१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्राफिक प्रहरी बढी प्रभावित

काठमाडौं – उपत्यकामा चर्को समस्याका रूपमा रहेको धुवाँधुलो समस्याको असर सवारीचालक र पैदलयात्रुले मात्रै होइन ट्राफिक प्रहरीले पनि खेपिरहेका छन्। पैदलयात्रु र सवारीचालकले सडकमा निस्कँदा केही संयम अपनाए पनि ट्राफिक प्रहरीले भने माक्र्ससमेत लगाउन पाउँदैनन्। सवारीसाधनको चाप भइरहने ठाउँमा उनीहरू हातकै भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन्।

सडकको अवस्था जीर्ण बन्नु, धुवाँ र धुलो उड्नु, ट्राफिक लाइटले समेत काम नगर्दा ट्राफिक प्रहरी आवश्यकभन्दा बढी खटिनुपरेको ट्राफिक प्रहरी नै बताउँछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले धुवाँधुलोका कारण सडकमा खटिएका ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या देखिएको जानकारी दिए। उनले प्रविधिको भरपुर प्रयोग गर्न नसक्दा धेरै ट्राफिक जनशक्ति प्रयोग गर्नुपरेको बताए।

‘सबैतिर ट्राफिक लाइटले काम गर्ने भए यति धेरै ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने थिएन,’ उनले भने, ‘अर्को कुरा अन्य निकायले गर्ने काम सडक निर्माण, कालोपत्रे, धुलो बढार्नेलगायत काम नगर्दा त्यसको असर ट्राफिक प्रहरी र आमसर्वसाधारणलाई परेको छ।’ उनका अनुसार नाजुक सडकका कारण ट्राफिक प्रहरीलाई झन्झट थपिएको छ।

महाखाशाको तथ्यांकअनुसार तीन दर्जन ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या देखिएको छ। धुलो र धुवाको असर दीर्घकालसम्म पर्ने भएकाले सडकमा खटिएका ट्राफिक प्रहरीले समेत संयम अपनाउनुपर्ने वातावरणविद्को भनाइ छ। ‘ट्राफिक प्रहरी सिधै धुवाँधुलोमा खटिएका छन्। उनीहरूले अझ सावधानी अपनाउन आवश्यक छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘यदि सडकको अवस्था सुध्रिएको भए यति धेरै समस्या हुने थिएन।’

नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा उपत्यकामा गरेको अध्यननमा उपत्यकाको धुलोमा हानिकारक कण रहेको फेला पारेको थियो। अध्ययनमा काठमाडौंमा प्रदूषण बढाउने कारक तत्व इँटाभट्टा र थोत्रा सवारीसाधन भएको पाइएको थियो। पछिल्लो समय सडक खन्दा प्रदूषण झनै डरलाग्दो बनेको छ। विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदूषण बढेको छ। परिषद्को अनुसन्धानमा काठमाडौं उपत्यकामा बिहान ६ देखि ९ र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक प्रदूषण हुने देखिएको थियो। उपत्यकाको अहिलेको प्रदूषण सूचक पनि खतरनाक छ। विज्ञका अनुसार २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्छन्। धुलोमा हानिकारक कण भएकाले ट्राफिक प्रहरी मात्रै नभएर सडकमा उत्रने सबैलाई श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगी बढ्ने डर देखिएको छ।

ललितपुरका पूर्वट्राफिक इन्चार्ज सीताराम हाछेथुले सडकको अवस्था सुधार्न सरकारले ध्यान नदिँदा त्यसको सीधा असर ट्राफिक प्रहरीमा पर्ने बताए। ‘म पनि एकदमै धुलो र धुवाँमा ड्युटी गरें, त्यसको असर अहिले देखिन थालेको छ, दिनभरि हात हल्लाएरै धुलो र धुवाँ खानुपर्ने बाध्यता नेपालका ट्राफिक प्रहरीले भोगिरहेको छ,’ उनले भने।

ट्राफिक व्यवस्थापन गर्न नयाँ ‘वानवे’को तयारी
सवारीसाधनको सबैभन्दा बढी चाप हुने रत्नपार्क क्षेत्रमा ‘वानवे’ प्रणाली लागू गरिने भएको छ। काठमाडौं महानगरपालिका र महाशाखासँगको समन्वयमा त्रिपुरेश्वर, रत्नपार्क, जमल, केशरमहल, जय नेपाल हल क्षेत्र, पुतलीसकड हुँदै माइतीघरसम्म ‘वानवे’ बनाउने तयारी भएको महानगरपालिकाका ट्राफिक विज्ञ तथा ललितपुरका पूर्वट्राफिक इन्चार्ज हाछेथूले जानकारी दिए। उनका अनुसार यी क्षेत्रमा सबैभन्दा बढी ट्राफिक जनशक्ति खर्च भइरहेको छ। ट्राफिक लाइन नबल्नु, आकाशे पुल बन्नु, खाल्डाखुल्डी सडक, सवारीको चापलगायतका कारणले ट्राफिक जाम बढिरहेको छ।

‘वानवे तरिका अपनाएपछि यो सबै समस्या समाधान हुन्छ,’ उनले भने, ‘केही बाटो मोडिनुपर्ने होला तर अहिले देखिको एकै ठाउँ सवारी थुप्रने समस्या हट्छ।’ ट्राफिक प्रहरीको अध्ययनअनुसार रत्नपार्क क्षेत्रमा एक मिनेटमा दुई सय ४२ वटा सवारी गुड्छन्। यो संख्या एकदमै बढी हो। कुनै ठाउँमा एउटा सवारी बिग्रनेबित्तिकै सवारी जाम हुने समस्या पनि यस क्षेत्रमा देखिएको छ। यो समस्या समाधानका लागि ट्राफिक प्रहरीले ६ किलोमिटर दूरी सडकलाई ‘वानवे’ बनाउने तयारी गरेको हो। अहिले उपत्यकामा १२ लाख सवारीसाधन छन्। ती सबै सवारीसाधनलाई प्रहरीले हातकै भरमा व्यवस्थापन गर्न सक्दैन। तीन लाख सवारीसाधनको व्यवस्थापन हात हल्लाएरै पनि गर्न सकिने प्रहरीको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०७६ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App