१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखराको मौजामा नालीमा पुरिएर ५ को मृत्यू

घटनास्थलमा उद्धारमा खटिएको प्रहरी। तस्बिरः सुरेश सुनार

पोखरा- पोखरामा नालीमा पुरिएर ५ जनाको मृत्यू भएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा सडक निर्माणको काम गरिरहेका ५ जना मजदुरको नालीमा पुरिएर मृत्यू भएको हो। पोखरा–मौजा सडकको रिटेनिङ पर्खाल निर्माणमा खटिएका बेला माथिबाट खसेको ढिस्कोले पुरिएर ति मजदुरहरुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यू हुनेमा सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओली रहेका छन्। मृत्यू हुने सबै मजदुरहरु सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन्। बिहान करिब साढे ७ बजे मजदुरहरुले काम गरिरहेका बेला माथिबाट अचानक ढिस्को खसेर पुर्दा उनीहरुको मृत्यू भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाहरुको उद्धार गरेको प्रहरीले जनाएको छ। अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको बताइएको छ। ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खिमलाल बस्नेतले हारगुहार गरेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। ६ जना मध्ये उनीमात्र बाँच्न सफल भएका हुन्।

ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए।

 

प्रकाशित: १५ मंसिर २०७६ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App