१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक दिन कैद फैसला

फाइल तस्बिर

काठमाडौं - अदालतले फौजदारी मुद्दाको फैसलामा दोषीलाई कति वर्ष कैद सजाय सुनाउला ? एक वर्ष, दुई वर्ष, पाँच वर्ष अथवा सोभन्दा माथि। अदालतले गर्ने फैसलमा तपाइंले यसरी नै अनुमान लगाउनुभयो भने त्यो गलत हुन सक्छ। पाटन उच्च अदालतले केही दिनअघि एउटा रोचक फैसला ग-यो, जुन फैसलाको कैद सजाय सुन्दा तपाइंलाई पक्कै अचम्म लाग्छ। बैंकिङ कसुरको एक मुद्दामा कारबाहीमा परेका एकजनालाई उच्च अदालतले मात्रै एक दिनको कैद सजाय सुनाएको छ। सायद यस्तो फैसला न्यायाधीशले पनि बिरलै गर्छन् होला। यो सजाय कानुनविपरीत भने होइन।

सामान्यतः फौजदारी मुद्दामा यसरी एक दिनको फैसला हुँदैन। अति नरम कारबाहीमा परेका दोषीले मात्रै यसरी उम्कन पाउँछन्। यो फैसला गत कात्तिक १७ गतेको हो। अदालतले बैंकिङ कसुर मुद्दामा सुजनकुमार बुढाथोकीलाई एक दिनको कैद र चार लाख जरिवाना तिराएको हो। फैसलापछि दोषी बुढाथोकीलाई एक दिन कैदका लागि नक्खु कारागारमा लगिएको थियो। अदालतले एक दिनको मात्रै कैद गरेको फैसला देखेर कारागार कार्यालयका प्रमुख सुरेन्द्र पौडेल पनि अच्चममा परे। जागिरका सिलसिलामा विभिन्न ठाउँका कारागार कार्यालयमा बसेर अनुभव बटुलेका पौडेलले यस्तोखाले सजायको फैसला पहिलोपटक देखेका थिए।

अदालतले बैकिङ कसुर मुद्दामा सुजनकुमार बुढाथोकीलाई एक दिनको कैद र चार लाख जरिवाना तिराएको छ।

‘हुन त कानुनअनुसार यस्तो फैसला गर्न नहुने होइन तर एकदिनको सजाय देख्दा मलाई एकदम अनौंठो लाग्यो,’ उनले सुनाए, ‘आखिर कारागारमा एकदिनको कैदी भए पनि व्यक्तिको छवि र कागजमा दाग त लागिहाल्छ तर यस्ता फैसला अदालतले गर्छ भन्ने उदाहरण यही मुद्दाबाट थाहा पाएँ।’ उनका अनुसार नक्खु कारागारमा २१ वर्षसम्म कैदसजायका कैदीहरू छन्। तीमध्ये सबैभन्दा बढी लागुऔषधमा संलग्न भएका कैदीहरू छन्। लागुऔषध मुद्दाका कैदीहरूलाई १५ वर्षसम्मको सजाय हुने व्यवस्था छ।

नक्खु कारागारमा एक हजार पाँच सयले कैद खेपिरहेका छन्। कारागार चलान हुनेमध्ये ७० प्रतिशतभन्दा बढी कैदी लागुऔषध कारोबार र ओसारपसारमा संलग्न रहेको केन्द्रीय कारागारले जनाएको छ। काराकारका शाखा अधिकृत कमलप्रसाद पाण्डेले लागुऔषधसम्बन्धी कारोबारमा बढी विदेशीहरू मुछिएको बताए। लागूऔषध कारोबार गरेपछि १५ वर्षसम्मको जेलसजाय र पाँच लाख जरिबानासहित थुनामा राखिएको उनको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App