१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कार्वाही हो ।आइसिसीले सोमबार सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । विवाद समाधान नगरेसम्मका लागि भन्दै आइसिसीले क्यानमाथि निलम्बनको निर्णय गर्दा अन्तर्राष्ट्रिय सहभागिता भने नरोक्ने प्रष्ट पारेको छ । लामो समयदेखि आन्तरिक विवाद, अपारदर्सिता, कुसासन र सरकारी हस्तक्षेप स्विकार्दै आएको नेपाली क्रिकेटमा आइसिसीको निलम्बनपछि सुस्त गतिमा चल्दै आएको घरेलु गतिविधि चाँही पूरै ठप्प हुने भएको छ । तर विवादका सवै पक्षले समाधानका लागि आफू हदैसम्म लचकता अपनाउन तयार रहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले नेपालमा समानान्तर रुपमा अस्तित्वमा रहेका दुई संघलाई एक बनाउन सके आइसिसीले निलम्बन फुकुवा गर्ने आस्वासन दिएको बताएका छन् । त्यसका लागि आफूले पहल थालिसकेको बताउँदै उनले भने, 'हामीसँग अब मिलेर अघि बढ्नुको विकल्प छैन ।'

राखेपको सहमतिविना भएको निर्वाचनबाट चतुरबहादुर चन्दको अध्यक्षतामा मंसिर २९ मा क्यानको कार्यसमिति चुनिएको थियो । त्यसलाई मान्यता नदिएको राखेपले पुस २४ मा तीन महिनाभित्र चुनाव गर्ने म्यान्डेटसहित रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएपछि लामो समयदेखिको क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो । तदर्थ समिति बनाएको चार दिनपछि चन्द पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्धा विचाराधिन अवस्थामा छ । आइसिसीले जकडिएको यही अवस्थाका कारण आन्तरिक विवाद समाधान नभएसम्मका लागि भन्दै निलम्बन गरेको थियो ।

'हामीले चन्दजीहरुसँग कुरा गरिरहेका छौं । उहाँहरु पनि समस्या समाधानका लागि सकारात्मक हुनुहुन्छ,' विष्टले भने, 'हामी आइसिसीसँगको सम्पर्कमा छौं । सरोकारवालाहरु सबैसँगको छलफलबाट उपयुक्त निकास निकाल्नेछौं ।'

समानान्तर हैसियतमा रहेका दुवै संघका पदाधिकारीहरुले समस्या समाधानका लागि आफू लचिलो हुने बताएका छन् । निर्वाचित संघका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट विकासका लागि नियमभित्र रहेर सम्भव भएसम्म आफूहरु लचिलो हुने बताए । 'हामी क्रिकेट विकासमा दशकौं देखि लागेका मानिस हौं । त्यसैले क्रिकेटलाई दीर्घकालिन समाधानका लागि हामी नियमभित्र रहेर हुन सक्ने सबै त्यागका लागि तयार छौं,' चन्दले नागरिकसँग भने ।

यसैगरी राखेपले बनाएको तदर्थ समितिका अध्यक्ष सिलवालले समाधानका लागि आफू पछि हट्न पनि तयार रहेको बताएका छन् । 'आइसिसीले आफै समस्या समाधान गर्न आए म पछि हट्न तयार छु,' निलम्बनको अवस्था आउनुमा सवै पक्षको गल्ती भएको बताउँदै उनले भने, 'सरकारले तदर्थ समिति बनायो । अदालतले समयमा निर्णय गरेन ।'

सिलवालले चन्द पक्षले मुद्धा फिर्ता लिए सहमतिका लागि सँगै बसेर छलफल गर्ने वातावरण बन्ने बताए ।

आइसिसीका सञ्चार प्रमुख सामी उल हकले नेपालबारे विशेष रणनीति बनाउन लागेको जानकारी गराएका छन् । 'हामी नेपालवारे रणनीति बनाउँदैछौं । चाढै यो काम सम्पन्न गरेपछि आइसिसी अघि बढ्नेछ,' उनले भने ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइसिसीको निर्णयले नेपाली क्रिकेटमा दिगो समाधान दिने आशामा छन् । नेपाली क्रिकेट अव सुन्यबाट अगाडि बढ्ने आशामा रहेका उनले नागरिकसँगको कुराकानीमा भने, 'निलम्बन भन्ने सव्द सुन्न राम्रो लाग्दैन । तर यसले दीर्घकालिन समाधान दिन पनि सक्छ । यो विवाद सुल्झाएर नेपाली क्रिकेटलाई विकासको बाटोमा अघि बढाउन सहयोगी हुन सक्छ ।'

आइसिसीले निलम्बनको निर्णयपछि नेपाली क्रिकेटको विवाद समाधानका लागि आफ्ना प्रतिनिधि पठाएर पहल गर्ने बताएको छ । त्यसअनुसार चाढै आइसिसीले आफै नेपाल आएर राष्ट्रिय टोलीको व्यवस्थापन सम्हाल्नेछ । 'आइसिसीले आफ्ना प्रतिनिधि पठाएर नेपालमा सबै सरोकारवालासँग छलफल पछि अघि बढ्ने भनेको छ,' पारसले भने, 'आस गरौं आइसिसीले चाढै त्यो काम गरोस । नेपाली क्रिकेटमा उत्तरदायी र जिम्मेवार अधिकारीहरुलाई नियुक्त गरोस । र क्रिकेटलाई नयाँ ढंगबाट अघि बढाउन सहयोग गरोस भन्ने हाम्रो आशा छ ।'

आइसिसी नेपाली क्रिकेटका सबै समस्यासँग परिचित भएको बताउँदै नेपाली क्रिकेटका एक अनुभवी पदाधिकारीले भने, 'अव गर्नुपर्ने काम पनि उनीहरुलाई थाहा छ । स्वच्छ निर्वाचनका लागि आइसिसीले नेपालमा नर्मलाइजेसन कमिटी बनाएर अघि बढ्ने सम्भावना छ । साथमा निर्वाचनले नयाँ बोर्ड चयन नगरेसम्मका लागि त्यही कमिटीले आइसिसीको प्रत्यक्ष निगरानीमा क्रिकेट गतिविधि अगाडि बढाउने छ ।'

प्रकाशित: १४ वैशाख २०७३ १९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App