२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

एमाले प्रमुख सचेतक भन्छन् : कटेजमा मुख्यमन्त्री नियुक्ति लज्जाजनक

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको घटनालाई लिएर राजनीतिक रूपमा असामान्य परिस्थिति सिर्जना भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कटेजमा गएर राति सपथ ग्रहण गराएपछि यसले थप विवाद निम्त्याएको छ। यसै विषयमा नागरिकर्मी मिथिलेश यादवले नेकपा एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।

तपाईँहरूको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिएको छ। यो कुरा तपाईंहरूलाई पहिल्यै थाहा थियो?

त्यो कुरा हामीलाई थाहा थिएन। उहाँ सपथ लिँदै हुनुहुन्छ, मुख्यमन्त्री बन्दै हुनुहुन्छ भन्ने जानकारी हामीलाई प्राप्त भएन।

तपाईं प्रमुख सचेतक हुनुहुन्छ। संविधानको कुन धारा अनुसार यो सरकार गठन हुनुपर्छ भन्नेमा के धारणा थियो?

मैले त विभिन्न मिडियामा पनि भनेको छु । मेरो बुझाइमा धारा १६८(२) अनुसार नै आह्वान गरिएको थियो र त्यसअनुसार नै सपथ दिलाइनु पर्ने थियो। तर, धारा (२) को सबै प्रक्रिया टुंगिएको थिएन। मुख्यमन्त्रीले राजीनामा दिँदै गर्दा निर्वाचन प्रक्रिया पनि सम्पन्न भएको थिएन। त्यसैले मेरो बुझाइमा त्यो अवस्थामा फेरि पनि धारा १६८(२) अन्तर्गत नै सरकार गठनको प्रक्रिया सुरु हुनुपर्थ्यो। मैले यही कुरा सुझाएको थिएँ।

प्रदेश प्रमुखले आज उपचारको बहानामा बाहिर गएर होटलमा सपथ ग्रहण गराए भन्ने भनाइ छ। यो सामान्य हो?

यो अस्वाभाविक हो। यसरी बाहिर गएर कटेज वा होटलमा सपथ ग्रहण गराउनु ठीक होइन। यदि त्यही दिन गर्नै पर्यो भने पनि मधेश प्रदेशसभाको भवनमा नै गर्न सकिन्थ्यो। यस्तो कार्यले प्रदेश सरकारको मर्यादामा प्रश्न उठाउँछ।

यस घटनाले मधेश प्रदेशको राजनीतिमा द्वन्द्व सिर्जना गर्न सक्छ भन्ने कुरा उठेको छ। तपाईंलाई के लाग्छ?

हो, यसले अस्वाभाविक अवस्था सिर्जना गर्यो। अन्य दलहरूले यसको विरोध गर्न सक्छन्, आक्रोश व्यक्त गर्न सक्छन्। यस्तो अवस्था नआओस् भन्ने चाहना त सबैको हुन्छ, तर अहिले स्थिति केही तनावपूर्ण बनेको छ।

नयाँ मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। त्यो प्रक्रिया कस्तो देख्नुभएको छ?

त्यो अवस्था अहिले स्पष्ट छैन। हाम्रो पक्षमा स्पष्ट बहुमत छैन। अधिकांश दलहरू विपक्षमा छन्। त्यसैले विश्वासको मत पाउने सम्भावना अहिले देखिएको छैन।

यस राजनीतिक घटनाक्रमले मधेश प्रदेशमा एमालेलाई हानि गर्छ कि फाइदा?

यसले समग्रमा हानि नै गर्छ। पार्टीगत रूपमा पनि यो कदम लाभदायक होइन।

प्रकाशित: २४ कार्तिक २०८२ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App