१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्रज्ञाका पुस्तकमा पाका पुस्ताको मोह

काठमाडौं – अध्यापन पेसाबाट अवकाश लिएका जीवलाल काफ्ले आफ्नो फुर्सदको समय पुस्तक पढेर बिताउँछन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरिरहेको पुस्तक प्रदर्शनीमा भेटिएका काफ्ले प्राचीन र नवीनतम पुस्तकको खोजीमा थिए। इतिहास, साहित्य र संस्कृतिसँग सम्बन्धित पुस्तक पढ्न रुचाउने उनी पुस्तकको संग्रहका लागि पनि किताब किन्ने बताउँछन्। ‘मसँग तीन हजारभन्दा बढी पुस्तक छन्, हरेक पुस्तकका आ–आफ्नै महत्व हुन्छ,’ उनले भने, ‘पुस्तक भन्ने कुरा संग्रह गर्न सकिन्छ र पुनरावृत्तिका लागि पनि पुस्तक महत्वपूर्ण हुन्छ।’ पछिल्लो पुस्ता पुस्तकभन्दा बढि डिजिटल माध्यममा आकर्षित भएको उनको अनुभव छ। ‘उमेर र पुस्ताको प्रभाव पनि होला, हामी पुस्तकमै अभ्यस्त भइयो, पुस्तक नै बढी मन पर्छ,’ काफ्ले भन्छन्, ‘प्राचीन धर्मसंस्कृति भन्ने कुरा हाम्रो पहिचान पनि हो, अहिलेको पुस्ता अलि सतही बनेको हो कि ?’

प्रदर्शनी आउजाउ गर्ने अधिकांश काफ्लेजस्तै पाका पुस्ताका देखिए। पुस्तक प्रदर्शनीमा सबै उमेर समूहका पाठकको चासो देखिएको भए पनि त्यसमा संख्यात्मक रूपमा पाका उमेर समूहका पाठक पुस्तक किन्न आउने गरेको प्रदर्शनी व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। ‘दर्शन, भाषा, साहित्य, संस्कृति तथा पुराना पुस्तक पाइने हुनाले पाका पुस्ता बढी आएको जस्तो लाग्छ,’ उनले भने, ‘उनीहरूको पढाइ र खोजसँग सम्बन्धित पुस्तक खोज्दै विद्यार्थीसमेत आउने गरेका छन्।’ धेरै पुराना पुस्तक भएकाले पुस्तक संकलनमा रुचि भएका र पुस्तकालयहरूमा उपहारका रूपमा हस्तान्तरण गर्ने उद्देश्यका साथ पनि आउने गरेको ढुंगेलले बताए। उनले थपे, ‘त्यसमाथि अध्ययन–अनुसन्धानमा ठूलो सहयोग पुग्ने दस्तावेजका रूपमा हरेक पुस्तकसमेत पाइने हुनाले धेरैले पुस्तक खोजी गर्दै आउँछन्।’

उनका अनुसार गत मंसिर १ गतेदेखि सञ्चालन भएको प्रदर्शनीमा दैनिक दुई सयका हाराहारीमा पाठक पुस्तक किन्न आउने गरेका छन्। मंसिर ११ गतेसम्म अत्यधिक संख्यामा पुस्तक किन्नेहरू आएको र बिस्तारै कम हुँदै गएको अनुभव प्रदर्शनी सहव्यवस्थापक महेश्वर थापाको छ। थापाले भने, ‘१५ दिनका लागि योजना गरिएको भए पनि पाठक आउने क्रमलाई हेरेर समय थप गरिएको छ, सायद महिना दिनसम्म जान सक्छ।’ हरेक वर्ष तीनदेखि चारपटकसम्म प्रदर्शनीको आयोजना गर्ने प्रज्ञाको यो नियमित पुस्तक प्रदर्शनी हो। आफ्नै प्रकाशनका पाँच सयभन्दा बढी प्रकारका पुस्तक र सयभन्दा बढी प्रकारका पत्रिका पनि बिक्रीका लागि राखिएका छन्। प्रदर्शनीमा दुईदेखि १४ सयसम्मका पुस्तक १५ देखि ६० प्रतिशतको छुटमा राखिएको थापाले बताए। शब्दकोशका पुस्तकमा सबैभन्दा कम १५ प्रतिशत र अन्य पुस्तकमा प्रकाशन समयका आधारमा छुट राखिएको छ। ‘हाम्रोमा बजारमा चर्चामा आएका भन्दा फरक पुस्तक हुन्छन्, नाफाभन्दा पनि जतिसक्दो सस्तोमा पुस्तक पाठकसम्म पु¥याएर पठन संस्कृतिको विकासमा सहयोग पु¥याउने हाम्रो लक्ष्य हो,’ थापा भन्छन्, ‘विगतका वर्षको तुलनामा यो वर्ष किताब बिक्री र पाठकको आगमन दर लगभग आधा नै बढी हो।’

व्यवस्थापक ढुंगेलका अनुसार प्रदर्शनी अवधिमा सात लाखभन्दा बढीको पुस्तक बिक्री भएको छ। ‘हाम्रो उद्देश्य प्रज्ञा प्रतिष्ठानमार्फत छापिएका पुस्तक सबै नेपालीका हातमा पु-याउनु पनि हो, त्यसैले लागतभन्दा धेरै सस्तोमा पनि पुस्तक बिक्री गरिएको छ,’ उनी भन्छन् ‘अधिक छुटमा पनि पाँच लाखको बिक्री हुनु ठूलो कुरा हो, विगतका वर्षमा यो अवधिमा दुईदेखि तीन लाखको हाराहारीमा बिक्री हुन्थ्यो।’ प्रज्ञाले पुस्तक धेरै बिक्री भएका कारण पुरानो मौज्दात सिद्धिएर मागका आधारमा २२ पुस्तकको पुनः प्रकाशन गर्दैछ। एउटै पुस्तक सात सय प्रतिभन्दा बढी पनि बिक्री भएको छ र मौज्दात सिद्धिएपछि फेरि छाप्दै गरेको ढुंगेल बताउँछन्। माग बढेकाले ४५÷५० वर्ष अगाडिका पुस्तकसमेत छाप्न लागिएको उनको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App