१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
मुख्य समाचार

चुपचाप अन्तर्मनको यात्रातिर

काठमाडौं— चुनावी दौडाहामा व्यस्त नेताहरू नरहरि आचार्य, ईश्वर पोखरेल र गगन थापा शुभेच्छुकले लगाइदिएका माला र अबिर पुछेर आर्यघाट दगुरे।पछिल्ला दिनमा जतिसुकै ठूला घटना भए पनि तिनले मिडियामा छाइरहेका चुनावी खबरलाई प्रभाव पार्न सकेका थिएनन् । देशका एक लेखकले सबैको ध्यान आफूतिर खिचे।छ वर्षअघि 'अन्तर्मनको यात्रा' नामक आत्मालापको पुस्तक लेखेर चर्चित भएका लेखक जगदीश घिमिरेले आफ्नो नश्वर चोला बिसाएका दिन पशुपति आर्यघाटमा सानोतिनो शक्ति प्रदर्शनजस्तै भयो ।

मृत्युको सम्मुख लोलाइरहेका ६८ वर्षे यी लेखकलाई वास्तवमा २०६२ सालको आखिरी महिनातिरै आफ्नो समयसीमा थाहा भइसकेको थियो । क्यालेन्डरमा मृत्युका दिन गन्दै जीवनका खुट्किला चढ्नु कति पीडादायी होला ! जगदीशमा भने पटक्कै मृत्युबोध झल्कँदैनथ्यो ।

बुधबार राति । पत्नी दुर्गा, छोरा हिमाल र छोरी जूनसँग लूलो ज्यान अघिल्तिर राखेर जगदीशले दही खाने इच्छा व्यक्त गरे । हिमालले खुवाइदिए । छोरी जूनले माड खुवाइदिन खोजिन् । 'मल्टिपल माइलोमा' क्यान्सरग्रस्त पिताले कतै सन्निकट मृत्युको पाश्र्वछाया देखिसकेका त थिएनन् ? भने, 'भैगो, मेरो मुखलाई जुठो नबनाइदेओ ।'

भोलिपल्ट । बिहीबार बिहान ५ः५५ बजे ।

डाक्टरले उनी बितेको घोषणा गरे ।

पृथ्वीमा उज्यालो खस्न नपाउँदै चाबहिलस्थित ओम अस्पताल परिसर खचाखच भइहाल्यो ।

जगदीशले सामान्य ढंगले मृत्युवरण गर्न चाहेका रहेछन् । 'बुबाले मलाई कुनै सार्वजनिक प्रतिष्ठान, स्थल र संस्थातिर नलैजानू, भन्नुभएको थियो,' छोरा हिमालले भने, 'एकेडेमी लैजाने सल्लाह अरूबाट आएको थियो, मैले उहाँको इच्छाबमोजिम सिधै पशुपति ल्याउने निर्णय गरेँ ।'

बिहान साढे आठ बजेतिर उनको पार्थिव शरीर पशुपति आर्यघाट पु¥याइँदा तिहारका लागि ठिक्क पारिएका फूल बोकेर मानिस शोकसन्तप्त मुद्रामा ओइरिसकेका थिए । यसरी आउनेमा राजनीतिक दलका नेता, प्राज्ञ, लेखक, सामाजिक कार्यकर्ता, चिकित्सक, उद्योगपति, पत्रकार, विद्यार्थीहरू थिए ।

आर्यघाटको आकाशमा जसै जगदीशको देह डढाउँदै धुँवा पुत्ताउन थाल्यो, परिवारका सदस्यले आँशुको बागमती बगाए । तिनका आँशुमा शुभचिन्तकहरूले आफ्नो आँशु र संवेदना मिसाए ।

आठ वर्षयता क्यान्सरबाट लखेटिए पनि अपराजित यी जोदाहा लेखक एक महिनायता केमोथेरापीका लागि अस्पताल भर्ना गरिएका थिए । सुरुका दिन सबैसँग भेट हुन सके पनि चिकित्सकको निर्देशनमा केही दिनयता सीमित पारिवारिक सदस्यबाहेक अरूसँग भेट्न बन्देज गरिएको थियो ।

बिहीबार बिहान उनी आफ्नो ६८ वर्ष लामो जीवनबाट सधैंका लागि निवृत्त भएका छन् । अब हामीसँग उनका कालजयी कृतिमात्रै बाँकी छन् ।

...

चोभारको डाँडो रोजेर २० वर्षअघि घर बनाएका जगदीशकहाँ पुग्दा कि ल्यापटपमा घोट्टिइरहेका भेटिन्थे, कि किताबमा घोरिइरहेका । मर्नुअघि उनलाई हतार त थिएन, तर केही नगरी बस्नु उनको दैनिकीमा पर्दैनथ्यो । 'अन्तर्मनको यात्रा' मा उनले लेखेका छन्, 'जुन बेला मेरो जीवनशैली असाध्यै तीव्र थियो, त्यस बेला मन्द जीवनशैलीको हाँसो गर्थें, माइलोमाले लखेटेपछि मलाई यसको महŒव थाहा भएको छ ।'

मृत्युबोध थियो उनमा, तर पीडाबोध र निराशाका झिल्कासम्म पनि देखिँदैनथे अनुहारमा । सधैं जोशिला, सधैं क्रियाशील । 'यसपालि पनि म मर्दिनँ केटा, सकुशल घर फर्कन्छु,' अस्पताल भर्ना हुनुअघि उनले छोरा हिमाललाई भनेका थिए । तर मृत्यु यसपालि चोरबाटोबाट उनको जीवनको दैलोमा प्रवेश ग¥यो । उनी सिधा आँखाले मृत्युलाई तरेर हेर्न चाहन्थे । आइज, भिडौं भन्न चाहन्थे । सायद मृत्यु डरायो, उसले पछाडिबाट छक्याएर आक्रमण ग¥यो ।

...

बिरामी भएर थलिएकै बेला ल्यापटपमा युनिकोड चलाएर 'अन्तर्मनको यात्रा' लेखेका यी लेखक ३० वर्षपछि साहित्य लेखनमा पुनप्र्रवेश गर्दैथिए । २०२७ सालमा 'लिलाम' जस्तो शक्तिशाली उपन्यास लेखेका जगदीश २०३२ सालमा प्रकाशित अर्को उपन्यास 'साबिती' बाट अझै चुलिए । कतिसम्म भने, गैरवाम भनेर चिनिएका यी लेखकलाई वामवृत्तकी शक्तिशाली लेखक पारिजातले पत्र लेखेरै स्याबासी दिइन् ।

केही समयपछि उनी लेखनदुनियाँबाट टाढिए । रेडक्रसलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा आबद्ध भए ।

वास्तविक घोडा त्यो हो, जो जुनसुकै परिस्थितिमा उत्तिकै जोशका साथ दगुर्न सक्छ । जगदीश लामो दूरीका घोडा थिए । तीस वर्षपछि लेखनमा फर्केका यी लेखकले निरन्तर लेखिरहेका समकालीनलाई फेरि पनि पछाडि छाडे । र, आफूलाई प्रमाणित गरे ।

'अन्तर्मनको यात्रा उहाँको जीवनको स्वीकारोक्ति थियो,' लेखक कृष्ण धरावासी भन्छन्, 'म क्यान्सरले थलिएर कुनै पनि बेला मर्न सक्छु भन्ने बोधले स्वतस्फुर्त लेखाएको विशाल रचना थियो त्यो ।' मृत्युको नजिक पुगेपछि मानिसमा लोभ, इष्र्या, द्वेष हराउँदो हो सायद । जगदीशबाट स्वाभाविक रूपमा व्यक्त भएको सरल लेखन थियो त्यो । आमनेपालीले त्यसलाई प्रेमले पढे । त्यो 'बेस्टसेलर' भयो ।

उनले त्यसपछिका सबै पुस्तक कुनै प्रकाशकलाई दिएका थिएनन् । पुराना कृतिलाई पनि आफ्नै 'जगदीश घिमिरे प्रतिष्ठान'बाट छपाइरहेका थिए । त्यसको लाभांश पाइरहेको थियो तामाकोसी सेवा समितिले, जुन उनको पसिनाले सिर्जित संस्था थियो ।

जगदीशले लामो समय पत्रिकाका लागि स्तम्भ लेखे । उनको 'चेतना भया' धेरै पढिने स्तम्भमध्ये पथ्र्यो । धर्मग्रन्थ, इतिहास र दर्शनलाई मिठो साहित्यिक भाषामा घोलेर पस्कने खुबी थियो उनको ।

गरिमा मासिकको पछिल्लो अंकमा जगदीशको उपन्यासकारितामाथि लामो लेख लेखेका वामपन्थी लेखक ऋषिराज बराल आर्यघाटमा भेटिए । 'जनयुद्ध र संघीयतालाई हेर्नेबारे उहाँको दृष्टि अलि बेग्लै थियो,' उनले भने, 'तर राष्ट्रियताका मुद्दामा उहाँको अडान गर्वयोग्य छ । त्यसबाट हामी सबैले सिक्नुपर्छ ।'

जगदीश जन्मेहुर्केको रामेछाप तथा इन्द्रावती नदी सेरोफेरोलाई समेटेर उनीअघि पनि साहित्य लेखिएका थिए । लेखक तथा विश्लेषक जुगल भूर्तेलका दृष्टिमा भने जगदीशको जोडा अर्को लेखक छैन, जसले त्यही विषय र परिवेशलाई न्याय गरेको छ । 'उही इन्द्रावतीको सेरोफेरोमा उपन्यास लेखिसकेका एक प्रख्यात लेखकको तुलनामा उहाँले लेखेको 'लिलाम' कयौं गुणा प्रगतिशील र कलात्मक थियो,' भूर्तेल भन्छन्, 'कम्युनिस्ट पार्टीको टिकट नकाटेका कारण उहाँलाई प्रगतिशील मान्न अरू हिच्किचाउँछन् ।'

जगदीशमाथि वृत्तचित्र बनाइसकेका लेखक नयनराज पाण्डे सोही सिलसिलामा जगदीशको गृहजिल्ला रामेछाप गएछन् । साहित्यका जगदीशसँग उनी परिचित नहुने कुरै थिएन । पाण्डेले सामाजिक क्षेत्रमा उनको अतुलनीय काम देखेछन् । मन्थली पुग्नेबित्तिकै जगदीशलाई पछ्याउँदै त्यत्तिका मानिस आएका ।

'द्वन्द्वकालमा देशभरिका गैरसरकारी संस्थालाई माओवादीले तारो बनाएको थियो,' पाण्डे भन्छन्, 'तर उहाँले खोलेको तामाकोशी सेवा समितिलाई केही गर्न सकेन, किनकि जगदीश दाइको काम गर्ने शैली पारदर्शी र वास्तविक समाजमुखी थियो ।'

लेखकका रूपमा पनि जगदीश अरूभन्दा भिन्न थिए । अघिल्लो पुस्ताका लेखक भइकन पनि उनी नयाँ लेखकसँग संवादमा बस्न मन पराउँथे । धेरै युवा लेखकका रचना पढेर समालोचनात्मक टिप्पणी गर्ने गरेका थिए ।

समालोचकका रूपमा तीन दशकअघि उनले नेपाली उपन्यासमाथि लेखेको टिप्पणीले धेरैलाई थर्कमान बनाएको थियो । त्यसबापत उनले आलोचना पनि पर्याप्त खपे । उनको अडान थियो, 'नेपाली उपन्यासले यतिका वर्ष पार गरिसक्यो, अझै त्यसमा नेपाली समाजको प्रतिविम्ब भेटिन सकेको छैन ।' उनले यसो भन्दै गर्दा आफूभन्दा अग्रज थुप्रै लेखकका रचनाप्रति सप्रमाण अविश्वास प्रकट गरेका थिए । थुप्रैले नाक खुम्च्याए । तर प्रतिवाद गर्ने साहस कसैले गरेन । बरु नारायण ढकालजस्ता नयाँ पुस्ताका लेखकले खुलेर तारिफ गरेका थिए ।

जगदीशका माइला दाजु नगेन्द्रराज शर्माले निकाल्ने पत्रिका 'अभिव्यक्ति' का लागि जगदीशले लेखेको 'युद्धभूमिमा मुर्कट्टा किन नाच्छ' उनको अन्तिम रचना थियो । समकालीन लेखकहरू जगदीश आफ्ना आलोचकहरूप्रति बढ्तै अनुदार हुने गरेको टिप्पणी गर्छन् । तीव्र व्यंग्यचेतका लेखक जगदीश साहित्यिक किस्सा बनाउन माहिर थिए । त्यसो त उनका बारेमा उनका साथीहरूले बनाएको किस्सा पनि रोचक छ, 'यो देशमा दुई राजा छन्, एक नागार्जुनमा, अर्को चोभारमा ।' थाहा छैन, यसमा उनको टिप्पणी के हुनेगथ्र्यो!

चोभारका यी 'राजा' ले काठमाडौंभित्र बस्न असजिलो लाग्ने भएकाले चोभारमा घर बनाएको कुरा 'अन्तर्मनको यात्रा' मा उल्लेख गरिसकेका छन् । उनले भर्खरै एउटा अन्तर्वार्तामा आफूसँग 'कसैले एक तोलाको निहूँ खोज्यो भने आफूले पनि एक धार्नीको निहुँ खोज्ने' बताएका थिए ।

मृत्युसँगको पौठेजोरी भने धेरै लम्ब्याउने पक्षमा थिएनन् उनी । सहजै मर्न पाइयोस् भन्ने उनको चाहना छँदै थियो । मृत्युसँग लुकामारी सायद उनले चाहेकै थिएनन् ।

जगदीशसँगै नेपाली साहित्यमा नयाँ बाटो खोजी गर्ने अदम्य चाहना बितेको छ । गहिरो अध्ययन र चिन्तनबाट निर्मित स्वखोजको व्यक्तित्व कहिल्यै नउठ्ने गरी ढलेको छ । नेपाली साहित्यका पछिल्ला लेखक र पाठकले भेटघाट, साहित्य गोष्ठी, फेसबुक र ट्वीटरमा भेटिन, संवाद गर्न सधैं ढोका खुला गर्ने भरपर्दो अभिभावक र साथी गुमाएका छन्।

प्रकाशित: १४ कार्तिक २०७० २१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App