१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेले १४ बिन्दु गुमाउँदा सवा एक अर्बको सेयर किनबेच

काठमाडौं – केही दिनयता प्रवृत्तिहीन बनेको पुँजीबजारमा गत साता नेप्सेले १४.२ बिन्दुगुमाएको छ। आइतबार ११४६.१७बिन्दुमा खुलेको बजार बिहीबार ११३१.९७मा बन्द भएको छ। साताको पहिलो र अन्तिम दिन तुलनात्मक रुपमा बढी बिन्दुले ओरालो लागेको नेप्से बीचका तीन दिनभने स्थिरप्रायः रह्यो।

बजारमा उत्साह जगाउने कुनै पनि गतिविधि नहुँदा लगानीकर्ता यति बेला ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। सेयर होल्ड गरेका लगानीकर्ता बजार अब धेरै तल नझर्ने अनुमान गर्दै मूल्य घटाएर बिक्री गर्न अनिच्छुक देखिएका छन्। अर्कातिर खरिद गर्न चाहनेले पनि बजारको स्थिर अवस्था अझै केही समय लम्बिने अनुमान गर्दै थप लगानीका लागि मौका पर्खिरहेका छन्।

लगानीकर्ता सरकारबाट सेयर बजारलाई सम्बोधनको प्रतीक्षामा छन्। यसले गर्दा कारोबार रकम पनि खुम्चिएको अवस्था छ। गत साता जम्मा एक अर्ब २३ करोड २२ लाख ३१ हजार दुई सय ५२ रुपैयाँको सेयर किनबेच भएको छ। यो विगतको साप्ताहिक कारोबार रकमभन्दा धेरै नै कम हो। गत साता २१ हजार एक सय ८५ कारोबारबाट ४६ लाख ५० हजार दुई सय ५८ कित्ता सेयर खरिदबिक्री भए।

सेयर होल्ड गरेका लगानीकर्ता बजार अब धेरै तल नझर्ने अनुमान गर्दै मूल्य घटाएर बिक्री गर्न अनिच्छुक देखिएका छन्। खरिद गर्न चाहनेले पनि बजारको स्थिर अवस्था अझै केही समय लम्बिने अनुमान गर्दै थप लगानीका लागि मौका पर्खिरहेका छन्।

कारोबार रकममा प्रभु बैंक अगाडि
गत साता लगानीकर्ताको आकर्षण प्रभु बैंकमा तुलनात्मक रुपमा बढी देखियो। गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर लाभांशबापत वितरणको प्रस्ताव गरेको यस बैंकको साताभरिमा १४ करोड ७२ लाखभन्दा बढीको कारोबार भयो।

यो कुल कारोबार रकमको झन्डै १२ प्रतिशत हो। कारोबार रकमका आधारमा गत साता एनएमबी बैंक, नबिल बैंक, प्रभु बैंक प्रमोटर सेयर र नेपाल बैंक क्रमशः दोस्रोदेखि पाँचौंसम्मको स्थानमा देखिए। साल्ट ट्रेडिङ कर्पोरेसन, चिलिमे हाइड्रोपावर, एभरेस्ट बैंक, कृषि विकास बैंक र एनआइसी एसिया बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्।

किनबेच भएको सेयर संख्याका आधारमा पनि प्रभु बैंक नै पहिलो स्थानमा छ। यस बैंकको पाँच लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ। यस आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र नेपाल बैंक छन्। कारोबार संख्याका आधारमा भने रसुवागढी हाइड्रोपावर एक हजार चार सय ९९ कारोबारसहित पहिलो स्थानमा छ भने सान्जेन जलविद्युत् र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

मर्जरपछि कारोबार खुलेको एनएमबी बैंकको एक दिनमै उच्च परिमाणमा कारोबार भएको छ। मर्जरका कारण लामो समयसम्म रोकिएको यस बैंकको कारोबार बिहीबारमात्रै खुलेको थियो। सोही दिन यस बैंकका तीन लाख २८ हजार एक सय ५१ कित्ता सेयर११ करोड २६ लाख ४३ हजार दुई सय ७३ रुपैयाँमा खरिदबिक्री भए। एनएमबी बैंकसँग मर्ज भएको ओम डेभलप्मेन्ट बैंकका सेयरधनीले गतिलो मुनाफा भएपछि त्यसलाई बुक गर्न सेयर बेचेको अनुमान सेयर बजारका विज्ञले गरेका छन्।

प्राविधिक विश्लेषण
गत साता पाँच दिन कारोबार भएकोमा पहिलो र अन्तिम दिन लामो शरीर भएका राता महिनबत्ती बने भने बीचका तीन दिन डोजी प्रकृतिका महिनबत्ती बनेको नेप्सको दैनिक चार्टले देखाएको छ। गत एक महिनादेखि नै नेप्से ११२४ देखि ११५० बिन्द’बीचमा गतिशील देखिएको छ। यसले बजार प्रवृत्तिहीन अवस्थामा रहेको देखाउँछ। महिनबत्ती विश्लेषणले बजारको आगामी दिशाबारे स्पष्ट संकेत गर्न सकेको छैन।

मुभिङ एभरेजका आधारमा हेर्दा यति बेला सात दिने मुभिङ एभरेज रेखा २१ दिने मुभिङ एभरेज रेखाभन्दा माथि गतिशील छ। तर पछिल्लो दिन यी दुई रेखाको दूरी क्रमशः घट्दै गइरहेको छ। यसले बजारमा सुधारको संकेत कमजोर बनेको देखाउँछ। सात दिने रेखाले २१ दिने रेखालाई माथिबाट काटेर तल झरेमा बजार थप घट्न सक्ने सेयर बजारका प्राविधिक विश्लेषक औंल्याउँछन्।

बोलिङगर ब्यान्डमा नेप्से यति बेला मध्य रेखाको मुनि गतिशील छ। केही सयमयता एमएसिडीमा ‘किन्ने’ संकेत देखिएको छ। तर पछिल्लो समय एमएसिडी रेखा र सिग्नल रेखाको दूरी घट्दै गइरहेकाले ‘किन्ने’ संकेत क्रमशः कम्जोर बन्दै गएको छ। आरएसआई ३९.२ मा झरेको छ। यसले बजारमा सेयर आपूर्ति बढ्न थालेको संकेत गर्छ। आरएसआई ३० भन्दा मुनि झरेमा सेयरको आपूर्ति उच्च भएको विश्लेषण गरिन्छ भने ८० भन्दा माथि गएमा माग उच्च भएको अर्थ लाग्छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App