२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लेस्टरसँग जित खोज्दै पोर्टो

पेरिस(एएफपी)– रियाल मड्रिड र बोरुसिया डर्टमन्डले समूह ‘एफ’ बाट शीर्ष दुई स्थान पक्का गरिसकेको अवस्थामा च्याम्पियन्स लिग अन्तिम १६ का बाँकी दुई स्थानका लागि दुईपटकका पूर्व विजेता एफसी पोर्टो र सेभियाले बुधबार आ–आफ्नो समूहमा प्रतिस्पर्धा गर्नेछन्।

१९८७ र २००४ मा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि उचालेको पोर्चुगाली महारथी पोर्टोले समूह ‘जी’ को अन्तिम खेलमा बुधबार इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई निम्त्याउने छ । समूहको अर्को खेल एफसी कोपेनहेगन र क्लब ब्रुगबीच हुनेछ ।

प्रिमियर लिगको उपाधि रक्षा अभियानमा अत्यन्तै कमजोर देखिए पनि लेस्टरले च्याम्पियन्स लिगको पहिलो सिजनमा भने उत्कृष्ट सुरुआत गरेको छ । एक खेल बाँकी रहँदै टोलीले समूहको शीर्ष स्थानमा रहेर नकआउट चरण पक्का गरिसकेको छ । जसले गर्दा टोलीले अन्तिम १६ मा बार्सिलोना र एट्लेटिको मड्रिडविरुद्धको सम्भावित भेट पनि टारेको छ । समूहको अन्तिम चरणको खेलका लागि लेस्टर पूर्ण रूपमा दबाबमुक्त हुनेछ । जबकि तेस्रो स्थानको कोपेनहेगनभन्दा २ अंकले मात्र माथि रहेको पोर्टोको अवस्था ठीक विपरीत छ । कोपेनहेगनले अहिलेसम्म एउटै अंक बटुल्न नसकेको क्लब ब्रुगको भ्रमण गर्ने भएकाले पोर्टोसामु बुधबार जित्नैपर्ने दबाब हुनेछ । जितले पोर्टोलाई अन्तिम १६ पु¥याउने छ भने अन्य कुनै पनि खालको नतिजाले कोपेनहेगनका लागि ढोका खोल्न सक्छ । कोपेनहेगन हेड टु हेडमा अवे गोलको आधारमा पोर्टोभन्दा माथि छ ।

शनिबार किशोर खेलाडी रुई पेड्रोले ९५ औं मिनेटमा गोल गरेपछि पोर्टोले लगातार पाँच बराबरी खेलको यात्रा टुंग्याएको थियो। जसबाट क्लबको अहिलेसम्मकै खराब ५ सय २० मिनेटसम्म गोल गर्न नसकेको यात्रामा पनि पूर्णविराम लाग्यो । यसले गर्दा पोर्टोले लेस्टरलाई घरमा निम्त्याउँदा उच्च मनोबलसाथ मैदान उत्रन पाउनेछ ।

‘हामीले सप्ताहन्तमा महŒवपूर्ण ३ अंक हासिल ग¥यौं । जसले हामीलाई आफूमाथि विश्वास गर्न सक्ने आधार दिएको छ । हामी ठाडो शीर गरेर लेस्टरलाई मैदानमा निम्त्याउने छौं,’ पोर्टोका प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले भने, ‘मेरो विचारमा त्यसअघिका खेलमा पनि नतिजाले हाम्रो स्तरलाई न्याय गरिरहेको थिएन । हामीले हरेक खेलमा राम्रो प्रदर्शन गरेका थियौं, तर नतिजा हात पार्न असफल भइरहेका थियौं।’

‘हामीसँग धेरै विकल्प छैनन् । ब्रुगको भ्रमणमा जाँदा स्पष्ट जित हाम्रो एकमात्र आवश्यकता हो । त्यसपछि मात्र हामी लेस्टरले पोर्टोलाई रोकेको नतिजा आओस् भनेर कामना गर्ने अवस्थामा हुनेछौं,’ कोपेनहेगनका स्विडिस अन्तर्राष्ट्रिय खेलाडी इरिक योहान्सनले भने ।

घरेलु लिगमा जारी सिजन अपराजित कोपेनहेगन डेनमार्क लिगमा शनिबार ११ अंकको शीर्षता कायम राख्न सफल भइसकेको छ । शनिबार टोलीले रेन्डर्समाथि १–० को नतिजा निकालेको थियो । जुन घरेलु लिगमा टोलीको लगातार आठौं जित थियो ।

तीनपटकको युरोपा लिग च्याम्पियन सेभिया समूह ‘एच’ बाट युभेन्ट्ससँगै अगाडि बढ्ने मुख्य दाबेदार हो । एक खेल बाँकी रहँदा ११ अंकसाथ शीर्ष स्थानको युभेन्ट्सले तेस्रो स्थानको लियोन (७) माथि ४ अंकको अग्रता हासिल गरेर यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ । जहाँ लियोनले १० अंक जोडेको सेभियालाई उछिन्न बुधबार कम्तीमा दुई गोल अन्तरमा स्पेनिस टोलीमाथि विजय हािसल गर्न सक्नुपर्नेछ ।

च्याम्पियन्स लिग खेलका लागि लियोनको तयारी शनिबार घरेलु लिगअन्तर्गत मेट्जविरुद्धको खेलका कारण नराम्ररी प्रभावित भयो । गोलकिपर एन्थोनी लोपेजमाथि ३१ औं मिनेटमा समर्थकले बारुद प्रहार गरेपछि खेल स्थगित गरिएको थियो । बारुद प्रहारबाट घाइते भएका पोर्चुगलका २६ वर्षे अन्तर्राष्ट्रिय खेलाडीलाई तत्काल अस्पताल पु¥याउनुपरेको थियो । उनलाई ‘ट्रमाटिक हियरिङ लस’ दुवै कान नसुन्ने समस्या भएको थियो । तनावका कारण भएको त्यो समस्या चाँडै पूर्ण रूपमा निको हुने बताइएको छ । तथापि बुधबारको खेलमा भने उनको उपस्थिति अझै दुविधामै छ । तर सेभियाससँग पनि बुधबार प्रतिबन्धका कारण प्रशिक्षक जर्ज साम्पाओलीको साथ हुने छैन । साम्पाओली टचलाइन प्रतिबन्धमा छन् । साथमा फ्रान्सका अघिल्ला तीनै भ्रमणमा सेभियाले पराजय भोगेको थियो । जसले लियोनको मनोबल उकास्न सहयोग गर्न सक्छ ।

सप्ताहन्तमा ग्रानाडा भ्रमणमा निस्किँदा कप्तान भिसेन्टे इबोराको प्रदर्शन औसतभन्दा पनि तलको रहेका कारण सेभियाको खराब अवे फर्मले निरन्तरता पायो ।

‘पक्कै पनि त्यो हाम्रो राम्रो खेल थिएन । हामीले त्यहाँ राम्रो प्रदर्शन गर्न सकेका थिएनौं । त्यसको मूल्य चुकाउनुप¥यो,’ इबोराले भने, ‘मेरो विचारमा लियोनसँगको खेलको तनाबका कारण हामी त्यो खेलमा केन्द्रित हुन सकिरहेका थिएनौं । अब हामी लियोनसँगकै खेलका लागि तयार छौं । हामीले त्यो खेल र नतिजा विर्सेर यो खेलमा केन्द्रित हुनुपर्छ । कुनै पनि मुल्यमा अन्तिम १६ मा स्थान पक्का गर्नु हाम्रो आवस्यकता हो ।’

प्रशिक्षक प्रतिवन्धमा रहने खेलमा सेभियाले चोटका कारण आराममा रहँदै आएका समिर नासरीलाई मैदानमा निम्त्याउने सम्भावना छ । युभेन्ट्सले टुरिनमा शून्य अंकसाथ समूहको पुछारमा रहेको डिनामो जाग्रेबलाई निम्त्याउँदा शीर्ष स्थान पक्का गर्ने लक्ष्य राख्नेछ ।

डर्टमन्डले समूह ‘एफ’ को खेलका लागि आफूसँगै नकआउट चरण प्रवेश गरिसकेको रियाल मड्रिडको सान्टियागो बेर्नाबेउ भ्रमण गर्दा समूह चरणमा सर्वाधिक २० गोल गर्ने म्यानचेस्टर युनाइटेड र रियालको कीर्तिमान भेट्टाउने लक्ष्य राख्नेछ । डर्टमन्डले १९ गोल गरिसकेको छ । बराबरी वा जितले डर्टमन्डलाई विजेताको हैसियत दिनेछ भने रियालले जिते जिनेदिन जिदानको स्पेनिस टोली समूह विजेता बन्नेछ ।

यसैगरी समूह ‘इ’ मा उपविजेताको स्थान पक्का गरिसकेको बायर लेभरकुसनले लियोनार्दो जार्डिमको शीर्ष टोली मोनाकोलाई निम्त्याउने छ । जबकि टोटेनह्यामले भने वेम्बलीमा सिएसकेए मस्कोलाई निम्त्याउँदा युरोपा लिग खेल्ने सम्भावना जोगाउन हारबाट जोगिनुपर्नेछ । समूहमा ११ अंकसाथ मोनाको शीर्ष स्थानमा रहँदा लेभरकुसन ७ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटेनह्यामले ४ अंक जोडेको छ भने पुछारको सिएसकेए मस्कोको खातामा ३ अंक छ।

प्रकाशित: २२ मंसिर २०७३ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App