१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिदामा भरिभराउ अग्ला पुल

पर्वत- सानो भए पनि असीमित सम्भावना बोकेको जिल्ला हो पर्वत। मुलुककै आकर्षक गुप्तेश्वर गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक लगायत आकर्षक स्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो साधनका रुपमा नेपालकै अग्ला झोलुंगे पुल बन्न थालेका छन्।

पर्वतमा कुश्मा–ज्ञादीपछि थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले आन्तरिक पर्यटक बिदा मनाउन आउन थालेका छन्। 'शनिबार भएकोले साथीहरुसँग अग्लो पुल घुम्न आएको,' पोखराबाट अग्ला पुल घुम्न कुश्मा आएकी नीता श्रेष्ठले भनिन्। उनले नेपालकै अग्लो पुल कस्तो होला भन्ने जिज्ञासा लिएपनि शनिबार त्यो पुरा भएको बताइन।

'पर्वतका अग्ला पुलको अवलोकन गर्ने निकै इच्छा थियो, त्यो आज पूरा भएको छ,' उनले भनिन्। उनी जस्तै बिदा उपयोग गर्दै आएकी म्याग्दीकी सरिता पुनले पनि अग्ला पुलका कारण आफू पर्वतको कुश्मा घुम्न आएको बताइन्। 'अग्ला र लामा पुलमा आवतजावत गर्न पाउँदा खुसी लागेको छ,' उनले भनिन्।

नीता र सरिताजस्तै हरेक बिदाको दिन अग्ला पुलमा घुम्न आउनेको भरिभराउ हुन थालेको छ। कुश्मा–ज्ञादी पुल सात वर्षअघि सञ्चालनमा आए पनि कुश्मा–कैया तीन वर्ष र कुश्मा–मुडिकुवा पुल दुई साताअघि मात्रै सञ्चालनमा आएको हो। अहिले यी तीनवटै अग्ला पुलमा गरी दैनिक तीन हजार बढीले आवतजावत गर्छन्। बिदाको दिन पाँच हजार बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन्।

पुल अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छ्रेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकन गर्न पाइने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरु पुल आउने गरेका हुन्। पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका छन्।

अग्लो पुल अवलोकनका लागि आएका नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले अग्ला र लामा पुलका कारण पर्वत जिल्लामा पर्यटनको राम्रो सम्भावना रहेको बताए। 'पर्वत जिल्लामा पर्यटनको राम्रो सम्भावना रहेछ,' उनले भने, 'अग्ला पुल, कालीगण्डकी नदी र मोदीखोलाको रमणीयस्थल, माछापुच्छ्रेसहितका हिमालको दृश्यावलोकन पर्वतका मुख्य आकर्षण रहेछन्।'

पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भए पनि पुल अवलोकनका लागि पर्यटकहरु आउँदा पुल वरपरको व्यापार व्यवसाय समेत फस्टाएको छ। अहिले तीनवटै पुल वरपर दुई दर्जन बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। पुल निर्माणपछि त्यस क्षेत्रको जग्गा–जमिनको मूल्यसमेत बढेको छ। पर्वतको कुश्मा–ज्ञादी पुल एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लामो रहेको छ। यता कुश्मा–कैया एक सय ५५.७० मिटर उचाइमा निर्माण भएको हो।

कुश्मा–कैया पुलभन्दा यो पुल ३० सेन्टिमिटर मात्रै होचो छ। त्यस्तै लम्बाइ तीन सय ५९ मिटर रहेको छ। पछिल्लो समय निर्माण भएको यो पुल पूर्वसांसद एवं नेपाली कांग्रेसका तत्कालीन मुख्यसचिव ऋषिकेश तिवारीको पहलमा निर्माण भएको हो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो पुल हालै सञ्चालनमा आएको हो। 

यो पुलले दक्षिणी भेगका मुडिकुवा, खानीगाउँ, देवीस्थान, शंकरपोखरी, कुर्घा, लिमिठाना, लुंखु, पाङराङ, बाच्छा, बर्राचौर, रानीपानी लगायत दुई दर्जन गाविसबासीलाई सदरमुकाम कुश्मा आवतजावतका लागि एक घन्टा दुरी छोटिने भएको छ। त्यस्तै उक्त पुलबाट बागलुङको दक्षिणी भेगका वासिन्दा समेत लाभान्वित हुनेछन्। यता कुश्मा कैया पुलले बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन्। उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ।

यी पुलहरुमा नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन पर्यटक प्रवर्द्धन जन्य संरचनाहरु निर्माण गर्न आवश्यक छ। 'अबको समय आकर्षक पुलकै माध्यमले पर्यटन प्रवर्द्धनजन्य संरचना निर्माण गर्दै थप आकर्षक बनाउनुपर्छ,' पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण तिवारीले भने।

उनले मुडिकुवा–कुश्मा आवतजावतका लागि विगतमा घन्टा बढी लाग्ने भए पनि पुलले निकै सहज भएको बताए। 'मुडिकुवासहित फलेबास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी, फलफूललाई अब बजारसम्म ल्याउन निकै सहज हुने भएको छ,' उनले भने, 'मेहनती कृषकका लागि यो निकै खुसीको कुरा हो।'

प्रकाशित: २८ मंसिर २०७३ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App