१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो सान्जेन जलविद्युत् आयोजना, असार मसान्तभित्र विद्युत् उत्पादन

माथिल्लो सान्जेन जलविद्युत आयोजना। तस्बिर: नागरिक

रसुवा - रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले चालु आर्थिक वर्ष ०७६÷७७ भित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ। आउँदो असार मसान्तभित्र विद्युत् उत्पादन गर्नेगरी कामलाई तीव्रता दिएको छ। आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आयोजनाका अनुसार एक महिनाभित्र पावर हाउसमा मेसिनको स्टलेसनको काम सुरु हुने छ। 

आयोजनामा कुनै पनि अवरोध नभएको र प्रर्याप्त रूपमा आवश्यक सामग्री तथा कामदार रहेका कारण कामले गति लिएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए। ‘आयोजनामा अहिले कुनै समस्या छैन,’ उनले भने, ‘यही गतिमा काम गर्न सकियो भने आउँदो असारभित्र विद्युत् उत्पादन सुरु गरिसक्छौं।’

१४.८ मेगावट क्षमताको यो आयोजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेकोे छ। अहिले आयोजनामा पेनस्टकमा पाइप जडान गर्ने, पावर हाउसमा सुपर स्ट्रक्चर निर्माण गर्ने र इन्टरफेसको काम चलिरहेको छ।

आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो। १४.८ मेगावाट क्षमताको आयोजनाको चार सय ७४ मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा एक सय मिटर पाइप राख्न बाँकी छ। पेनस्टक पाइप राख्ने काम ७५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

सिभिलतर्फ ८५, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ।

प्रकाशित: १७ मंसिर २०७६ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App