१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

हारपछि भावुक बनेकी खेलाडीलाई सान्त्वना दिँदै खेल नेतृत्व।

काठमाडौं- महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा नेपालले पुनरागमन गर्दै अग्रता लिए पनि त्यसलाई कायम गर्न नसक्दा इतिहास कोर्ने मौका गुमाएको हो । लिग चरणमा सोझो सेटमा पराजित भएको नेपाल फाइनलमा भने ३–२ को सेटमा मात्रै पराजित  भयो  ।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा पुनरागमन गर्न सफल भएको थियो ।  दोस्रो सेटमा २५–२३ को रोमाञ्चक जित निकालेको नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । २–१ को अग्रता बनाएको नेपालले चौथो सेटमा भने लय समात्न सकेन । चौथो सेटको सुरुआत प्रतिस्पर्धात्मक बने पनि अन्तिमतिर नेपाली टोलीको रिसिभ राम्रो हुन सकेन भने प्रहार गरेका स्पाइकले पनि अंक बटुल्न सकनेन् । भारतले सम्हालिएको प्रदर्शन गर्दै घरेलु टोलीको चुनौतीलाई रोक्न सफल भयो । चौथो सेटमा २५–२० रोक्दा खेल २–२  सेटको अवस्थामा पुग्यो ।

भारतले अन्तिम सेटमा भने १५–६ को सहज जित निकाल्दै स्वर्ण पदक पक्का गर्‍यो ।
पराजित भएसँगै नेपाल रजतमा खुम्चन पुग्यो । कर्भडहलमा भरिभराउ दर्शकको साथ पाएको नेपालले सम्हालिएको प्रदर्शन गर्न सकेन ।

यस्तै पुरुष भलिबलमा पनि भारतले स्वर्ण पदक जित्न सफल भयो । चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको हो । राखेपकै कभर्डहलमा मंगलबार भएको फाइनलमा भारतले पहिलो सेट २०–२५ ले सुम्पिए पनि बाँकी सेटमा जित निकाल्दै पदक  पक्का गरेको हो । भारतले पाकिस्तानलाई दोस्रो सेटमा २५–१५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ ले स्तब्ध बनाउँदै नतिजा पोल्टामा पारेको हो ।

खेलाडी भावुक
कर्भडहलको चिसो मौसमलाई तताएका दर्शकको साथ पाएको नेपाली महिला टोलीले मुखैको उपाधि गुमाउन पुग्यो । स्वर्णिम अवसर गुम्दा सबै खेलाडीको आँखामा आँसु छचल्कियो । दर्शक त्यो दृश्यले निशब्द बने । कसैले पहिलो खेलको तुलना गर्दै राम्रो खेलेको भन्दै प्रशंसा गरे भने कसैले सुरुआती लयलाई निरन्तरता नदिएको भन्दै आलोचना गरे । मुखैमा आएको उपाधि सुम्पनु कुनै पनि खेलाडीका सबैभन्दा कठिन हुन्छ । त्यसमा पनि घरेलु भूमि । एभिसी सेन्ट्रल जोनमा भाग्यमानी बनेकी कप्तान अरुणा शाही घरेलु कोर्टमा अभागी बनिन् । भावुक देखिएकी अरुणा र नेपाली महिला टोलीको भारतलाई हराउने लक्ष्य मंगलबार अधुरै रह्यो ।

दर्शक आक्रोशित
खेल चलिरहँदा कर्भडहलमा दर्शकको चाप अत्यधिक भयो । उपराष्ट्रपति नन्दबहादुर पुन कर्भडहलमा प्रवेश गरेसँगै बनेको कडा सुरक्षा व्यवस्थाले टिकट काटेका दर्शक मर्कामा परे । सुरक्षाकर्मीले सुरक्षा विषयलाई लिएर दर्शकलाई गेटमा रोक्दा टिकट काटेका दर्शकले कभर्डहलबाहिर नाराबाजी गरे । टिकट प्रदायक कम्पनी ई–सेवाले क्षमताभन्दा बढी टिकट बिक्री गरेकोमा नाराबाजी गरेका थिए । ऐतिहासिक क्षणको साक्षी बन्ने नेपाली दर्शकको चाहना मंगलबार आक्रोशमा परिणत भएको थियो । आक्रोशित भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई केही समय मिहिनेत नै गर्नुपरेको थियो ।

 

प्रकाशित: १८ मंसिर २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App