१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा सामूहिक १२ घण्टे मौन ब्रत

जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न सन्देश दिन १२ घण्टे ब्रतमा बसेका ब्रतालु । तस्बिर : नागरिक

इटहरी- जलवायु परिवर्तनका कारण विश्वका सबैजसो क्षेत्रमा सचेतना र असर न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु चलिरहेका छन् । नेपालमा पनि यस्ता कार्यक्रम हुँदै आएका छन् । जलवायु परिवर्तनलाई पृथ्वीको प्राकृतिक प्रक्रियाभित्रको गतिविधी मानिन्छ ।

यसरी जलवायु परिवर्तनले संकट उत्पन्न गरेको र त्यसको ठूलो असर नेपालमा परिरहेको भन्दै इटहरीमा बिहीबार यहाँका सचेत नागरिकले १२ घण्टे मौन  ब्रत बसेका छन् । बिहानै भेला भएर साँझसम्म इटहरीको पर्यटकीय स्थल तालतलैयामा मौन ब्रत बसेका हुन् ।

जलवायुमा आएको अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिकलगायतका क्षेत्रमा असर पुग्छ । जलवायुको अत्याधिक परिवर्तन हुँदै गएमा कालान्तरमा पानीको संकट, खाद्य संकटजस्ता समस्या आउन सक्छन् । साथै, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, आधी, अत्याधिक गर्मी, सुख्खाजस्ता असर पर्छ ।

१० वर्षअघि नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको कालापत्थर बैठकका एजेन्डा सम्झाउनको लागि पनि मौन व्रत बसिएको कार्यक्रम संयोजक सुरेश कार्कीले बताए । उनका अनुसार बिहीबार नै विश्व स्वयम्सेवी दिवस परेकाले विश्वमै खतराको रुपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सबैको ध्यान दिन मौन सन्देश प्रवाह गर्न खोजिएको हो ।

ब्रत तोडिएपछि अनुभव आदानप्रदान गर्ने क्रममा पूर्व राज्यमन्त्री चौधरीले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न दवाव दिनका लागि पनि मौन ब्रत उपयोगी भएको बताइन् । ब्रत तोडाउने प्रदेश नं. १ सभासद सर्वध्वज सावाले कुनै कार्य गर्न दवाव दिनका लागि पराम्परागत शैलीभन्दा नयाँ र पृथक भएको प्रतिक्रिया दिए । सो क्रममा मौन ब्रत बसेका सन्जय थापाले कुनै पनि कार्य गर्दा बिरोध गर्ने मात्र संस्कार विपरीत मौन बसेर पनि दवाव दिन सकिने सन्देश दिएको जनाए । 

कार्यक्रममा पूर्व राज्य मन्त्री रामकुमारी चौधरी,  सगरमाथा आरोही मदन चुँडाल, शिव डाँगी, नागरिका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, जीवन विज्ञान योग प्रयोगशालाका प्रशिक्षलगायतको सहभागिता रहेको थियो । इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा जारी मौन व्रतमा मौन सन्देश भएकाले गफगाफ तथा खानपिन नगरी १२ घन्टासम्म मौन रहेका थिए ।

२०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद् बैठक बसाएका थिए। एक दशअघि भएको मन्त्रिपरिषद् बैठकहरूले जलवालयु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा संकट आएको भन्दै विश्व समुदायको ध्यान खिचेको थियो।

विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रिपरिषद् बैठक गरेर नेपालले २०६६ मंसिर २२ देखि पुष ३ सम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलनको तयारी स्वरुप बैठक बसेका थिए । पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले ५ हजार २४२ मिटरको उचाइमा कालापत्थर बैठक गरेको र त्यो अहिले एक दशकपछि पुनः त्यी मुद्दा सम्झाउन मौन ब्रत कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जनाए ।

मौनब्रत सुरु गर्नुअघि इटहरीको सङ्गीत चौकबाट तालतलैयासम्म ‘अपाङ्मैत्री इको रेस’ समेत गरिएको थियो । पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती थियो ।

 

प्रकाशित: १९ मंसिर २०७६ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App