१६ मंसिर २०७९ शुक्रबार
अन्तर्वार्ता

स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी पुनः अहिले चुनावी मैदानमा छन्। उनी आफ्नो पुरानै निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा भिडेका हुन्।

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्। उनै प्रदेशसभा सदस्य उम्मेदवार मन्त्री चौधरीसँग नागरिकर्मी देवेन्द्र बस्नेतले चुनावी अभियान बारे कुराकानी गरेका छन्।

अहिले चुनावी अभियान कसरी चलिरहेको छ?

अहिले गठबन्धन भएको हुनाले सबै दलका नेता कार्यकर्ताहरुको भेटघाट, सामाजिक अगुवाहरुसँगको भेटघाट अनि गठबन्धनको औचित्य तथा मेरो उम्मेदवारीको औचित्यका बारेमा प्रष्ट पार्दै म भेटघाटमा हिँडिरहेको छु।

मतदाताहरुको मनोभाव के पाउनु भयो?

मतदाताहरुको मनोविज्ञान, इच्छा चाहना हेर्दाखेरी जनताको नजिकबाट सेवा गर्ने, भेटघाट गर्ने उम्मेदवार बढी खोजेको प्रतिकृया बढी पाइन्छ। दिनदिनैका समस्याहरु, विकास निर्माणका कुराहरु त हुने नै भए। कसको पकड बढी छ, को तार्किक ढंगले माथि सम्म लाग्न सक्छ? भन्ने बौद्धिक मतदाताहरुको प्रतिकृया छ। सर्वसाधारण मतदाताहरुले आफूलाई समस्या परेको बेला सजिलै उपलब्ध हुने र सजिलै समस्या समाधान गर्ने उम्मेदवार खोजिरहेको अवस्था छ।  

त्यो पात्रका रुपमा यहाँलाई हेरिएको छ?

देउखुरीको विकासका लागि मैले गरेको मेहनतको मूल्यांकन मतदाताहरुले गर्नुभएको छ। यहाँको विकासका जति पनि योजनाहरु छन् ति योजनाहरुमा मेरो आफ्नो भूमिका बुझिसकेपछि ईन्द्रजीतले गर्नसक्दासम्म हामीले साथ दिनु पर्छ भन्ने मानसिकता कायम भएको छ।

तपाईले सांसद छँदा र अहिले मन्त्री हुँदा गरेका उदाहरणीय कामहरु के छन्?  

मैले ०६४ देखिनै विकास निर्माणका कामहरु गर्दै आएको थिएँ। तर त्यति बेला मेरो राजनीतिक अनुभव र सत्ताको अनुभवको हिसाबले जसरी राजनीतिक अग्रजहरुले हेर्नुहुन्थ्यो – यो अपरिपक्व छ भनेर, त्यो बेला मैले गरेका कामकाजहरु ओझेलमा परेको जस्तो थियो। ०७४ मा संघियता कार्यान्वयनको चरणमा प्रदेशसभामा मेरो आफ्नो प्रतिनिधित्व भयो।

अनि राजधानी निर्माणका क्रममा मैले खेलेको भूमिका अझ भनौ स्थायी राजधानी घोषणाका क्रममा मैले खेलेको भूमिकालाई पनि मैले आफ्नो राजनीतिक यात्राको उपलब्धीका रुपमा लिएको छु। र यसले ईन्द्रजीत चौधरी पनि क्षमतावान व्यक्ति रहेछ भन्ने कुराको पुष्टि भयो। र ०६४ यता देउखुरीमा भएका विकास निर्माणका योजनाहरुमा यसको पनि योगदान रहेछ भन्ने कुराको पनि अहिले बुझाइ भएको छ। हुलाकी राजमार्गको योजना मैले चुनावकै क्रममा पनि प्रतिबद्धता गरेको थिएँ। यो अहिले सम्पन्न हुने क्रममा छ। जनताको तटबन्धनको योजना अहिले पनि सञ्चालनमै छ।

बड्कापथ सिंचाइ आयोजनाको काम पनि भैरहेको छ। यो आयोजना ०६४/०६५ बाटै निर्माण सुरु भएको हो। ०७४ मा निर्वाचित भैसकेपछि देउखुरीका सबै जसो वडाहरुमा खानेपानीको आयोजना सञ्चालनको अवस्था छ। म स्वास्थय मन्त्री भैसकेपछि स्थायी राजधानीलाई केन्द्र बनाएर भालुवाङमा ५० शैयाको अस्पताल निार्माणको योजना ल्यायौँ। र अहिले ५० शैयाको अस्पताल सुरु भैसककेको अवस्था छ।

महेन्द्र राजमार्गमा धेरै दुर्घटना भएकाले प्रदेशकै सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गरिनु पर्छ भन्ने लाग्यो र अहिले लमहीमा यो सेन्टर बनिरहेको अवस्था छ। अहिले प्रादेशिक अस्पतालमा ओपिडि र जनरल सेवा निशूल्क गराइएको छ। र यसलाई प्रदेश अन्तर्गतका जति पनि अस्पतालहरु छन् सबैमा लागू गर्ने योजना छ। ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम जन्म मृत्यु र मातृ मृत्यु दर कम गर्नका लागि घर घरमै गएर निःशुल्क रुपमा सुत्केरीहरुको चेकजाँच गर्ने , भिडियो एक्सरे गर्ने र बच्चाको अवस्था के छ भनेर पूर्व सतर्कता गराउने कार्यक्रम पनि भैरहेको छ।

त्यसका लागि ७० वटा अल्ट्रा साउण्ड मेशिन वितरण पनि भैसकेको छ। त्यसपछि क्यान्सरका बिरामी, मृगौला प्रत्यारोपन र मुटुको भल्भ फेरेका बिरामीहरुका लागि दुई लाख रुपैयाँ राहत पनि दिएका छौँ। यस अलावा यहाँका विकटका क्षेत्रमा सडक निर्माणको काम मेरो प्राथमिकतामा छ। नेपाल भारत सीमा क्षेत्रमा आधारभूत सुविधा छैन।

त्यहाँ यो सेवा पुर्‍याउनका लागि काम गरिरहेका छौँ। राजधानी कार्यान्वयनका लागि अझै राप्ती नदीमा ५ वटा पुल थपिने छन्। यसले राप्ती वारी र पारीको विभेदको अन्त्य हुनेछ। देउखुरी उपत्यकाको विकासका लागि गुरुयोजना निर्माण भएको छ, त्यो गुरुयोजनाको काम पूरा गर्नका लागि मेरो तत्परता रहने छ।

स्थायी रजधानी घोषणामा यहाँको पहल कदमी कस्तो भयो?  

दाङमा स्थायी राजधानी घोषणा गर्ने विषय निकै जटिल नै थियो। यसमा कला नपुर्‍याएको भए समस्या पनि हुने थियो। उपयुक्त समयमा हामीले निर्णय गर्‍याैँ। सुरुमा यसको स्थायी राधजानी र नाम टुंग्याउने विशेष समिति निर्माण गर्‍याैँ। त्यति बेलैदेखि हामीले ध्यान दिएका थियौँ। त्यो समितिले विज्ञहरु चयन गर्ने बेलामा पनि देउखुरीलाई केन्द्र बनाएर घोषणा गर्नुपर्छ भन्नेमा ध्यान दिएरै चयन गरियो।

त्यसमा मेरो भूमिका ठूलो थियो। सभामुखसँग मेरो आफ्नो व्यक्तिगत पहलकदमी पनि यसमा थियो। मैले उहाँलाई बेला-बेलामा यस बारे सुझाव दिइराखेँ। देउखुरीमा सम्भव छ भनेर देउखुरीमा रहेको जग्गाको डाटा संकलन गरेर मैले सभामुख र तत्कालीन मुख्यमन्त्रीलाई पनि बुझाएको थिएँ। र यहाँ राजधानी आइसकेपछि व्यवस्थापकीय पाटो जस्तै राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापन, उचित स्थानमा स्थानान्तरणका लागि मैले पहल गरिरहेको थिएँ।

जब राजधानी निर्धारण विशेष समितिले १२ वटै जिल्लामा सुझाव संकलन गरेर प्रतिवेदन तयार पार्ने बेलामा पनि जुन मापदण्ड बनायो। त्यो मापदण्ड भित्रबाट १२ वटै जिल्लाको केन्द्रका रुपमा देउखुरी भन्ने बनाइसकेपछि त्यसलाई पारित गर्ने विषयमा पनि सभामुखसँग बसेर नीति निर्माण गर्ने कुरा पनि भएको थियो। र त्यसपछि संघीय सरकारलाई स्थायी राजधानी घोषणाको लागि पहल गर्ने कुरामा पनि मैले समन्वय गरेँ। र संसदमा यो प्रस्ताव लगेपछि फटाफट निर्णय प्रकृयामा लैजाने कुरामा मैले सुझाव दिएको थिएँ।

अहिले स्थायी राजधानी घोषणा गरिएको भएपनि स्थायी संचरना नबन्दासम्म राजधानी सर्दैन भनेर तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले भन्नु भएको रहेछ। यसले के भयो त भन्दा स्थायी संरचना भए मात्रै राजधानी सार्न त १० वर्ष लाग्छ भन्ने भयो। १० वर्षसम्म त राजधानी बुटवलमै रहने भयो भन्ने मनोविज्ञानले पनि काम गर्‍याे। तर १० वर्षसम्म राजधानी बुटवलमै रहने हो भने त स्थायी राजधानी घोषणा गरेको त अर्थै भएन।

त्यसैले गर्दाखेरी कम्तीमा प्रदेशसभा हामीले लैजानुपर्छ भनेर प्रदेशसभा ल्याउनका निम्ती प्रदेशसभा भवन निर्माण गर्नुपर्‍याे। यसका लागि सभामुख र मुख्यमन्त्री समक्ष भनसुन गरियो र अहिले भवन निर्माणको क्रम जारी छ। र मैले सरकारका मन्त्रीहरुलाई पनि मन्त्रालयहरु छिटो सारौँ भनेर दबाव दिइनै राखेको छु। पछि म आफैं सरकारमा गएपछि मैले मेरो मन्त्रालय मैले स्थायी राजधानीमै सारिसकेको छु। र मन्त्रालयको काम यहीबाटै चलिरहेको छ।

स्थायी राजधानी कार्यान्वयनका लागि अन्तरविरोध आइरहन्छ नै। यसर्थ त्यो अन्तरविरोध चिर्न सक्ने, समाधान गर्न सक्ने र कार्यान्वयन गर्न सक्ने नेतृत्व देउखुरीमा चाहिएको छ र त्यो म सक्छु पनि। म सुरुदेखिनै निर्णय गर्ने प्रकृयादेखि कार्यान्वयन प्रकृयामा उतार्नुपर्छ र त्यसपछि मात्रै मेरो जिम्मेवारी पूरा हुन्छ भन्ने सोचेको छु। र मलाई मेरो पार्टीले प्रतिनिधिसभा उम्मेदवार बन्नका लागि भनेको थियो तर मैले आफू प्रदेशसभा सदस्यको उम्मेदवार नै बन्ने भएको हुँ।

राजधानीको काम बाँकी नै छ, त्यसैले मैले प्रदेशमै ड्युटि दिन्छु भनेर मैले प्रदेश रोजेको हो। र मैले मेरो पार्टीलाई भनेको पनि हो, कि प्रतिनिधिसभा हाम्रो पार्टीको भागमा परे पनि म जान्नँ तर प्रदेशसभा नपाए पनि छाड्दैन भनेर मैले भनेको पनि थिएँ। र देउखुरी विकासको मुख्य जिम्मेवारी प्रदेश सरकारसँगै छ।

स्थायी राजधानी कार्यान्वयनको अनुभुत त भएन नि!

यसमा केही समस्या छन्, खासगरी समस्या भौतिक पूर्वाधारकै समस्या हो। स्थायी राजधानी कहाँ आउने? भवनहरु चाहिए। सुरुमा भौतिक पूर्वधारको समस्या हो। अब यहाँ राजधानी कार्यान्वयनका लागि राप्ती प्राविधिक शिक्षालयको भवन उपयुक्त हो। तर यसको उचित व्यवस्थापन हुनु पर्‍याे। पछि शिक्षालयलाई गढवाको सरस्वती माविमा स्थानान्तरण गर्ने भनेर पहल पनि भयो। त्यसका लागि त्यो मावि पनि सर्नुपर्‍याे फेरी।

अनि त्यो माविलाई स्थानान्तरण गर्नका लागि अस्थायी संरचना बनाउन डेढ वर्ष लाग्यो। र अहिले त्यो मावि स्थानान्तरण भैसकेको छ। राप्ती प्राविधिक शिक्षालय पनि सर्दैछ। र सर्ने क्रममा जति वटा घर खाली हुँदै जान्छन्, तिनीहरुको मर्मत सम्भार गरेर बोर्डहरु टाँग्ने भन्ने सल्लाह भएको छ। ती भवनहरुमा मुख्यमन्त्रीको कार्यालयसहित विभिन्न मन्त्रालयको बोर्डहरु टाँग्ने भन्ने सल्लाह भएको छ।

बोर्डहरु टाँगिन्छन् मात्रै की मन्त्रालयहरु आउँछन् पनि?

पहिला ती निकायहरु आउने ठाउँ बनाइन्छ। मन्त्रालयका भवन तयार भैसकेका छन्, आउनुस् पनि भनिन्छ। त्यसपछि सर्ने प्रकृया सुरु हुन्छ। त्यसपछि प्रदेशसभा भवन पनि यही कात्तिक महिनाभित्र सम्पन्न हुन्छ। यो पूरा भयो भने आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको सपथ ग्रहणको काम पनि यही हुन्छ।

यसका लागि प्रदेश प्रमुख समक्ष हामीहरु लागिरहेका छौँ। हामीले मुख्यमन्त्रीसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ। र निर्वाचन पछि मुख्यमन्त्री बिदाई हुने बेला स्थायी राजधानीबाटै बिदाई हुनुपर्छ भनेर पनि हामीले उहाँसंग लबिङ गरिरहेका छौँ, उहाँ सकारात्मक हुनुहुन्छ।

तपाईको जीतको आधार के हो?

हामीहरु ०७४ को निर्वाचनमा पनि गठबन्धन मै थियौँ, त्यो बेला गठबन्धन एमालेसँग थियो। त्यो बेलाको गठबन्धनको हिसाबले हेर्दाखेरी यो क्षेत्रमा बलियो शक्तिका रुपमा माओवादी, दोस्रोमा काँग्रेस र तेस्रोमा एमाले थियो। र हाम्रो प्रतिस्पर्धा काँग्रेससंग थियो।

अहिले माओवादी पनि बलियो र काँग्रेस पनि बलियो तर कमजोर एमालेसँग प्रतिस्पर्धा छ। यसले गर्दाखेरी त्यति धेरै चुनौती छैन। हामीले सहजै जीत्छौँ। र मेरो प्रदेशसभा क्षेत्रका उम्मेवारको कुरा गर्ने हो भने पनि राजनीतिक रुपमा म जतिको परिपक्व कोही पनि हुनुहुँदैन। राजनीतिक रुपमा परिपक्वता निर्वाचनका लागि अनिवार्य पनि हो।

गठबन्धन कार्यान्वयनको पाटोलाई कति सहज देख्नु हुन्छ?

केही तिक्तताहरु छन्, त्यसलाई हामी मेटाइरहेका पनि छौँ। खासगरी गठबन्धनको आवश्यक्ताका कुराहरुको बोध गराइरहेका छौँ। यसर्थ गठबन्धन कार्यान्वयनमा कुनै व्यवधान देखिने छैन। समन्वयको पाटो बलियो बनेको छ। एकाध असन्तुष्टिहरु भएपनि मतदानको घडीसम्म सबै सच्चिने छन्।

प्रकाशित: ५ कार्तिक २०७९ १८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App