१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मूल्य समायोजनपछि उदयपुर सिमेन्टको बिक्री बढ्यो

उदयपुर सिमेन्ट उद्योगको मुख्य प्रवेशद्वार। तस्विरः महेश्वर

उदयपुर– गैंडा सिमेन्टको बिक्री ह्वात्तै बढेको छ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन रहेको सिमेन्टले मूल्य समायोजन गरेपछि बिक्री बढेको जनाएको छ। पूर्ण सरकारी स्वमित्व रहेको सिमेन्ट निजी क्षेत्रका उत्पादन भन्दा गुणस्तरीय मानिन्छ। 

उद्योग सञ्चालन समिति (बोर्ड) बैठकले गत शुक्रबारदेखि लागू हुनेगरी प्रतिबोरा २५ रुपैयाँ घटाउँदै गैंडाको मूल्य समायोजन गरेको थियो। गत भदौमा १ महिनाका लागि प्रतिबोरा २५ रुपैंया विक्रेतालाई ‘बोनस’ वापत दिने निर्णय गरेकै मूल्य समायोजन गर्दा बिक्री बढेको उद्योगको भनाइ छ। 

उद्योगका महाप्रवन्धक (जिएम) नवलकिशोर साहले २५ रुपैयाँ घटाएको जनाकारी दिए। ‘पहिले पनि प्रतिबोरा २५ रुपैंया बोनसवापत छुट गरेका थियौं तर, यसले डिलरलाई मात्र फाइदा पुगेछ’ जिएम साहले भने ‘त्यो छुटले बिक्रीमा कुनै प्रभाव नदेखिएकाले सोझै ग्राहकलाई फाइदा पुगोस् भनेर मूल्य समायोजन गरिदियौं।’

जिएम साहले मूल्य समायोजनपछि सिमेन्ट बिक्री बढ्न थालेको बताए। शुक्रबारको निर्णय बाहिरिएदेखि नै बिक्रि बढेको र आइतबार यता दोब्बरसम्म बिक्री बढेको छ। सरदर दैनिक ५ हजार बोरा बिक्री हुने सिमेन्ट मूल्य समायोजनयता १० देखि १२ हजार बोरासम्म बिक्न थालेको उनले बताए।

‘निजी सिमेन्टको गुणस्तर राम्रो नभए पनि सस्तो भएकै कारण गैंडाको बजार प्रभाव परेको महसुश भयो’ जिएम साहले भने ‘त्यसैले हामीले पनि बजार प्रतिस्पर्धाकै लागि मूल्य समायोजन गरेका हौं।’ अहिलेका ग्राहकलाई गुणस्तरभन्दा पनि सस्तो चाहिएको देखेर मूल्य समायोजन गर्नु परेको  उद्योगले जनाएको छ।

यसअघि ९ सय ५० रुपैंयासम्ममा बिक्री हुने गरेको गैंडाको मूल्य समायोजनअघिसम्म ८ सय ३ रुपैंया प्रतिबोरा थियो। समायोजनपछि ७ सय ७८ रुपैंया कायम भएको छ। 

उद्योगका उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णका अनुसार दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले अहिले सरदर ७ सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको छ। चालु वर्ष ३२ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगले लिए अनुसार काम भइरहेको र इन्जिन÷उपकरणमा समस्या नआए सहजै लक्ष्य प्राप्त हुने जिएम साहको विश्वास छ । 

 

 

प्रकाशित: २० कार्तिक २०७६ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App