१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
मुख्य समाचार

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी मंगलबार (वैशाख २८) देखि नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ।यो जहाज कमान्ड गर्ने प्रशिक्षक पाइलट अभाव भएपछि गत कात्तिकमा त्रिभुवन विमानस्थलमा 'ग्राउन्डेड' भएको थियो। जब प्रशिक्षक पाइलट तयार भए, तब यसमा प्राविधिक समस्या आयो र पुनः थन्किएको थियो।

'अहिले प्राविधिक समस्या पनि सल्टियो र आफ्नै प्रशिक्षक पाइलट पनि तयार भएपछि वाई१२–ई उडान गर्न तयारी अवस्थामा छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'यो जहाजले तीनवटा आन्तरिक गन्तव्यमा दैनिक एक–एक उडान गर्ने तालिका बनाएका छौं।'

उनका अनुसार वाई१२–ईले वैशाख २८ देखि काठमाडौंबाट भैरहवा, सिमरा र पोखराका लागि दैनिक एक–एक उडान गर्ने छ। ग्राउन्डेड हुनुअघिसम्म यो जहाजले पोखरा र भैरहवाका लागि दैनिक एक–एक उडान गर्थ्यो भने अर्को ठूलो चिनियाँ जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) ले नभ्याएका बेला र प्राविधिक कारण रोकिएको बेला वाई१२–ईले विराटनगर उडान पनि गर्थ्यो।

वाई१२–ईबाट काठमाडौं–पोखरा दुईतर्फी नै १४ जनासम्म यात्रु हुने गरेका थिए। त्यस्तै भैरहवामा पनि सोही संख्यामा यात्रु हुने गर्थे। ६ महिनादेखि जहाज थन्किँदा निगमले लाखौं आम्दानी गुमाइरहेको छ। हालसम्म कति आम्दानी गुम्यो भन्ने हिसाब निकाल्न बाँकी रहेको सम्बद्ध एक अधिकारीले बताए।

वाई१२–ईका लागि निगमले आफ्नै प्रशिक्षक पाइलटमा आङनुरी शेर्पालाई तयार पारेपछि यो जहाज पुनः उडान गर्ने बाटो खुलेको हो। चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडबाट आएका लाओसका प्रशिक्षक पाइलटको कार्यअवधि म्याद सकिएपछि जहाज थन्किएको थियो।

जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने वाई१२–ईलाई उडाउन निगम व्यवस्थापनले लामो समयदेखि प्रयास गरे पनि सफल भएको थिएन। चीनबाट पनि प्रशिक्षक पाइलट ल्याउन नसक्दा थप समस्या थियो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ।

निगमका अनुसार आन्तरिक उडानतर्फका क्याप्टेन शेर्पालाई वाई१२–ईको प्रशिक्षक पाइलट बनाइएको हो। उनलाई यो जहाजको प्रशिक्षक पाइलटको सैद्धान्तिक तालिम हालै अमेरिकाबाट दिलाइएको थियो। उनलाई व्यावहारिक परीक्षाका लागि चीन पठाइएको थियो।

'अब शेर्पाको कमान्डमा अन्य क्याप्टेन र को–पाइलटले वाई१२–ईको उडान तालिम पनि लिन्छन्,' प्रवक्ता शर्माले भने, 'त्यसपछि यो जहाजका लागि विदेशी पाइलट आवश्यक पर्दैनन्।'

वाई१२–ई जहाजले पुनः उडान सुरु गरे पनि निगमलाई फाइदा भने हुनेछैन। निगमले नै तयार पारेको विवरणअनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो।

यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो। यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ। यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो।

चिनियाँ जहाज 'सेतो हात्ती' प्रमाणित भएपछि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने जानकारी गराएको थियो।

अझै तीनथान वाई१२–ई जहाज चीनबाट ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुनेछ। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।

बि७५७ ग्राउन्डेड

सानो जहाजले पुनः उडान गर्न लागे पनि निगमसँग रहेको १ सय ९० सिट क्षमतायुक्त 'बि७५७' जहाज भने पाँच दिनदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ। प्राविधक समस्या उत्पन्न भएपछि जहाज थन्किएको हो।

निगमका इन्जिनियरहरूले समस्या समाधान गर्न नसकेपछि जहाज मर्मत गर्न सिंगापुरबाट मगाइएका इन्जिनियर बुधबार काठमाडौं आएका छन्। उनीहरूले बिहीबारबाट काम सुरु गर्ने निगमले जनाएको छ। करिब तीन दशक पुरानो यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएका हुन्। निगमसँग यस्ता दुईथान जहाज छन्।

प्रकाशित: २२ वैशाख २०७३ २३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App