१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

यसरी भयो वीरगञ्ज कलाकारमय

कात्तिक २१ देखि २३ सम्म वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवको आर्थिक नगरी कलाकारमय भयो । महोत्सवको प्रारम्भमा गरिएको प्रभातफेरीमा भारतीय चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, अनमोल केसी, प्रदीप खड्का, वरिष्ठ कलाकार नीर शाह, नायिका साम्राज्ञी राज्यलक्ष्मीशाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, नायिका पल शाह, केकी अधिकारीका साथै नेपालका दर्जनौं चलचित्रकर्मी सहभागी भए ।

वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना भएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भयो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत अतिथि सहभागी भएका थिए । नेपाल चलचित्र निर्माता संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजक रहेको नेपाली चलचित्र स्वर्णिम महोत्सवका सहआयोजक वीरगञ्ज उद्योग वाणिज्य संघलगायत रहेका थिए । ‘हिमाल, पहाड र तराईको उत्सव, नेपाली चलचित्र स्वार्णिम महोत्सव’ नारा दिइएको यो आयोजना देशलाई संस्कृतिक रुपमा जोड्न सहायक हुने आयोजकको दाबी छ । आयोजकका अनुसार नेपाल र भारतका गरी २ सय बढी फिल्मकर्मीहरुको महोत्सवमा सहभागिता रह्यो ।

महोत्सव आयोजनाका लागि नेपाल पर्यटन बोर्ड, प्रदेश २ को सरकार, पर्यटन समन्वय समिति र वीरगञ्ज महानगरपालिकाबाट सरकारी स्तरमा सहयोग र समन्वय प्राप्त भएको आयोजकले जनाए । ‘नेपालमा पहिलोपटक यस्तो आयोजना भएको हो, यो एउटा ऐतिहासिक कार्यक्रम हो,’ चलचित्र निर्माता संघका उपाध्यक्ष तथा यस महोत्सवका कार्यक्रम संयोजक विमल पौडेलले भने, ‘मधेसको संस्कृति, भाषाको प्रवद्र्धन र यहाँका स्थानीय कलाकारलाई मूलधारको कलाकारिता क्षेत्रमा सहभागिता गराउनसमेत महोत्सव सहायक हुनेछ ।’

‘सिनेमा समाजको ऐना’
महोत्सवलाई प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा समाजलाई अझ सभ्य बनाउन अभिप्रेरित गर्ने खालको सिनेमा बन्नुपर्ने भन्दै ‘सिनेमा समाजको ऐना भएको’ टिप्पणी गरिन् । नेपाली समाज बहु भाषिक, बहु सांस्कृतिक, बहु साहित्यिक, बहु कलात्मक र बहु समुदायी भएकोले सोही अनुरुपको प्रेरणा दिने खालको फिल्मनिर्माणमा फिल्मकर्मीहरु लाग्नुपर्ने बताइन् । उनले आधा शताब्दीको गौरवमय इतिहास बोकेको नेपाली चलचित्रको विविधतामा एकता झल्किनुपर्ने उनको राय देखियो । राष्ट्रपति भण्डारीले चलचित्रको माध्यमबाट समाजलाई एकताबद्ध पार्ने कथा र पटकथा निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेशनम्बर २ को सरकारले समाज रुपान्तरणका लागि चालेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सफल बनाउन कलाकारहरुले समेत सहयोग र भूमिका गर्न राष्ट्रपति भण्डारीले आह्वान गरिन् । महोत्सव सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धधनका लागि समेत फलदायी हुने उनले विश्वास व्यक्त गरिन् । हजारौंलाई रोजगार दिने क्षेत्रको रुपमा समेत देखिएको चलचित्र विकासमा सरकारले पनि ध्यान दिने बेला आएको बताइन् ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको चलचित्रले नयाँ बाटो खोजिरहेको जिकिर गर्दै लगानी अभावमा नेपाली चलचित्रले नेपालकै बजार लिन नसकेकोमा चिन्ताव्यक्त गरे । चलचित्रलाई प्रत्यक्ष सहयोग पुग्ने र यसको विकास हुने किसिमले चलचित्रसम्बन्धी नीतिनियम समेत पारित भइसकेको र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यसको प्रतिफल देखिने उनले दाबी गरे । प्रदेशनम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कलाकारहरुले कलाको माध्यमबाट हिमाल, पहाड, तराई जोड्दै आएकोमा यसलाई अझ सशक्त बनाउन फिल्म क्षेत्रले ध्यान दिनुपर्ने औंल्याए । भारतीय चलचित्रले नेपाली सिनेमा ओझेलमा पर्ने अवस्था अन्त्यका लागि उनले ध्यानाकर्षण गराए ।

गोविन्दाको क्रेज
बलिउड अभिनेता अर्थात् भारतीय सिने कलाकार गोविन्दा वीरगञ्ज आइपुगेको चर्चा ‘नेपाल प्रथम चलचित्र महोत्सव’ मा बढी देखियो । अभिनेता गोविन्दा यसै महोत्सवको पाहुनाको रुपमा काठमाडौं हुँदै एक दिन अगाडि वीरगञ्ज आइपुगेका थिए । ‘राष्ट्रपतिज्यूले उद्घाटन गर्नुभएको छ, संघीय सरकारका मन्त्री र प्रदेश २ सरकारका मुख्यमन्त्रीको उपस्थिति रह्यो, साँसदहरु र राजनीतिक दलका नेतादेखि विभिन्न क्षेत्रका अगुवाहरु आउनु भयो, महानगरपालिका र वीरगञ्ज उद्योग वाणिज्य संघ त सहआयोजक नै भइहाले, महोत्सवका कारण भएको डेढ सय बढी कलाकारहरुको जमघट पनि नेपालमा पहिलोपटक नै हो,’ फिल्म निर्माता माधव वाग्लेले भने, ‘बलिउडका अभिनेता गोविन्दालाई पाहुना बोलाइएको हो, स्वाभाविक रुपमा उनको अलि आकर्षण रह्यो । यही त हो यथार्थ, जहाँ कलाकार त्यहाँ दर्शक ।’

महोत्सवले स्थानीय कलासंस्कृति र कलाकारहरुलाई समेट्न सक्नु पथ्र्यो भनी स्थानीयकला संस्कृति क्षेत्रका व्यक्तिहरुको भनाइ छ । ‘महोत्सव वीरगञ्जमा आयोजना हुनु भनेको सहरका लागि गर्वको विषय हो, स्थानीयलाई चाहिए जस्तो आकर्षित गर्न सकेन,’ स्थानीय भोजपुरीका श्रष्टा रितुराजले भने, ‘मधेसमा नेपाली सिनेमालाई दर्शक चाहिन्छ र व्यापारिक लाभ चाहिन्छ भने नेपाली सिने जगतको विषयवस्तुमा निकै परिवर्तन जरुरी छ ।’ भोजपुरी आधुनिक गीतका स्थापित कलाकार सुनिल पण्डितले महोत्सवको कमीकमजोरी खोज्नुभन्दा वीरगञ्जमा भएकोले यसलाई निर्वाध सफल बनाउन स्थानीय कलाकारहरुकोे भूमिका गरेको बताए । अभिनेता परदेशी साहले पनि आफुहरुले महोत्सवको स्वागत गरेको बताए ।

‘नेपाली चलचित्रको यहाँ मार्केट छैन, नेपाली सिनेमा यहाँका दर्शकहरुले हेर्नु हुन्न र नेपाली कलाकारहरुलाई पनि चिन्नुहुन्न,’ अभिनेत्री नीता ढुंगानाले चलचित्र महोत्सवप्रति स्थानीयको चासो कम पाइएको अनुभव सुनाउँदै भनिन्, ‘नेपाली कलाकार चिनेकै छैनन्, नेपाली सिनेमा हेरेकै छैनन् भने नेपाली सिनेमा र कलाकारमा चासो स्वाभाविक रुपमा हुँदैन ।’ मधेसका कथा र पात्रहरुले अब नेपाली सिनेमामा स्थान पाउन थालेको उनले बताइन् ।’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले वीरगञ्जमा यतिको आयोजनालाई र सहभागितालाई राम्रै मान्नुपर्ने बताइन् । निर्देशक पुर्णेन्दु झाले महोत्सव आयोजना नहुनुभन्दा हुनु बेस रहेकोले त्यसका विभिन्न कमजोरीहरुलाई पचाएको बताए । कामेश्वर चौरसिया र नाजिर हुसैन जस्ता वीरगञ्ज क्षेत्रका स्थापित कलाकारको अनुपस्थिति भने स्थानीयलाई खड्केको थियो ।

प्रकाशित: १३ मंसिर २०७६ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App