८ वैशाख २०८१ शनिबार
अर्थ

वैदेशिक रोजगारी पाइलैपिच्छे अवरोध

काठमाडौं – गुजारा चलाउने रकमको जोहो गर्न कुवेत पुगेका २१ युवा यतिखेर कुनै गल्तीबिनैत्यहाँको जेलमा बस्न बाध्य छन्। आठ महिनाअघिकुवेतको जेलमा परेका उनीहरूको कहिले उद्धार हुन्छ अहिलेसम्म यकिन छैन।ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावरमार्फत कुवेत गएका उनीहरू त्यहाँको रोजगारदाता टाट पल्टेपछि थुनामा परेका हुन्।

रोजगारदाता टाट पल्टेका कारण अवैध भएको पाइएपछि कुवेतको प्रहरीले पक्राउ गरी थुनामा राखेको पीडितले घरपरिवारलाई जानकारी गराएका छन्। अब थुनामुक्त हुन उनीहरूले करिब ५५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

गुजारा चलाउने खोजी गर्दै वैदेशिक रोजगारीमा गएका ती युवाले ५५ लाख रुपैयाँ कुवेत सरकारलाई बुझाउनुपर्ने भएपछि परिवारका सदस्य त्यो रकम कसरी जुटाउने भन्ने समस्या छन्। कतिपयको पुख्र्यौली सम्पत्ति बेचेर पनि जरिवाना तिर्न नसक्ने भएपछि पीडितका आफन्तले उद्धारका लागि गरेका सबै प्रयास बिफल भइरहेका छन्।

दैनिक ४–५ सय रुपैयाँ कमाउँदा पनि खासै आँखा नलाग्दा यतिखेर उनको पसल त डुबेको छ नै। साथै वैदेशिक रोजगारीमा जाँदाको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता छ।

कुवेत पठाउने म्यानपावर र सरकारी निकायले थुनामुक्त गर्न नसकेपछि पीडितले संघीय संसद्को उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दिएका छन्। पीडितको उजुरीको आधारमा समितिले सरकारलाई थुनामा रहेका व्यक्तिहरूलाई तुरुन्त मुक्त गर्न निर्देशन दिएको छ। समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जति बढी समय थुनामा बस्यो उति नै जरिवाना बढ्ने भएकालेसरकारले तत्काल हालसम्मको जरिवाना बुझाएर थुनामुक्त गर्नुपर्ने बताए।

विदेशमा गएर कमाउने र घरमा गर्जो टार्ने अपेक्षाले विभिन्न मुलुक जाने, समस्यामा पर्ने र एकसुको कमाउन नसक्ने यो घटना नयाँ होइन। अचम्म लाग्दो त के छ भने वैदेशिक रोजगारीमा पट पटक समस्यामा पर्ने क्रम जारी रहे पनि दलालको प्रलोभनमा पर्ने र आर्थिक तथा शारीरिक शोषणमा पर्ने क्रम घट्नुको साटो बढ्दो छ। विदेशमा कमाउने आसमा लाखौं रकम गुमाउनेको संख्या निरन्तर बढिरहेको छ।

केही दिनअघिकुवेत जान खोजेका दुई दर्जन महिला दुबईबाट काठमाडौं फर्काइए। विदेश जान ठूलो रकम खर्च गरेका महिला घर फर्कदा रित्तो हात थिए। अहिले उनीहरूलाई विदेश जानका लागि खर्च भएको ऋण कसरी तिर्ने भन्ने समस्या आइपरेको छ। सरकारले खाडी मुलुकमा घरेलु कामका लागि महिला जान रोक लगाएको बेला उनीहरू सीमावर्ती विभिन्न नाका हुँदै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर दुबई उडेका थिए। उनीहरूको दुबई हुँदै कुवेत जाने तयारीमा रहे पनि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले केन्याका लागि ‘डिपार्चर’ दिएका कारण दुबईको अध्यागमनले फिर्ता गरेको थियो। दलालको प्रलोभनमा परेर वास्तविकता बुझ्दै नबुझी चोरबाटो प्रयोग गरेका अधिकांश महिला यतिखेर पछुतोमा छन्।

नौ वर्षीया छोरीसँग बस्दै आएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङलाई गाउँमा गुजारा चलाउन कुनै समस्या थिएन। गाउँमै चलाउँदै आएको किराना पसलबाट उनको दिनचर्या राम्रोसँग चल्दै थियो। तर, उनको इच्छा त्यतिमै रोकिएन। इच्छा रोक्न नसक्दा उनी यतिखेर घर न घाटकी भएकी छिन्।

दैनिक ४–५सय रुपैयाँ कमाउँदा पनि खासै आँखा नलाग्दा यतिखेर उनको पसल त डुबेको छ नै। साथै वैदेशिक रोजगारीमा जाँदाको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता छ। धेरै किराना पसल नभएकाले अधिकांश गाउँलेको किनमेल गर्ने थलो उनकै पसल थियो। आफ्नै घरमा पसल राखेकाले उनलाई काममा पनि खासै सास्ती थिएन।
गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्टि हुन नसकेकी २९ वर्षीया लक्ष्मीले पसल बेचेर वैदेशिक रोजगारीमा जान खोज्दा यतिखेर उनी सडकमा पुगेकी हुन्। अहिले उनलाई साँझबिहानको जोहो कसरी गर्ने भन्ने समस्या आइलागेको छ। साथीको लहलहैमा लागेर युरोप जान खोज्दा यतिखेर न उनको वैदेशिक यात्रा सफल हुन सकेको छ। न दैनिक गुजारा चलाउने माध्यम बनेको पसल नै बाँकी छ। पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर वैदेशिक रोजगारीमा गएकी लक्ष्मीको वैदेशिक रोजगारी ४१ दिनमै टुंगिएपछि अहिले उनलाई कहाँ जाऔं र के गरौं भइरहेको छ।

‘म्यानपावरले दैनिक आठ घन्टाभन्दा बढी काम गर्नु नपर्ने भनेको थियो,’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले त्यहाँको पीडा सुनाउँदै भनिन्, ‘त्यहाँ त दैनिक १६ घण्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि हप्की–दप्की र कुटपिट हुन थालेपछि घर फर्कन बाध्य भएँ।’
वैदेशिक रोजगारीमा जानुअघि म्यानपावरले एक परिवारको घरमा काम गर्ने बताए पनि उनले टर्कीको अंकारास्थित अपार्टमेन्टमा बस्ने ५–६ परिवारका घरासयीकाम गर्नुपर्दा बिरामी भएको रउपचार गर्न नपाएको गुनासो पनि गरिन्। ‘कुनै–कुनै दिन रातिमा नचिनेका केटाहरू कोठामा छिरेर दुव्र्यवहार गर्न खोज्थे,’ लक्ष्मीले भनिन्, ‘पाँच लाख रुपैयाँ तिरेको पीडा सम्झँदा जस्तो समस्या सहेर पनि बस्छु लागेको थियो। तर, उनीहरूको व्यवहारका अगाडि डेढ महिनाभन्दा बढी टिक्न सकिनँ।’ स्वदेश फर्कन साउदीमा रहेका आफन्तलाई आग्रह गरेपछि टिकट बुकिङ गरेको र अन्तिममा त्यहाँ काम गरेर प्राप्त भएको दुई सय ४० युरोले टिकटको रकम तिरेको उनले बताइन्।
घर फर्कने रकम नभएपछि मलेसियामा काम गर्ने नेपाली र अन्य प्रवासीले चन्दा संकलन गरेको रकमबाट रौतहट, सखुवाका पिरमोहम्मद मन्सुरी स्वेदश फर्के। चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मन्सुरी विदेशी भूमिमा बिरामी भएपछि जानेबेला लिएको ऋणसमेत चुक्ता गर्न असमर्थ भए। ऋण तिर्न नसकेपछि जमिन बेचेको बताउने ३९ वर्षीय मन्सुरी यतिखेर म्यानपावरले लिएको रकम फिर्ता पाउनुपर्ने माग गर्दै विभाग धाइरहेका छन्।

म्यानपावरलाई एक लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया उडेका मन्सुरीले त्यहाँ सम्झौताभन्दा फरक काम र न्यून ज्याला पाएको गुनासो गरे। ‘इँट्टा कम्पनीमा काम गर्ने सम्झौता थियो,’ उनले भने, ‘तर, मलेसियामा सिमेन्ट ओसार्ने काममा लगाइयो। जसले गर्दा बिरामी भएँ।’ मलेसिया पुगेको तीन महिनामै बिरामी भएपछि मन्सुरीले त्यहाँस्थित राजदूतावास र वैदेशिक रोजगार विभागका पटकपटक उद्धारका लागि आग्रह गरे पनि कुनै सहयोग नपाएको गुनासो गरे। ‘पहुँच नभएकाले होला मलाई सरकारी निकायले उद्धार गर्न चासो देखाएनन्,’ उनले गुनासो गरे, ‘अन्तिममा कुनै उपाय नलागेपछि प्रवासीले उठाएको चन्दाको रकमले घर फर्कें।’

मलेसियामा बिरामी हुँदा उपचार गर्न नपाएपछि यतिखेर उनका दुवै हात राम्रोसँग चल्दैनन्। वैदेशिक रोजगारीको लोभले सडकमा पुगेको गुनासो गर्ने मन्सुरीले म्यानपावरको बदमासीले झनै पीडा दिएको बताए। ‘वैदेशिक रोजगारीका कारण भएको सम्पत्ति सकियो, आफैं बिरामी परेँ,’ उनले भने, ‘रकम अभावले उपचार गर्न नसक्दा घरमा छोरीको समेत मृत्यु भयो।’

पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जान युवायुवती जोडबल गर्छन्। त्योसँगै वैदेशिक रोजगारीको लोभले कैयौं युवायुवती सडकमा पुगेका घटना निरन्तर बढिरहेका छन्। वैदेशिक रोजगारीमा जाँदा दलाल, म्यानपावरलाई घर, खेत बेचेर तथा ऋण लिएर रकम बुझाउने तर विदेशमा सोचेअनुसार काम नपाउँदा अलपत्र पर्दा कैयौं परिवार निरासा र पीडापूर्ण जीवन बिताउन बाध्य छन्।स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिएका युवायुवतीले कमाइ गर्नु त कता हो कता उल्टै पुख्र्यौली सम्पत्ति बेच्नु परेपछि वैदेशिक रोजगारीले अब खुसी होइन पीडा दिने क्रम बढ्दै छ भन्ने पुष्टि हुँदै गएको पीडित बताउँछन्।

स्वदेशमा रोजगारीका अवसर नहुँदा बिदेसिएका युवायुवती विदेशमा मात्र नभई स्वदेशमै म्यानपावर र दलालबाट ठगिने क्रमको समेत अन्त्य हुन सकेको छैन। वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दिनप्रतिदिन सरकारी निकायमा उजुरी गर्ने क्रम बढेपनि डुबेको धन, सम्पत्ति फिर्ता पाउने पीडितको संख्या भने निकै कम छ।

वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्चका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन एकातिर सीप सिकाउन आवश्यक रहेको र अर्कोतर्फ स्थानीय तहबाटै सेवा, सुविधा दिन आवश्यक रहेको बताउँछन्। ‘स्थानीय तहबाट सेवा, सुविधा दिन सक्ने हो भने अहिलेका समस्यामा निकै कमी आउन सक्छ,’ उनले भने, ‘अबदेखि संघ नीति बनाउन, प्रदेश समन्वय र स्थानीय तह कार्यान्वयनमा लाग्नुपर्छ।’

उनले२०७३ चैत २१ देखि सरकारले महिलालाई घरेलु कामदारको रूपमा पठाउन रोक लगाउँदा पनि समस्या आइरहेको बताए। ‘सरकारले जुन उद्देश्यका लागि महिलालाई रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो। त्यसको कुनै औचित्य देखिएन,’ लुइँटेलले भने, ‘समस्या छ भन्दैमा प्रतिबन्ध लगाउने होइन। बरु सुरक्षित राख्ने अन्य उपाय खोजिनु पर्छ।’वैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न किओज फाउन्डेसनको सहयोगमा विभिन्न  कार्यक्रम गरिरहे पनि सुधारका लागि थुप्रै काम गर्न बाँकी रहेको जनमञ्चका अर्का अधिवक्ता कृष्णप्रसाद न्यौपाने बताउँछन्।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउनका लागि १५ हजारलाई निःशुल्क सीप सिकाउन थालेको बताउँछन्। त्यस्तै सुरक्षित आप्रवासन परियोजना (सामी) ले पनि आउँदो चार वर्षसम्म सात हजार युवालाई निःशुल्क रूपमा विभिन्न ट्रेडमा सीप सिकाउने तयारी भइरहेको टिम लिडर सीता घिमिरेले जानकारी दिइन्।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार एक सय ठगीका उजुरी परेका छन्। ती उजुरीमा करिब ८० करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ।ती उजुरीमध्ये पीडितले १० करोड रुपैयाँ मात्र क्षतिपूर्ति पाउन सकेका छन्। वैदेशिक रोजगारीको नाममा ठगीमा पर्नेहरूमा सबभन्दा बढी सीप नहुनेहरू भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल बताउँछन्। ‘सीप नहुनेहरू धेरै ठगीमा परेका कारण विभिन्न जिल्लाबाट सीप सिकाउने पहल गरिएको छ,’ उनले भने, ‘६ महिनायता विभागमा पर्ने उजुरी पनि कडाइका साथ कार्यान्वयन गरेर पीडितलाई न्याय दिन थालेका छौं।’

प्रकाशित: ८ मंसिर २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App