१६ मंसिर २०७९ शुक्रबार
अन्तर्वार्ता

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ। पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो।

कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको नेतृत्वले सम्पन्न गरेको हो। यही सेरोफेरोमा रहेर सदस्यसचिव घिसिङसँग नवौं राष्ट्रिय खेलकुदको समिक्षा गरिएको गरिएको संक्षिप्त कुराकानी:

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय ढाँचा अनुसार पहिलो पटक गण्डकी प्रदेशमा सम्पन्न भयो, कोरोनाका कारण अन्योल भएको प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा समग्र प्रतियोगितालाई प्रदर्शनको हिसावमा कसरी मूल्यांकन गर्नुभयो?

लामो समयपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल भयौँ। कोभिडका कारण थलिएका अन्य प्रतियोगिता पनि हुन नसकेको अवस्था थियो। खेलाडीहरु लामो समयदेखि राष्ट्रिय प्रतियोगिताको प्रतिक्षामा थिए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले लामो समयदेखि कुरिरहेका खेलाडीको चाहना पूरा भएको छ।

त्यो भन्दा अगाडि नियमित खालका र श्रृंखलावद्ध तरिकाले आयोजना हुने प्रतियोगिता नभई राष्ट्रिय प्रतियोगिता हुन गयो, यसले खेलाडीहरुमा उत्साह नै रहेको छ। तर सँगसँगै विभिन्न अभ्यास प्रतियोगिताहरु नहुँदै एकैपटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पर्दा खेलाडीले गरेको अपेक्षा अनुसार भएन। लामो समयपछि प्रतियोगितामा सहभागि हुनुपर्दा खेलाडीमा इन्जुरीको समस्य अलि बढी देखियो।

यति ठूलो प्रतियोगिता आयोजना गर्दा व्यवस्थापनको पक्षलाई कसरी नियाल्नु भयो, यद्यपि कतै कतै व्यवस्थापकीय विषयमा केही प्रश्नहरु पनि उठेका छन्?

प्रतियोगिता आयोजनाका लागि सार्वजनिक खरिद ऐन र नियमावली भन्दा बाहिर गएर कार्य सम्पादन गर्न सम्भव थिएन। सोही अनुसार अगाडि बढ्नुपर्दा प्रक्रिया अलि लामो हुने गर्छ। यही पटक पनि खरिद प्रक्रियामा जाँदा ३० दिन, १५ दिन, ७ दिन क्रमसः पालना गर्दै अगाडि बढ्यौं। ऐन र नियमका सबै बुँदाहरुमा टेकेर प्रक्रियालाई सम्पन्न गर्‍यौं। यद्यपि खेलकुदमा यो प्रक्रिया नसुहाउँदो र कठिन हुने रहेछ। किनभने खेलकुद गर्ने भनेको आकस्मिक जस्तै हुन्छ। हुन त दुई दुई वर्षमा आयोजना गर्ने नियम थियो तर अहिलेको अवस्थामा त्यो थिएन। हामीले प्रतियोगिता आयोजना गर्नु थियो।

नवौंको नै सन्दर्भमा पहिलो हामीले जेठमा आयोजना गर्ने भनेका थियौं। त्यसपछि असोजको समय राख्यौं। असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना गरेर प्रतियोगिता सम्पन्न गर्‍यौं । तर सरकारको खाता सञ्चालन सम्बन्धी प्रक्रिया, खरिद गर्ने प्रक्रिया निकै पेचिलो नै छ। नयाँ आर्थिक वर्षको सुरुवातको बीचबाट खरिद प्रक्रियालाई टुङ्ग्याउनु पर्नेछ। नयाँ आर्थिक वर्ष सुरु भएको झण्डै एक महिनापछि नै सरकारको खाता नै सञ्चालन हुँदैन। यस्तो चुनौतीपूर्ण अवस्थाबाट खेलाडीहरुलाई सहभागीता गराउने परिस्थिति निर्माण गर्‍यौं।

राष्ट्रिय खेलकुद प्रतियोगिता तय भएको मितिमा नै सञ्चालन गर्न सफल भयौं। आर्थिक विनियोजनका कारण तय भएको मितिमा प्रतियोगिता प्रभावित हुन पाएन। जसका कारण समयमा नै सफल आयोजना गर्न सफल भयौं। यद्यपि समय अभावका कारण भएको भन्दा अझै व्यवस्थित तरिकाले गर्न चुनौति रह्यो। नयाँ राष्ट्रिय खेलकुद ऐन आइसकेपछिको पहिलो खेलकुद हो। जिम्मेवारीहरु प्रदेश र सहभागी टिमहरुको काँधमा थियो। टिम छनोट गर्ने जिम्मा सम्बन्धित प्रदेशलाई थियो। यसका अलावा टिमलाई अभ्यास गराउने, तालिम दिने पनि प्रदेशको नै जिम्मेवारी थियो।

यो बीचमा कुनै प्रदेशले टिम छिटो र कुनै प्रदेशले अन्तिम समयमा गर्‍यो। जसले गर्दा बन्द प्रशिक्षण कतिपय टोलीको लामो समयसम्म रह्यो भने कतिपयले छोटो तयारीमा सहभागि हुनुपर्‍यो। यो बीचमा विभागीय टोलीको लामो समयदेखिको प्रशिक्षण रह्यो। यसले गर्दा प्रतियोगितामा अलि व्यवस्थित भएन की भन्ने प्रश्न हो। जुन स्वभाविक हो। अब यसलाई निराकरण गर्न १० औंमा संघीय मर्म अनुसार र नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार सहभागी हुने सबै टिमले तयारी गर्नुपर्छ। आयोजक टिमले सहभागीहरुलाई दिने सेवा सुविधा, खास गरी पुरस्कार राशीमा आउदो दिनमा बढाउनुपर्छ भन्ने निष्कर्ष मेरो छ।

प्रतियोगिताको दौरानमा खेलाडीहरु चोट बोक्न बाध्य भए, केही खेलमा मापदण्ड अनुसार खेल स्थल भएन भनेर टिका टिप्पणीहरु पनि आए, टिका टिप्पणी भएजस्तो पूर्वाधारमा कमजोरी हो र?

हामीले प्रतियोगिता आयोजनका लागि खेल स्थल उपसमिति गठन गरेका थियौं। यो समिति व्यवस्थापकिय रुपमा सहकार्य र समन्वय गर्ने कमिटि मात्र थियो। टेक्निकल्ली फाइनलाइज गर्ने कमिटी भने थिएन। त्यसका कारण हरेक खेलको प्रमुख प्रशिक्षक, संघको अध्यक्ष र संघको प्रतिनिधि सहितको तीन सदस्यीय टोलीलाई हरेक खेलस्थलमा सम्बन्धित खेल आयोजना गर्न कति उपयुक्त छ, तपाईहरुले फाइनल रिपोर्ट दिनु भनेपछि प्राप्त रिपोर्टको आधारमा खेलस्थल तोकिएको थियो। 

सम्बन्धित खेलका पदाधिकारीले लिखित रुपमा दिएको रिपोर्टको आधारमा राखेपले खेल स्थल तोकेको हो। खेल स्थल उपसमितिले तोकेको खेल स्थलमा खेल स्थल तोकिएको होइन। यससँगै जोडिएको अर्को विषय खेलाडीमा इन्जुरी हो। यो स्तरको राष्ट्रिय प्रतियोगिता केही खेलको भएपनि हामीले समावेश गरेका प्रतियोगिता सबैको भएको थिएन। एकै पटक प्रतियोगिता हुँदा केही इन्जुरी पर्‍यो।

तर, यसको व्यवस्थापनको निमित्त राष्ट्रिय खेलकुद परिषद, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिले पहिले नै सावधानी अपनाइसकेको छ। सम्पूर्ण खेलाडी र अफिसियल्सको बीमा गरिएको छ। नवौं राष्ट्रिय खेलकुदको दौरानमा हुने बिरामी, इन्जुरी सबैको बीमा गरिएको छ। प्रतियोगिताको दौरानमा भएका इन्जुरी र बिरामीलाई राखेपले अहिले पनि गरिरहेको छ। खेलाडीहरु पूर्ण रुपमा निको नहुने अवस्थासम्म सम्पूर्ण खर्च राखेपले व्यवस्थापन गर्छ।

राखेपमा सदस्य सचिवको जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय खेलुकद गर्ने र एशियन गेम्सका लागि खेलाडीलाई प्रशिक्षण गराउने प्रतिद्धता जनाउनुभएको थियो, सो अनुसार राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ, अब एशियन गेम्सको तयारी खेलाडीले कहिलेबाट थाल्छन् त?

राष्ट्रिय खेलकुद परिषदको दायित्व दुई विषयमा मूलत हुने गर्दछ। पहिलो भनेको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने। अहिलेको अवस्थामा राष्ट्रिय खेलकुद आयोजना गरेर एउटा संस्करण पार गरेका छौं। इतिहासमा पहिलो पटक अर्को संस्करण (१०औं) कहिले गर्ने मिति गते सबै टुंग्याएका छौं। जुन इतिहासमा पहिलो पटक होला। यति वर्ष पछाडि होइन, साल होइन, महिना होइन, हामीले गतेसम्म तोकेका छौं। २०८१ साल मंसिर २ देखि ९ गते सम्मलाई घोषणा गरेका छौं।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने भनेका छौं। आगमी मंसिरको ८ गते परिषदको १ सय १६ औं बैठक तोकिएको छ। उक्त बैठक हामीले मुगुको रारामा गर्ने निर्णय पनि गरेका छौं। रारामा हामीले लोगो र मस्कट पनि सार्वजनिक गर्नेछौं। दशौंको तयारी सोही पश्चात सुरुवात गर्छौं। नवौंमा केही मूल्य र मान्यताहरु अगाडि सारिएको थियो। जस्तै रनिङ ट्रफी, राखेपको आफ्नै एप्लिकेशन, डेडिकेटेड वेबसाइट बनायौं। १ सय १६ बैठक पश्चात दशौं डेडिकेटेड वेभसाइट बनाउँछौं। 

खेलाडीहरुको दर्ता अनलाइनबाट गराएर अभिलेखिकरणलाई व्यवस्थित गर्नसकेका छौं। सम्पूर्ण खेलाडीहरुको अभिलेखिकरण हामीले सुरक्षित बनाएका छौं। जुन आगामी दिनमा कस्तो रणनीति बनाउन सहयोग पुर्‍याउँछ। पहिलो पटक हामीले डोपिङ टेस्ट गरेका छौं। अनुसन्धार उपसमिति बनाएर खेलाडीहरुको अध्ययन गर्ने काम हामीले यो संस्करणबाट गरेका छौं।

यस सँगसँगै अर्को काम भनेको अन्तर्राष्ट्रिय सहभागीता हो। त्यो अन्तर्राष्ट्रिय सहभागिता भनेको नजिकिँदै गरेको १९औं एशियन गेम्स हो। जुन चीनमा आयोजना हुँदैछ। राष्ट्रिय खेलकुदबाट थुप्रै नयाँ अनुहारहरु उदाएका छन्। यो प्रतियोगिता चलिरहँदा उत्कृष्ट प्रदर्शन गरेकालाई व्यक्तिगत तरिकाले सम्पर्क गरेर बधाई र तयारी रहन भनेको छु।

सम्बन्धित संघका पदाधिकार र तालिम तथा प्रशिक्षण विभागसँग छलफल गरेर तिहार लगत्तै एशियन गेम्सको तयारी थाल्नेछु। तयारी दुई खालको हुनेछ। एउटा आम सहभागीता र अर्को रणनीतिक सहभागीता हुनेछ। आम तयारी अन्तर्गत देशको सहभागीता र त्यसमा राम्रा खेलाडीको सहभागीता हुनेछ। रणनीतिक सहभागीतामा भने पदकको अपेक्षा अनुसार  तयारी गरिनेछ। कुन खेलमा कुन खेलाडीबाट पदक ल्याउन सकिन्छ भनेर रणनीतिक तयारी गर्नेछौं। यो तयारी ढिलोमा गरी मंसिरको मध्यतिरबाट अगाडि बढ्नेछ।

दशौं कर्णालीमा आयोजना गर्ने भन्दै गर्दा पूर्वाधारको विषय अगाडि सरेको छ, तोकिएको मितिमा कर्णाली प्रदेशमा दशौं सम्पन्न गर्न सकिन्छ?

नेपाली खेलकुदका दुई विषयमा म सिधा कुरा गर्छु। पहिलो कुरा पूर्वाधार पर्याप्त छ भन्दा छैन, र बजेट पर्याप्त छ भन्दा पनि छैन भन्छु म। जोडिएको विषय दशौं कर्णालीमा आयोजना हुन्छ त भन्ने हो। नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ।

अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ। जहाँ १४ ओटा खेलको खेल स्थल समावेश छ। फुटबल मात्र होइन, स्विमिङ पुल, कभर्ड हलदेखि धेरैको खेल हुने स्थल बनाउने काम भइरहेको छ। उक्त योजना वि.सं. २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। अहिले सम्मको कार्यप्रगति ३० प्रतिशत भन्दा माथि रहेको छ। कर्णाली प्रदेश सरकार र त्यहाँको खेलकुद परिषदबाट त्यहाँको निर्माण व्यवसायिले दिएको प्रतिवद्धता अनुसार सकेसम्म ६ महिना अगाडि हस्तान्तरण गर्नेगरी काम भइरहेको उहाँहरुको प्रतिवद्धता भएको रिपोर्ट पाएको छु।

अहिलेको अवस्थामा चुस्त तरिकाले काम अगाडि बढिरहेको छ। यससँगै क्रिकेट र रग्बीको स्टेडियम बनाउने काम पनि अगाडि बढेको छ। रुकुमको चौरजाहरी स्टेडियमको निमार्णका लागि भरखरै टेन्डर प्रक्रिया अगाडि बढेको छ। जुम्ला अर्को हाई अल्टीच्युड सम्भावन भएको खेल स्थल हुनसक्छ। त्यहाँको सम्भावनामा अध्ययन गरिरहेका छौं। अब दशौंका लागि राष्ट्रिय खेलकुद परिषद र केन्द्रीय सरकारले के गर्ने भन्ने विषयमा प्रदेश सरकारसँग तत्कालै टुङ्गाएर एउटा कामको जिम्मा केन्द्रीय सरकारले लिनुपर्छ भन्नेमा म छु।

यही प्रश्ताव अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसँग आवश्यक सल्लाह र समन्वय गरेर अर्थ मन्त्रालयबाट थप बजेट विनियोजन गर्ने रहेको छ। दशौंका लागि बजेट त छँदै छ, त्यसको आकार बढ्ने गरी परामर्श गर्ने रहेको छ। नवौंमा पनि बजेट रातो कितावमा मात्र १० लाख थियो। तर सरकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट निकासा गर्द भव्य प्रतियोगिता आयोजना गर्नसक्यौं। सोही कारण दशौंका लागि पूर्वाधार निमार्णकालागि आवश्यक पर्ने बजेट उपलब्ध हुनेमा म आशावादी छु। यो सरकारको निर्णय पनि हो। केन्द्रीय सरकार र प्रदेश सरकारको समग्र सहयोगमा दशौंको पूर्वाधार सम्पन्न गरेर आयोजना सफल पार्न सकिन्छ।

प्रकाशित: ९ कार्तिक २०७९ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App