१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

फिपीको बुद्धि

रमिते  गाउँमा एउटा बुढो किसान बस्थ्यो। किसानले धेरै भेडा, कुखुरा र एउटा फिपी नामको कुकुर पालेको थियो। उसको नजिकको सहारा नै फिफी थियो। किनकि भेडा पालेर जमिन किन्ने धुनमा उसले बिहे गर्न भुलेको थियो। एक दिन बुढो किसान बिरामी प¥यो। ऊ धेरै दिन ओछयानबाट उठ्न सकेन। किसानले आपूmलाई अब धेरै दिन बाँच्न नसक्ने ठान्दै भेट्न आउने सबैसँग रुन थाल्यो। धेरै टाढाबाट उसका केही आफन्तहरू भेट्न आए तर पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं एकएक ओटा भेडा लिएर फर्किए।

कोही अपरिचित उसलाई हेर्ने बहानामा आउँथे र भेडो लिएर फकिन्थे। यो सबै कुरा फिफीलाई थाहा थियो र बारम्बार बुढालाई भन्थ्यो। तर बुढाले सित्तैँ पाएको सम्पत्तिले शान्ति दिँदैन। कोही कमजोरी छ भनेर उसलाई हेप्नु र आफूलाई फाइदा लिनु सबैभन्दा ठूलो पाप हो भन्दै फिपीलाई सम्झाउँथ्यो। ऊ निकै कमजोरी भइसकेको थियो। एक रात सुत्ने बेलामा बुढो किसानले फिपीलाई आफ्नो सुत्ने कोठामा बोलायो र विगत सम्झायो। किसानले जंगलमा भेडा चराउन जाँदा पिफीलाई पनि सँगै लिएर जान्थ्यो र भेडाको सुरक्षा गर्न सिकाएको थियो। त्यो कुरा पनि सम्झायो।

किसानले भेडा बेचेर धेरै जमिन किनेको थियो। त्यसको पनि रक्षा गर्न फिपीलाई सिकायो। त्यस्तै अन्न उत्पादन गर्न र मिहिनेतको कमाइ उपयोग गर्न पनि फिपीलाई सिकायो। उसले फिपीलाई सानो बाकसमा पैसा राखेर गाडेको जमिन पनि भन्यो। उसले भेडा र जमिनबारे केही अनौठो कुरा भन्दै थियो। त्यत्तिकैमा उसको एक मुठी प्राण फुस्स गयो। हुन त यसअघि उसले फिपीलाई बारम्बार आफ्नो जमिन कुनै गरिब किसानलाई दिनु भनेको थियो। किनकि जमिनलाई किसानले आफ्नो शरीर जस्तै माया र सुरक्षा गर्छन् भनेर ऊ भन्थ्यो। आफ्नो मालिकको सम्झनामा फिपी रातभरि रोइरह्यो।

भोलिपल्ट उज्यालो भयो। बुढो किसानले संसार छाडेपछि भेडाहरूको मालिक फिपी भयो। मध्यान्ह हुँदै थियो। खोरका भेडाहरू खानेकुरा माग्दै कराउन थाले। फिपीले भन्यो, ‘नकराऊ, हाम्रा मालिक बित्नुभयो। म तिमीहरूलाई बोकीबोकी घाँसपानी खुवाउन सक्दिनँ, बरु तिमीहरूको राम्ररी रक्षा गर्न सक्छु। अब पेट भर्न तिमीहरू दिनदिनै जंगल जानुपर्ने छ। जंगल हिँड् अनि पेटभरि खान पाउने छौं। फिपीको कुरा सुनेर भेडाहरू खुसी भए। भेडाको पिठ्यूँमा कुखुरा पनि बसे। सबै जना रमाउँदै टाढाको जंगलतिर लागे।

जंगलमा फिपीले भेडा र कुखुराको राम्ररी सुरक्षा ग-यो। भेडाहरू मीठामीठा घाँस खान पाएर खुसी भए। बेलुका भयो। फिपी, भेडा र कुखुर घर फर्कने तयारी गर्दै थिए। एउटा बलियो बाघ टुप्लुक्क आइपुग्यो। चितुवा र गिद्ध पनि त्यहीँ टुप्लुक्क आए। उनीहरू धेरै दिनदेखि भोकले रनथनिएका थिए। चिल्ला भेडा र कुखुरा देख्दा बाघ, चितुवा र गिद्ध खुसीले छमछमी नाच्न थाले।  फिपी र भेडा घर फर्कन लागे। तर बाघले बाटो छेकेर सुटुक्क फिपीको कानमा भन्यो,‘फिपी, म धेरै दिनको भोको छु। मलाई एउटा भेडो खान दे।’ चितुवाले पनि यसै भन्यो। गिद्धले कुखुरा माग्यो। फिपीले सतर्क भएर भन्यो, ‘बाघ दाइ, तपाई बनको राजा हुनुहुन्छ। यी सबै भेडा तपाईले खान पाउनुपर्छ। बरु चितुवा र गिद्धलाई यहाँबाट लखेटिहाल्नुस्। बाघलाई फिपीको  कुरा असाध्य मन प¥यो र उसले खुसी हुँदै चितुवा र गिद्धलाई त्यस जंगलमा कहिल्यै फर्कन नसक्ने गरी लखेट्यो।

त्यसपछि भोको बाघले सबै भेडा आफ्नो जिम्मा लाएर एक्लै घर फर्कन फिपीलाई भन्यो तर बाठो फिपी के मान्थ्यो र ! उसले बाघलाई बुद्धि दिएझँै भन्यो, ‘यस्तो दिउँसै जंगलमा भेडा खाँदा मानिसहरूले देखे भने तपाईँलाई बाँकी राख्ने छैनन्, बरु मसँगै हिँड्नुस्। मध्यराति सबै छिमेकी सुतेको समय खोरमा पसेर छानीछानी भेडा खानुस्। छिमेकीसँग बलियाबलिया भेडा, बाख्रा, गोरु, गाई, सुँगुर छन्, त्यो पनि खानुस्। म कसैलाई भन्दिनँ।’ बाघलाई फिपीको कुरा असाध्य मन प¥यो। खुसी हुँदै बाघ फिपीको अघिअघि भेडाहरू पछिपछि घर फर्किए। साँझ पर्नै लाग्यो।

घर आएपछि फिपीले बाघलाई भन्यो, ‘दाइ, गाउँलेले तपाईलाई देखे भने  लखेट्ने छन् बरु भेडाको खोरमा लुकेर बस्नुस्।’ फिपीको आज्ञा मान्दै बाघ सुटुक्क भेडाको खोरमा पस्यो। फिपीले बलियोसँग बाहिरबाट चुकुल ठोकिदियो  र खोरमा आगो लगाइदिने तयारी ग¥यो। फिपीको त्यो चाल देखेर खोरभित्रको बाघ अतालिन थाल्यो। बाघले रुँदै गुहार माग्न थाल्यो, ‘फिपी, मलाई नमार। म अब आफ्नो स्वार्थका लागि अरूलाई दुःख दिने छैन। म आफ्नै मिहिनेतले पेट भर्छु। कमजोरीमाथि आक्रमण गर्दिनँ। म आजैदेखि गल्तीहरू सुधार्छु। मलाई अवसर देऊ। मलाई नयाँ जीवन देऊ।’

फिपीले रिसाउँदै भन्यो, ‘तिमी जंगलमा आफूलाई राजा ठान्छौ र अरू कसैलाई आनन्दले बस्न दिँदैनौं। के तिमीले जन्मदै जंगल लिएर आएका हौ र तिम्रो मात्रै हो ? संसारमा तिमी मात्र हौ ? अरू प्राणी छैनन् ? पृथ्वी सबैको साझा थलो हो। सबै प्राणी आनन्दले बस्न पाउनुपर्छ। जंगल, जमिन र जलको सबैले बराबर उपयोग गर्न पाउनु सबै प्राणीको अधिकार हो। जंगलको सबैभन्दा बलिया छौं तिमी। त्यसैले तिमीले सबै प्राणीलाई मिलाएर राख्नुपर्ने हो। कमजोरीमाथि आक्रमण गरेर आफ्नो स्वार्थ पूरा गर्ने होइन। तिमी भेडालाई मारेर खान्छौं र आफ्नो पेट भर्छौ। के भेडाको पनि तिम्रो जस्तै शरीर होइन ? तिमीलाई दुख्दा भेडालाई दुख्दैन ? निर्धाको पनि त आफ्नो जस्तै जीवन हो नि।’

बाघले  त्रास र लाजले फिपी र भेडातिर हेर्न सकेन। फिपीले आफूलाई सम्हाल्न पनि सकेन र बाघको रुवाइ ख्यालै नगरी खोरमा आगो लगाइदियो। बाघ आत्तिएर रुन थाल्यो। उसले भन्यो, ‘म सुध्रिन्छु। मलाई बचाऊ र मेरा नयाँ जीवन देऊ।’ उसले यही वाक्य दोहो¥याइरह्यो। फिपीको घरमा आगलागी भएको देखेर गरेर छिमेकी जम्मा भए। खोरमा दन्केको आगो पनि निभाए। बाघको आधा शरीर जलेको थियो।

छिमेकीले फिपीलाई सम्झायो, ‘असल शिक्षाको अभावमा धेरैले गल्ती गर्छन्। त्यसैले सजाएभन्दा सुध्रने अवसर दिनु राम्रो हो। संसारका सबैभन्दा बुद्धिमान् मानिसहरूलाई पनि सुध्रने अवसर र गल्तीमा ठूला सजाय दिइन्छ। त्यसैले बाघलाई सुध्रने अवसर देऊ र तिमीले गरेको गल्तीको सजाए स्वीकार।’

फिपी छिमेकीको कुरामा सहमत भयो। जलेको शरीर निको भएपछि सबैसँग मिलेर बस्न बाघ जंगल फर्कने भयो। फिपीले बाघको उपचार गरिदिने भयो। बाघले नयाँ जीवन पायो। रात चम्किँदै गयो। छिमेकीहरू आआफ्नो घर गए। भोलिदेखि ढुक्क भएर भेडाहरू जंगलमा चर्न जाने भए। बुझ्यौ भाइबहिनी हो, आफ्नो स्वार्थ पूरा गर्न कसैलाई दुःख दिनु ठूलो अपराध रहेछ। अनि कसैलाई सजाय दिनुभन्दा पहिला सुध्रने अवसर दिनु पनि मानिसको कर्तव्य रहेछ।

प्रकाशित: ७ मंसिर २०७६ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App