१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ पर्यटक आफ्नो सामान जाँच गराउँदै। तस्बिर : तस्बिर/हिमनाथ

रसुवा – रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। २०१९ जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा २९ हजार तीन सय १३ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिए पनि सो अनुसारको पर्यटक नआएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ। पहिले आउने जति नै पर्यटक आइरहेको कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताए। ‘राष्ट्रपतिको भ्रमणको असर देखिएको छैन,’ उनले भने, ‘पहिले आउनेभन्दा बढेको देखिएन।’

सडकको दुरावस्थाका कारण नेपाल प्रवेश गरेका केही चिनियाँ पर्यटक टिमुरेसम्म आएर फर्कने गरेको पाइएको उनले बताए। नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन्।

केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांशले नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ। रसुवागढी नाकाबाट ५२ देशका पर्यटक नेपाल आएका छन्। चीन, सार्क राष्ट्रमा अफगानिस्तानबाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन्। यसकारण पनि चिनियाँ पर्यटक बढेका हुन।

नाकाबाट २०१९ को जनवरीमा आठ सय ४२, फेब्रुअरीमा चार सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १४ सय ९१, मेमा ३५ सय ३७, जुनमा ६ हजार ७५ पर्यटक भित्रिएका थिए। यस्तै जुलाइमा ४४ सय चार र अगस्टमा ५३ सय ७५, सेप्टेम्बरमा ४३ सय ३३ र अक्टोबरमा २१ सय ३१ चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। २०१५ मा चिनियाँ पर्यटकमात्र आएका थिए। २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ।

सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ र सन् २०१९ को १० महिनामा २९ हजार तीन सय १३ पर्यटक नेपाल आएका कार्यालयको तथ्यांक छ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो। त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए। यो नाका भएर नेपाल भित्रने पर्यटकमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकिया र अस्ट्रेलियाका छन्।

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांश चिनियाँले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्।

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका छन्। रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन।

सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ।

भिसाको लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए।  विभागको बेबसाइटमा गएर फारम भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फारम धेरै चाँडै भर्न नहुने उनको भनाइ छ। अध्यागमन अधिकृतले कागजात छानबिन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले कियोस्क मेसिन जडान गरेपछि पर्यटकलाई फाराम भर्न सजिलो भएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App