२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आजदेखि आर्चरी, पाकिस्तान पनि सहभागी नहुने

सन्देश श्रेष्ठ
पोखरा - १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान पनि सहभागी नहुने भएको छ। पाकिस्तानले अन्तिम समयमा आएर आर्चरीमा सहभागी नहुने जनाएको हो। मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाउ दिएको पाकिस्तानले अन्तिम समयमा आएर  आन्तरिक कारण देखाउँदै खेलमा सहभागी नहुने बताएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले जानकारी दिए।

थकालीका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुँदै छन्। भुटानका ९ खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदै छन् भने अन्य तीन देशका १६/१६ खेलाडी सहभागी हुने जनाइएको छ।

प्रतियोगिता बिहीबार  ८ बजेतिर सुरु हुने उपाध्यक्ष थकालीले जानकारी दिए। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। त्यसै गरी कम्पाउन्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउन्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी जम्मा १० स्वर्ण पदकका लागि ५७  खेलाडीले  प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले ¥याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासंघबाट प्रतिबन्धित भारत १३औं सागमा सहभागी नहुने भएको छ। अन्तिम समयमा आएर दबाबका बावजुद दर्ता भएको भारतको आर्चरीे टिमलाई सागमा सहभागी हुन नदिने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो।

राखेपसँग आर्चरी प्रशिक्षण मैदानका लागि रकम माग गर्दासमेत नदिएकाले हाल प्रशिक्षण मैदानको अभावमा खेलस्थलबाटै प्रशिक्षणको प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए। पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो।

प्रकाशित: १९ मंसिर २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App