१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धपेडीमा काम नगर्न प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको सुझाव

फाइल फोटाे

ताप्लेजुङ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धपेडीपूर्ण काम नगर्न सुझाएका छन्। राष्ट्र र जनताप्रति बढी सम्वेदनशील भएर धपेडीमा काम गरेका कारण प्रधानमन्त्री ओलीको स्वास्थ्यमा प्रभाव परेको भन्दै उनले ओलीलाई दिनको समयमा थप आराम गर्न सुझाव दिएका छन्।

ताप्लेजुङको मिक्वाखोलास्थित खोक्लिङमा आयोजित विद्यालय भवन शिलान्यास सहितका कार्यक्रम लिएर आएका अध्यक्ष तिमल्सिनाले आइतवार साँझ पत्रकार महासंघ ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ओलीको धपेडीप्रति चिन्ता जनाए। ‘उहाँ राष्ट्र र जनताप्रति बफादार भएर राति अबेरसम्म पनि काम गर्ने स्वभाव राख्नु हुन्छ’ प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै तिमल्सिनाले‘ भने अब त्यो धपेडीमा उहाँ रहन हुन्न।’ उनले समृद्ध नेपालको परिकल्पना साकार पार्ने प्रधानमन्त्री ओलीको इच्छाका कारण रात दिन नभनी भेटघाट, योजना र परिकल्पनामा व्यस्त रहँदा शरिरमा अनावश्यक बोझ सृजना हुन पुगेको भन्दै यसलाई बुझिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

समसामयिक बिषयमा समेत प्रकाश पारेका तिमल्सिनाले देशभरका स्थानीय तहले एक वडाबाट अर्को वडा र स्थानीय तहको केन्द्रसम्मको सडक सञ्जाल बाह्रैकाल सञ्चालन हुने तहका बनाउन समेत सुझाए। यातायातको सुगमताले मात्र समृद्धिको सपना साकार पार्न सकिने र त्यसबाट उद्यमशीलता सृजना तथा स्वरोजगार बन्न सकिने भएकोले स्थानीय तहले यसलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो।

यातायातको सुगमता भएमा पर्यटन क्षेत्रमा खुल्ला बजार सृजना हुने भन्दै अध्यक्ष तिमल्सिनाले स्थानीय उत्पादनको बजारीकरण र आफ्नो उत्पादनले आफैं आत्मनिर्भर नेपाली समाज बन्ने बताए। पाथीभरा मन्दिरको दर्शन समेत गरेर फर्किएका उनले पाथीभरा शक्तिपीठको महिमा र गरिमा बताउँदै यहाँको प्राकृतिक सौन्दर्यको थप बजारीकरण जरुरी रहेकोमा जोड दिए। ‘मान्छेले नेपालका फरक–फरक ठाउँबाट सूर्यको पहिलो किरणसँग साक्षात्कार गर्छन्,उनले भने’ पाथीभराबाट गरिएको सूर्योदयको अवलोकन अरुभभन्दा मनमोहक र आनन्दपूर्ण लाग्यो।’ 

अध्यक्ष तिमल्सिनाले मिडिया काउन्सिल बिधयेक सहमतिमै पारित हुने बताए। सहमतिबाटै यो बिधयेक पारित हुनुपर्छ भन्ने आफ्नो मान्यताका कारण लामो समय सम्म आफुले रोकेको बताउँदै उनले सहमतिमै मिडिया काउन्सिल बिधयेक पारित गर्न पत्रकार महासंघसहितका सरोकारवाला निकायसँग गम्भिर छलफलका आधारमा सहमति खोजिने बताए। नेपालको संबिधानलाई बिश्वकै उत्कृष्ट संबिधानको रुपमा चित्रित गर्दै उनले त्यो पुस्तकले मात्र समृद्धि प्राप्त नहुने भन्दै अध्यक्ष तिमल्सिनाले यसको सफल कार्यान्वयनका लागि तीन तहका सरकारले अरु भन्दा बढी सम्बेदनशील बन्नुपर्नेमा जोड दिए। संविधानले व्यवस्था गरे अनुसार नयाँ ऐनको निर्माण तथा पुरानाको संसोधन तथा प्रतिस्थापनका आधारमा यसको कार्यान्वयन जरुरी रहेको उनको भनाई थियो। ‘समृद्ध नेपाल भनेकै जनतालाई परिवर्तनको अनुभूत हुने गरी विकास निर्माणको प्रकृया प्रारम्भ हुनु हो,उनले भने‘बनेका ऐन नियम कार्यान्वयनबाट त्यो परिणाम प्राप्त गर्न सकिन्छ।’

प्रकाशित: १७ कार्तिक २०७६ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App