्म हुने चिसो र शितलका कारण गत वर्ष कसैले ज्यान नगुमाएको भएपनि भविष्यमा पर्न सक्ने विपद्लाई ध्यानमा राखि अति बिपन्न, गरिब, जेष्ठ नागरिक, अपाङ्ग, टुहुरालाई विशेष ध्यानमा राख्दै समितिले जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा संघ संस्थाहरुको कार्यबिभाजन गरेर सोही अनुसारको काम गरिदिनसमेत आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सरोकारवाला निकायलाई शीतलहरबाट हुने प्रकोप न्यूनिकरणमा लाग्न निर्देशन दिइएको छ। बिपद् व्यवस्थापन समितिको बैठकले गरेको कार्य बिभाजन अनुसार जिल्ला बिपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा पूर्व तयारी त्यस सम्बन्धि पूर्व प्रबन्ध बैठकहरु गराउने उल्लेख रहेको छ।

यस्तै सबै स्थानीय तहहरुलाई गरिब तथा विपन्न परिवार पहिचान गरि उनिहरुलाई ईन्धन, दाउरा, कम्बल जस्ता न्यूनतम खोज तथा उद्दार सामाग्रीको प्रवन्ध गर्न आग्रह गरिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

स्थानीय तहरुलाई आपतकाल अवस्थाको लागि आश्रय स्थलहरुको व्यवस्था गर्न, शीतलहरबाट सुरक्षित रहन बिभिन्न सचेतनामूलक सूचनाहरु स्थानीय भाषामा संप्रेषण गर्न र बिपद्को लागि अत्यावश्यक सामाग्रीको मापदण्ड तयार गरि सोको व्यवस्थापन गर्न पनि आग्रह गरेको छ।

त्यस्तै डिभिजन वन कार्यालयलाई जाडोका लागि चाहिने आवश्यक दाउरा तथा काठको प्रवन्धको जिम्मा दिईएको छ भने नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई जनशक्तिसहितको पूर्व तयारी अवस्थामा तमत्यार रहन निर्देशन गरिएको संयोजक पन्थले नागरिक न्यूजलाई बताए।

जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्यकर्मी तथा औषधीहरु सहितको द्रुत प्रतिकार समूह परिचालन गर्न एवम कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा बिज्ञ केन्द्रलाई कृषि तथा पशुपंंक्षी तथा चौपायामा हुन सक्ने क्षतिहरुको राहत र क्षतिपूर्तिको लागि तयार रहन निर्देशन दिईएको उनले बताए।

यसैगरी जल तथा मौसम बिज्ञान कार्यालयलाई शीतलहर सम्बन्धी पूर्व सूचना प्रणालीको संचालन गर्न र रेडक्रसलगायत सबै गैर सरकारी संस्थाहरुलाई स्थानीय स्तरमा गरिने कार्यक्रमहरुबारे जिल्ला व्यवस्थापन समितिलाई जानकारी गराई मात्र गर्न आग्रह गरेको छ।

ट्राफिक प्रहरीलाई कुहिरो तथा हुस्सुको समयमा सवारी दुर्घटनाको न्यूनिकरणको उपाय अवलम्बन गर्न र शिक्षा विकास तथा समन्वय इकाईलाई विद्यालयहरुमा शतिलहरबाट बच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन र पूर्व तयारीको लागि आग्रह गरिएको छ।

जिल्लामा हुने शीतलहरको प्रकोप कम गर्न सबै संयन्त्रलाई प्रयोग गरिने बिपद् व्यवस्थापन समितिका संयोजक महादेव पन्थले बताए। उनले तराईमा शीतलहरले धेरै नोक्सान गर्ने हुँदा यसबाट सचेत रहन तथा परेको समय अरुलाई पनि सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

विगत ३ वर्षमा रुपन्देहीमा शितलहर प्रभावितको अवस्था
शितलहरले रुपन्देहीमा २०७४ सालमा ५८ घर प्रभावित भएका थिए। सम्मरीमाई र गैडहवा गाँउपलिकाका १३७ परिवार प्रभावित भएका थिए भने २०७५ सालमा ५३ घर प्रभावित भएका थिए। दुधराक्ष र कञ्चन गाउँपालिकाको २२४ जना प्रभावित भएको नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा रुपन्देहीले जानकारी दिइएको छ।

रेडक्रसको अनुसार अहिलेसम्म जिल्लामा कोही पनि शितलहरबाट प्रभावित भएका छैनन्, यस वर्ष शितलहरबाट प्रभावित नहोउन भनेर पहिलैबाट शतर्कता अपानाउनका लागि सबैमा अनुरोध र सचेत गराउने काम भईरहेको छ।

क्र.सं. घर संख्या  परिवार संख्या ठेगाना   राहत वितरण
२०७४ ५८ १३७  सम्मरी माई, गैडहवा गाउँपालिका      
२०७५  ५३  २२४  दुधराक्ष , कञ्चन गाउँपालिका      
२०७६ हल सम्म छैन हल सम्म छैन - -

                                                                                                   स्रोत : रेडक्रस रुपन्देही

 


  

 

प्रकाशित: २८ मंसिर २०७६ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App