coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

वाइड बडी किन्न निजी वाणिज्य बैंकले २५ अर्ब दिने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ठूलो आकारका दुईथान 'वाइड बडी' जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ निजी क्षेत्रका प्रमुख बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने भएका छन्।वायुसेवा निगमले निकट भविष्यमा खरिद गर्न लागेको दुईथान वाइड बडी जहाजलाई आवश्यक पर्ने उक्त परिमाण बराबको रकम नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत प्राप्त गरेका वाणिज्य बैंकले ऋण स्वरूप लगानी गर्न लागेका हुन्।

दुई जहाज खरिद गर्न निगमले २५ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ। यो रकम जुटाउन उसले सरकारलाई पनि गुहारिसकेको छ। सरकार जमानत बसेर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष वा अन्य सरकारी निकायबाट रकम जुटाउने प्रयास भने निगमले जारी राखेको छ।

'रकम जुटाउने प्रयास भइरहँदा पछिल्लोपल्ट निजी क्षेत्रका दुई प्रमुख वाणिज्य बैंकले जहाज खरिद गर्न चाहिने रकम उपलब्ध गराउन इच्छा देखाएका छन्,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, 'निजी क्षेत्रबाट यस्तो प्रस्ताव आउँदा हामी उत्साही छौं।'

सम्बद्ध अधिकारीका अनुसार प्रमुख वाणिज्य बैंकहरू हिमालयन र नबिलले जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ उपलब्ध गराउने इच्छा देखाएका हुन्। ती बैंकबाट लिखित प्रस्ताव भने आएको छैन। बैंकका उच्च पदस्थ अधिकारीहरूले निगम व्यवस्थापनसँग भेटेर रकम उपलब्ध गराउन सकिने जानकारी गराएका छन्।

'दुवै बैंक वार्षिक ६ देखि ७ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउन तयार छन्,' ती अधिकारीले भने, 'यदि यो प्रक्रिया सफल भयो भने आफ्नो देशको पैसा देशभित्रै रहन्छ र प्रतिफल पनि चाँडै प्राप्त हुनेछ।'

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। निगमले पछिल्लो पटक खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन्। यी दुई जहाज खरिद गर्न भने कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिएको छ।

सरकारी संस्थानबाट रकम जुटाउन सकिने सम्भावना ठूलो भए पनि निगम व्यवस्थापन पछिल्लो पटक निजी क्षेत्रको प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाबाट आएको प्रस्तावपछि त्यसलाई विकल्पका रूपमा अगाडि बढाइरहेको छ।

'ठूलो परिमाणको ऋण हुने भएका कारण चुक्ता गर्ने अवधि १२ देखि १५ वर्षसम्मको हुने छ,' सम्बद्ध अधिकारीले भने, 'यसो हुनसके छोटो अवधिमा बैंकहरूको लगानी पनि विस्तार हुने र उनीहरूले प्रतिफल पनि चाँडै पाउन सक्नेछन्।'

२५ अर्ब रुपैयाँ जुटाउनुपर्ने भएका कारण यसमा एउटा वाणिज्य बैंकको सहवित्तीयकरणमा अन्य बैंकले लगानी गर्नेछन्। हिमालयन, नबिल वा अन्य कुनै वाणिज्य बैंकको सहवित्तीयकरणमा थप एक दर्जनभन्दा बढी बैैंकले लगानी गरे भने उक्त रकम जुट्न सक्ने सम्भावन रहेको छ।

दुईथान वाइड बडी खरिद गर्न २५ अर्ब रुपैयाँ स्वदेशमै जुटाउने प्रयास निगमले जारी राखेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय संस्थासँग रकमका लागि कुराकानी अगाडि बढेको निगमको भनाइ छ। त्यसबाहेक निगमले विदेशी वित्तीय संस्थाबाट पनि ऋण लिन सकिने विकल्प पनि सुरक्षित राखेको छ।

निगमका उच्च अधिकारीहरूले अनुमान गरेझैं काम अगाडि बढ्यो भने आगामी एक वर्षभित्र एउटा वाइड बडी जहाज काठमाडौं अवतरण हुने उनीहरूको दाबी छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजना छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

पहिलो जहाज आएको बढीमा तीनदेखि चार महिनाभित्र अर्को वाइड बडी ल्याउने तयारी पनि निगमको छ। ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने अर्का एक अधिकारीले बताए।

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा उत्रिन सक्नछन्। निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ।

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत 'लङ हल' गन्तव्यमा उडान गरिसकेको छ। दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।

निगमका अनुसार टोकियो र सोलका लागि सातामा तीन/तीन उडान गर्ने गरी तालिका बनाइएको छ। जापान र कोरियापछि साउदी अरबको दम्माम, चीनको सांघाई र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना छ। दम्माम र सांघाई सिधै उडान गरिने तथा सिड्नी जान भने सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थललाई 'ट्रान्जिट' बनाइने छ।

निगमले वाइड बडी जहाज आएको बढीमा दुई साताभित्र व्यापारिक उडान गर्ने गरी काम गरिरहेको दाबी गरेको छ। यसअघि ए३२०–२०० जहाज ल्याउँदा पाइलट अभावका कारण उडान गर्न ढिलाइ गरेको थियो। आफ्नै पाइलट तयार नभइन्जेल डेढदेखि दुई वर्षसम्म विदेशी पाइलट भाडामा लिएर वाइड बडी उडाउने योजना उसको छ भने क्याप्टेन (कमान्डर) र प्रशिक्षक पाइलट (आइपी) मात्र विदेशी लिएर को–पाइलट आफ्नै राख्ने जनाएको छ।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त दुईथान 'बि७५७' र एयरबसमा उत्पादित १ सय ५८ सिटयुक्त 'ए३२०–२००' दुईथान छन्। तीमध्ये बि७५७ करिब तीन दशक पुराना हुन् भने ए३२० खरिद गरेको करिब एक वर्ष हुन लागेको छ। ती जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर तथा हङकङ उडान गरिरहेको छ।

प्रकाशित: १८ वैशाख २०७३ २२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App