१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की–२ मा ७१ हजार मतदाता

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले मतदानका लागि कर्मचारी परिचालनदेखि सुरक्षासम्मको तयारी पूरा भएको बताए। उनले भने, ‘निर्वाचन हुने ३२ वटै मतदान स्थल र ८२ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी, सुरक्षाकर्मी पुगिसकेका छन्। अन्य तयारी पनि पूरा भएको छ।’

निर्वाचन अधिकारी सुवेदीले नयाँ मतदातालाई बिहीबार र शुक्रबार मतदान केन्द्रबाट मतदाता परिचयपत्र पनि वितरण गरिसकिएको बताए। मतदाताले मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउने छन्। मतदाता परिचयपत्र नभएका तर मतदाता नामावलीमा नाम भएकालाई पनि परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइएको छ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। प्रत्येक मतदान स्थलमा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। कास्कीमा एकतिहाइ मतदान स्थललाई अतिसम्वेदनशील मानेर त्यसैअनुसार सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। उनका अनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुने निर्वाचन अधिकृत काजीबहादुर राईले बताए।

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भई पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुनमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। २०७४ को निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए। कास्की–२ मा नेकपा, नेपाली कांग्रेससहित १० दल र ११ स्वतन्त्रसहित २१ जना चुनावी प्रतिस्पर्धामा छन्। कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन्।

मतगणना शनिबार साँझबाटै थाल्ने तयारी
कास्की–२ को मतगणना शनिबार साँझबाटै गर्ने तयारी गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी सुवेदीले साँझबाटै मतगणना गर्ने तयारी गरिएको बताए। साँझ ५ बजे मतदान सकिएर साढे ५ बजेसम्म मुचुल्का उठाएर तत्कालै मतपेटिका सदरमुकाम ल्याउने तयारी गरिएको उनले बताए। मुख्य सहरी क्षेत्र र त्यसको नजिकका क्षेत्रमा मतदानस्थल रहेकाले ८ बजेसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने अनुमान गरिएको उनले बताए। मतगणना जिल्ला समन्वय समितिको कार्यालयस्थित कुनै एक हलमा गर्ने तयारी छ। गणना सुरु भएको ८ घण्टाभित्र परिणाम आइसक्ने अनुमान छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App