१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नरभक्षी पोथी चितुवा खोरमा पर्‍यो

तनहुँ- चितुवाको परम्परागत खोर (पासो) मा एक पोथी चितुवा परेको छ। तनहुँको भानु नगरपालिका २ को मझुवाओख्ले सामुदायिक वन क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणको लागि निर्माण गरिएको पासोमा चितुवा परेको हो। आइतबार बिहान चितुवा खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए।

पासोमा परेको उक्त पोथी वयस्क चितुवा लगभग ९ वर्षको करिब ५० केजी तौलको रहेको सहायक वन अधिकृत उप्रेतीले बताएण्। ‘काठको परम्परागत खोरमा परेको उक्त चितुवा फलामको खोरमा स्थानान्तरण गरी बुटवलको प्राणी उद्यानमा लगेका छौँ,’ उनले भने।

नरभक्षी चितुवाले भानु नगरपालिकामा डेड वर्ष अगाडीदेखी बालबालिका माथि आक्रमण गर्दै आएको छ। भानु नगरपालिकाका वडा नम्वर १, २, ३ र ४ मा बालबालिकालाई नरभक्षी चितुवाले आक्रमण गरी ज्यान नै लिन थालेपछि ४ वटै वडामा चितुवा नियन्त्रणको लागि काठको परम्परागत खोर (पासो) निर्माण गरिएका छन्।

वन क्षेत्रमा बनाइएको परम्परागत काठको खोरमा यसअघि २ वटा भाले र एउटा पोथी चितुवा परेका थिए। ति चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज र बुटवलको प्राणी उद्यानमा स्थानान्तरण गरिएको  डिभजन वन कार्यालयले जनाएको छ।

चितुवाले पशु तथा बालबालिकालाई घर घरमा गएर आक्रमण गर्न थालेपछि भानुको बिभिन्न स्थानहरुमा डिभिजन वन कार्यालय, भानु नगरपालिका, सम्बन्धित वडा तथा स्थानीयहरुको संक्रियतामा चितुवाको खोर निर्माण गरिएको छ। आइतबार परेको चितुवा गरी भानु २ का स्थानीय हरिभक्त ढकालले निर्मार्ण गरेको चितुवाको परम्परागत खोर (पासो) मा तीनवटा चितुवा परिसकेका छन्।

चितुवा खोरमा परेपनि सचेत रहन स्थानीयहरुलाई भानु २ का वडा अध्यक्ष अर्जुन वहादुर केसीले बताए। ‘चितुवा नियन्त्रणमा धमाधम आएपनि जंगलमा अरु पनि चितुवा हुनसक्ने भएकाले सचेत हुन आवश्यक छ,’ उनले भने।

यो डेढ वर्षको अन्तरालमा भानुमा चितुवाले १३ जनालाई आक्रमण गरेको थियो। जसमा ६ जना बालबालिकाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

प्रकाशित: ८ मंसिर २०७६ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App