१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा ३५ राज्यमन्त्री नियुक्त

राष्ट्रपति गोताबय राजापाक्षेका भाइसमेत रहेका चमाल राजापाक्षे श्रीलंकाको रक्षा राज्यमन्त्रीको शपथ लिँदै। तस्बिरः एजेन्सी

कोलम्बो – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले बुधबार ३५ जना राज्यमन्त्री नियुक्त गरेका छन्। केही दिनअघि आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति गोताबयले तीन उपमन्त्री पनि नियुक्त गरेका छन्।

३५ राज्यमन्त्री र तीन उपमन्त्री सबैलाई संसद्को नयाँ निर्वाचन नहुँदासम्मका लागि भनेर गठन गरिएको अन्तरिम मन्त्रीपरिषद्मा समावेश गरिएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। नवनियुक्त मन्त्रीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा बुधबारनै शपथ गराइएको छ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, केहेलिया रामबुक्वेल्ला लगानी प्रवद्र्धन राज्यमन्त्री बनेका छन् भने अरुणीका फर्नान्डोलाई पर्यटन प्रवद्र्धन राज्यमन्त्री बनाइएको छ।

राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीमा भने केही दिन अगाडि आफ्नै सहोदर दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई ल्याएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएका महिन्दा राजापाक्षे यसअघि झण्डै १० वर्ष श्रीलंकाको राष्ट्रपतिको जिम्मेवारीमा थिए। उनले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपतिका रुपमा श्रीलंकामा शासन गरेका थिए।

अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानन्त्रीमा नियुक्त भएका थिए। सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले अहिलेको मन्त्री परिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद् भनिएको छ।

तत्कालीन सत्तारुढ दल युनाइटेड नेसनल पार्टी (युडिपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार रहेका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका थिए।
निर्वाचनका बेला उम्मेदवारले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधारलगायतका विषयलाई मुख्य अजेन्डा बनाएका थिए।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएका थिए। झण्डै १० वर्ष अगाडि रक्षा सचिव रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महŒवपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन्। श्रीलंकाली सेनाका पूर्वलेफ्टिनेन्ट कर्णेल समेत रहेका गोताबय राजापाक्षे दाइ महिन्दा राजापाक्षे राष्ट्रपति भएका बेला रक्षा सचिव बनेका थिए।

प्रकाशित: १२ मंसिर २०७६ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App