१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेसनल मेडिकल कलेजमा तनाव

वीरगन्ज - शुल्कसम्बन्धी विवादलाई लिएर वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तनाव बढेको छ। सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनको इसारामा हातपात भएपछि तनाव बढेको हो। आन्दोलनरत एमबिबिएस प्रथम वर्षका विद्यार्थी र शुक्रबार कलेज सञ्चालकका ‘विश्वासपात्र’ भनिएका केही सिनियर विद्यार्थीबीच झडप भएको थियो। आन्दोलनरत विद्यार्थीले कलेज सञ्चालक र प्रशासनको इसारमा आफूहरूमाथि आक्रमण गरिएको आरोप लगाएका छन्। आक्रमणविरुद्ध वीरगन्जमा शनिबार प्रदर्शन भएको छ।

कलेज अगाडिबाट प्रदर्शन सुरु गरेका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाए। ‘हामीले एउटा कुरा मात्र भनेका छौं– शुल्कबापत बढी लिएको रकम फिर्ता गरियोस्। तर कलेज प्रशासनले हामीलाई दबाउन खोज्यो, धम्की दियो, भौतिक रूपमा हाम्रा साथीमाथि आक्रमण गर्न लगायो,’ प्रदर्शनमा सहभागी विद्यार्थी धनबहादुर तामाङले भने, ‘हिजो (शुक्रबार) प्रदर्शन गरेर फर्कने क्रममा २ नम्बर गेटनजिक हामीमाथि दुव्र्यवहार भयो, छात्रामाथि पनि दुव्र्यवहार भयो।’

कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग राखेर एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी शुक्रबार साँझ धर्नामा बसेका थिए। धर्नापछि कलेज प्रांगणभित्रै रहेको छात्रावास जाने क्रममा माथिल्लो तहका केही विद्यार्थीले प्रवेशमा अवरोध खडा गरेपछि झडप भएको थियो। कलेज प्रशासनकै योजनामा माथिल्लो कक्षाका केही विद्यार्थी लगाएर आक्रमण गराइएको दाबी आन्दोलनरत विद्यार्थीको छ। कलेज परिसरमै हातपात भएपछि असुरक्षित भएको उनीहरूले बताएका छन्।

शुल्कसम्बन्धी विवादले उत्पन्न तनावका कारण असहज अवस्था देखिएको कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले स्वीकार गरे। उनले आन्दोलनरत विद्यार्थीलाई कतैबाट उचालिएको बताए। ‘यहाँ पहिलेदेखि पढिरहेका विद्यार्थी आन्दोलनका कारण परीक्षा अन्योलमा परेपछि आक्रोशित छन्। उनीहरूले यस विषयमा आन्दोलनरत विद्यार्थीसँग सोधपुछ गर्न खोज्दा सामान्य धकेलाधकेल भएको थियो,’ अन्सारीले भने, ‘शिक्षा मन्त्रालयबाट जेजस्तो अन्तिम निर्देशन आउँछ त्यसैअनुसार गर्न हामी तयार छौं, शुल्क फिर्ता गर्ने अवस्था आयो भने अब आउने वर्षको शुल्कमा त्यसलाई समायोजन गर्ने बाटो पनि छ। यी विद्यार्थी उचालिएका हुन्, वार्ता गर्न पनि मान्दैनन।’

निजी मेडिकल कलेज सञ्चालक संघको अध्यक्ष भएकाले पनि विद्यार्थी उचालेर आफूलाई बदनाम गर्न खोजिएको उनले बताए। सञ्चारमाध्यमले पनि वास्तविक कुरा नलेखिदिएपछि आफूलाई बाहिर हिँड्न पनि गाह्रो भएको दुखेसो उनले पोखे। ‘मेडिकल माफिया नै बनाइएको छ मलाई,’ उनले भने।

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले मेडिकल कलेजलाई निर्देशन दिएको छ। ‘शिक्षा मन्त्रालयले एकपटक १५ दिने र फेरि एक महिने समय दिएर पत्र लेखेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यूले पनि यसमा चासो राख्नुभएको छ। उहाँले मेडिकल कलेज सञ्चालकसँग बैठक पनि गर्नुुभएको छ,’ अन्सारीले भने, ‘लगभग सहमति पनि भइसकेको छ। उहाँले एकपटक विद्यार्थी नेताहरूसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्षमा पुग्ने भन्नुभएको छ। अन्तिम निर्णय जे आउँछ मान्न म तयार छु।’

उनले विद्यार्थी आन्दोलनप्रति भने असन्तुष्टि जनाए। त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले कात्तिक ८ मा चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई पत्र लेखी मेडिकल कलेजले बढी लिएको शुल्क फिर्ता÷समायोजन गराउन निर्देशन दिएको थियो। काठमाडौं उपत्यकाबाहिरका मेडिकल कलेजले एमबिबिएस तहमा ४२ लाख ४५ हजार रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने सरकारको निर्णय छ। नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्यार्थीसँग विभिन्न शीर्षकमा गरी सरकारले तोकेभन्दा १३ लाख रूपैयाँ बढी लिएको विद्यार्थी बताउँछन्। कलेजले बढी लिएको शुल्क फिर्ता नगरेपछि आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी बताउँछन्। बढी लिएको शुल्क फिर्ता माग राखेर विद्यार्थी बिहीबारदेखि दोस्रो चरणको आन्दोलनमा छन्।

त्रिविले डिनलाई लेखेको पत्रमा मेडिकल कलेजले शुल्क लिन पाउने शीर्षक र रकमसमेत खुलाउन निर्देशन दिएको छ। पत्रअनुसार निर्णय भएर आएको छैन। ‘शीर्षकै तोकेर आएपछि हामीलाई पनि सजिलो हुन्छ,’ अन्सारीले भने, ‘निजी मेडिकल कलेजले समाजलाई ठूलो योगदान दिएको कुरा ओझेलमा पार्दै बदनाम गर्न खोजिएको छ।’

मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भट्टराईले विद्यार्थी प्रतिनिधि र कलेज प्रबन्ध निर्देशक अन्सारीलाई सँगै राखेर छलफल गराएका छन्। उनले चिकित्साशास्त्र अध्ययन संस्थानको निर्णय पर्खिन दुवै पक्षलाई आग्रह गरेका छन्। यसैबीच नेपाल विद्यार्थी संघ र संघीय विद्यार्थी फोरमले मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीमाथि भएको दुव्र्यवहारको निन्दा गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७६ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App