१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

वैदेशिक रोजगारीका राम्रा–नराम्रा पक्ष

देविका केसी
वैदेशिक रोजगारी आज लाखौं नेपाली युवाको रोजाइमा परेको छ। शिक्षित तथा अर्धशिक्षित युवा भारतदेखि खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका तथा युरोपियन मुलुकसम्म आफ्नो श्रम बेचिरहेका छन्। यसरी विदेशी भूमिमा आफ्नो श्रम बेच्न कसैको रहर होला त कसैको बाध्यता।

उच्च शिक्षित युवा देशमा आफ्नो योग्यताअनुरूप रोजगारी नपाउँदा निराश भएर विदेशिएका छन् त कम पढेलेखेका युवा पनि त्यही जीविकोपार्जनकै समस्याले देशबाहिर जान बाध्य भएका छन्, परिवारबाट टाढिएका छन्। सरकारले पछिल्लोपटक वैदेशिक रोजगारीका लागि १०८ देशमा जाने अनुमति दिएको छ। जसबाट नेपाली युवालाई वैदेशिक रोजगारीमा गई पैसा कमाएर आफ्नो जीवनस्तर सुधार गर्न सहयोग पुगेको छ।

जसले परिवारको सुन्दर भविष्यका लागि भनेर विदेशमा खाईनखाई कमाएका सबै पैसा घरमा पठाउँछन्, तर श्रीमान्को त्यो त्याग र तपस्या नबुझी सबै कुम्लयाएर जब श्रीमती अर्कैसँग जान्छन्, तब ती पुरुषलाई कति पीडा होला ?

यसरी विदेशिएका युवाको इच्छा पनि सबैको एकनास नभई फरक–फरक हुने गरेको पाइन्छ। कतिपय युवा भारत तथा खाडी मुलुक गएर केही वर्ष दुःख गर्ने र पछि आफ्नो देश फर्केर आरामले बस्ने मनसायले विदेशिएका छन् भने युरोप, अमेरिका तथा अस्टे«लिया गएकाको उद्देश्य भने पछि सपरिवार उतै बसोबास गर्ने रहेको पाइन्छ।

पढ्ने बहानामा विदेशिएका धेरैजसो युवाको उद्देश्य पनि विदेशमै बस्ने रहेको पाइन्छ। धेरै कमको मात्र हुन्छ– पछि नेपालमै फर्केर विदेशमा आर्जन गरेको शिक्षा आफ्नो देश विकासमा लगाउने र केही उदाहरणीय काम गर्ने। यो वर्गमा  सम्भ्रान्त परिवारका छोराछोरी पर्छन्, जसका लागि आवश्यक पढाइ खर्च नेपाल (घर)बाटै पठाइन्छ। निचोडमा के बुझ्न सकिन्छ भने विदेशिनुको प्रमुख कारण एउटा गरिबी र अर्काे विदेश मोह।

विभिन्न उद्देश्यसाथ विदेशिएका सबैका चाहना, इच्छा भने पूरा भएको पाइँदैन। कोही दलाल तथा म्यानपावर कम्पनीको ठगीको फन्दामा परेर गन्तव्यमै नपुगी फर्किन बाध्य हुन्छन् त कोही एउटा काम भनेर गयो अर्कै काम गर्न विवश बन्छन्। भनेको जति पैसा नदिने, चरम श्रम शोषण गर्ने, शारीरिक तथा मानसिक पीडा दिने, महिला बलात्कृत हुनेजस्ता अनेक समस्यामा उनीहरू पर्छन्।

कतिपय नेपाली महिला बेचबिखनमा परेर कालकोठरीमा समेत पुगेका छन्। घरेलु कामदारका रूपमा गएका महिला चरम यातना तथा घरेलु हिंसाको सिकार बन्छन्। यस क्रममा कतिपय महिलाको त ज्यानै समेत गएको छ भने कोही विक्षिप्त अवस्थामा नेपाल फर्काइएका छन्। कोही भयानक यौन तथा अन्य रोगबाट ग्रस्त बनेर आएका छन् त कतिपय महिला गर्भवतीसमेत बनेर स्वदेश फर्किएका छन्। त्यति मात्र होइन, कतिपय महिलाको विदेशमै हत्या हुने गरेका घटनासमेत हामी प्रशस्त मात्रामा सुन्छौं।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुुुुसार गत आर्थिक वर्षमा ७३० पुरुष र २३ महिलाले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका छन्। यसअघि आर्थिक वर्ष २०७४÷२०७५ मा पनि वैदेशिक रोजागारीमा गएका ८ सय पुरुष र २१  महिलाको मृत्यु भएको थियो। यसरी हेर्दा गत वर्ष विदेशमा मृत्यु हुने पुरुषको संख्या घटे पनि महिला कामदारको संख्या बढेको देखिन्छ।

तथ्यांक भन्छ– रोजगारीका लागि विदेशिएका युवामध्ये बितेका १० वर्षमा ७ हजार युवा बाकसमा फर्किए। यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा सरकारले ९ सय ८१ जनालाई सीमा नाकाबाट उद्धार गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यसमा अधिकतर नेपाल–भारत सीमानबाट उद्धार गरिएका छन्।

यसरी विदेशिएका अथवा वैदेशिक रोजगारीमा गएका युवक÷युवतीमध्ये कतिका सपना साकार पनि भएका होलान् भने कतिका भविष्य भताभुंग पनि भएका होलान् वा भएको हामीले देखेका छौं। केही भाग्यमानी नेपाली वैदेशिक रोजगारीमा गएर राम्रो बन्दोबस्त गर्न सफल भएका छन्, जसले आफ्नो आर्थिक स्तर सुधार गरेका छन्, सहर–बजारमा घरघडेरी जोडेका छन्, विदेशमा कमाएको पैसाले नेपालमा व्यापार–व्यवसाय गरेका छन्, छोराछोरीलाई राम्रा स्कुलमा पढाएका छन्, तर कतिपयको पीडा अर्कै छ।

जीवनको ऊर्जाशील उमेरमा विदेशिएका नेपाली युवाले सिकेका विदेशका विकृति तथा छाडा संस्कार पनि उनीहरू घर फर्किंदा सँगसँगै स्वदेश भित्रिएका छन्। लामो समय टाढा बस्दा आपसी माया, ममता तथा सद्भाव कम हुन गई परिवारै विखण्डन भएको हामीले देखिरहेका छौं। अन्तमा न वर्षौं विदेशमा दुःख गरेर कमाएको पैसा हुन्छ, न परिवार !

कतिपय अवस्थामा वैवाहिक जीवनमा बाँधिनेबित्तिकै विदेशिन बाध्य युवाका श्रीमती श्रीमान्बाट टाढा भएकै कारण परपुरुषसँग सम्बन्ध बढाएको पाइन्छ भने शारीरिक एवं भौतिक आवश्यकता पूर्तिकै लागि अरूसँग नजिकिँदा समाज र परिवारले गरेका नकारात्मक टिप्पणीका कारण कोही दोस्रो विवाह नै गर्न पनि बाध्य हुन्छन्। कतिपय महिलाले इज्जतकै डरले आत्महत्या समेत गर्ने गरेका घटना हाम्रो समाजमा पाइन्छन्। यस्तै कुनै श्रीमतीले भने श्रीमान्ले कमाएका सबै पैसा परपुरुषसँग लागेर उडाएको अथवा सबै विदेशी कमाइ कुम्ल्याएर अर्कैसँग हिँड्ने गरेका घटना पनि हामी सुन्छौं÷देख्छौं। जसले परिवारको सुन्दर भविष्यका लागि भनेर विदेशमा खाईनखाई कमाएका सबै पैसा घरमा पठाउँछन्, तर श्रीमान्को त्यो त्याग र तपस्या नबुझी सबै लिएर जब श्रीमती अर्कैसँग जान्छन्, तब ती पुरुषलाई कति अन्याय र पीडा होला, कल्पना गर्नसमेत कठिन हुन्छ।

तसर्थ वैदेशिक रोजगारीका नकारात्मक पक्षका सवालमा विशेष जागरुक हुन जरुरी देखिन्छ। वैदेशिक रोजगारी भन्नेबित्तिकै कसैलाई आँखा चिम्लेर विश्वास गरिनहालौं। वैदेशिक रोजगारीमा जानुभन्दा पहिला सबै कुराको जानकारी लिनुपर्छ। आफू कुन कामका लागि विदेश जान लागेको हो, त्यो कामसम्बन्धी तालिम लिने ताकि कसैले तिम्रो काम राम्रो भएन, म भनेजति पारिश्रमिक दिन सक्दिनँ नभनोस्। ठग, दलाल र म्यानपावर कम्पनीको ठगी र धोकामा नपर्न पहिले नै तिनका बारे विस्तृत जानकारी लिनुपर्छ। यस्तै दिदीबहिनीहरूलाई के सुझाव छ भने सकेसम्म घरेलु कामदारका लागि विदेश नजानुहोस्, जाने भए पनि राम्रोसँग बुझेर मात्र जानुहोस्। महिला तथा बालबालिका बेचबिखमा पर्ने सम्भावना बढी भएकाले कसैले वैदेशिक रोजगारीमा पठाउँछु भन्यो भने कतै मलाई विदेशमा बेच्न लान खोजेको त होइन भनेर सतर्कता अपनाउनुहोस्। कसैले तपाईंलाई भारतको बाटोबाट विदेश लान्छु भन्यो भने बुझ्नुहोस्, उसले तपाईंलाई अवैध रूपमा लान खोज्दै छ।

यसैगरी श्रीमान्–श्रीमतीको सम्बन्धमा इमान्दार बन्नुहोस्। तपार्इंको श्रीमान् वा श्रीमती तपाईं तथा तपाईंहरूको सन्तानको उज्ज्वल भविष्यका लागि वैदेशिक रोजगारीमा गएको छ भने उसको दुःख र मिहिनेतको सम्मान गर्नुहोस्, टाढैबाट भए पनि माया ममता दिन कन्जुस्याइँ नगर्नुहोस्। श्रीमान् र श्रीमतीको सम्बन्ध भनेको विश्वासको सम्बन्ध हो। तर कसैले कसैलाई अन्धभक्त भएर विश्वास गर्नु पनि ठीक होइन। थोरै शंका पनि राख्नुपर्छ। तपाईंको कमाइ सदुपयोग गर्न चलाखीपूर्वक व्यवस्थापन गर्नुहोस्। यी कुराहरूमा ध्यान दिने हो भने वैदेशिक रोजगारीका कारण निम्तिने समस्या समाधान भई आफू र आफ्नो परिवारलाई खुसी, सुखी र समृद्ध बनाउन सकिन्छ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App