उनकै नेतृत्वमा आइतबार साँझ संविधानसभा भवनमा भएको भव्य औपचारिक कार्यक्रम बीच नेपालको संविधान जारी गरिएको छ।
दुई वटै संविधानसभाको नेतृत्व गर्ने अवसर सुवास नेम्वाङले प्राप्त गरे। पहिलो संविधानसभाका बेला २०६९ जेठ २ गते भएको सहमति कार्यान्वयन गर्दै संविधान जारी गर्नुपर्ने पक्षमा रहेका नेम्वाङ अहिले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान संशोधन गरेर थप उपलब्धि हासिल गर्न सकिने बताउँछन् ।
उनले सफलतापूर्वक संविधान जारी गर्न पाएकोमा खुसीसमेत व्यक्त गरेका छन्। संविधानका धाराहरु पारित गर्ने बेला लामो समय बैठकको अध्यक्षता गरेका नेम्वाङ आफूलाई खुसीले नै त्यसरी बस्न उत्प्रेरणा जागेको बताउँछन्।
दुई वटै संविधानसभाको नेतृत्व गरेका नेम्वाङसँग नागरिककर्मी बलराम पाण्डेले गरेको कुराकानी :
संविधानसभाको यतिका वर्ष नेतृत्व गर्नुभयो। संविधान जारी भएको छ। यो समयमा तपाईं आफूलाई व्यक्तिगत रुपमा कस्तो लागेको छ?
२००७ सालदेखिको जनताको चाहना र भावनाले मूर्तता पाउँदैछ। एउटा प्रष्ट गन्तव्यतर्फ अघि बढ्ने आधार तयार भएको छ। नेपालको इतिहासमा सार्वभौम प्रतिनिधि संस्थाले पहिलो पटक संविधान बनाउँदैछ। यो सफलतापूर्वक संविधान जारी हुँदैछ। यो अनुभूतिले मलाई साह्रै खुसी तुल्याएको छ।
संविधानका प्रत्येक धारा र प्रस्तावना पारित गर्ने क्रममा चार दिन लगातार दिनभर बैठकको अध्यक्षता गर्नुभयो। त्यसबेला कस्तो अनुभूति गर्नुभयो?
ठूलो काम सम्पन्न हुने विन्दुको सँघारमा हामी पुगेका थियौं। त्यही अनुभूतिका साथ समयमै टुंगो लगाउनुपर्छ भनेर त्यही भावनाले म उत्प्रेरित भएँ। अनि त्यही भावनाका आधारमा म निरन्तर लाग्न सकेको हुँ।
संविधान निर्माणसँगै जनताकै जित भएको हो त?
यो ऐतिहासिक अवसर हो। जसको पर्खाइमा नेपाली जनताले ७० वर्षदेखि पर्खिरहेका थिए। आज आएर नेपाली जनताको चाहना र भावनाले मूर्तता प्राप्त गरेको छ। यो सबै तराई मधेसदेखि हिमालसम्मका जनताको जित हो। जनताले जितेका छन्। संविधानसभामा रहेका र नरहेका सबै राजनीतिक दलको सक्रियता, क्रियाशीलताको परिणाम अहिलेको संविधान हो।
अन्तरबस्तु हेर्दा यो संविधान कस्तो हो?
मैले चाहेका धेरै कुरा यसमा नपरेको हुन सक्छ। सबैले चाहेको सबै कुरा यसमा पर्न सम्भव छैन। नेपालको संवैधानिक इतिहासमा यसलाई तुलना गरेर हेर्ने हो भने जनताले बनाएको पहिलो संविधान हो। जनताको व्यापक सहभागितामा बनाएको पहिलो संविधान हो। विश्वमै सहभागिताका हिसाबले बनाएको संविधान पनि हो। र, तुलना गर्ने हो भने नेपालको संवैधानिक इतिहासमा सबैभन्दा लोकतान्त्रिक र प्रगतिशील संविधान हो। धेरै कुरा समावेश छन्। उपलब्धिलाई संस्थागत गरिएको छ। जति उपलब्धि संस्थागत हुन बाँकी छन् यसलाई संशोधन र परिमार्जन गर्दै जान सकिने आधार बनाएका छौं।
संविधानसभामा नरहेका र रहेका राजनीतिक दलले पनि विरोध गरिरहेका छन्। कार्यान्वयनमा समस्या आउँदैन?
कार्यान्वयन नै अबको चुनौती हो। हिजो संविधान निर्माण चुनौती थियो। अब प्रभावकारी र सहज कार्यान्वयनको चुनौती हो। त्यो पनि हामीले नै गर्नु छ।
त्यसमा कुनै विवादै छैन। संविधान बनाउने चुनौती हामीले पूरा गरिसक्यौं। त्यसलाई सफलतापूर्वक सम्पन्न गर्यौंत। अब प्रभावकारी ढंगले कार्यान्वयन नै हाम्रा अगाडि चुनौती छन्। संविधानले अधिकार, कर्तव्य लगायतको व्यवस्था गरेर राज्य सञ्चालनको व्यवस्था गर्छ। तर विश्वको कुनै पनि संविधानले बुद्धि, विवेक र क्षमता बाँड्दैन। त्यो हामी आफैंले गरेर देखाउनुपर्छ। हाम्रो अगाडिको चुनौती भनेको राम्रो संविधान बनेको छ। त्यसलाई कार्यान्वयन गर्नु नै हो।
त्यसका लागि अहिलेदेखि नै राजनीतिक दलले संविधानसभा भित्र र बाहिर रहेका राजनीतिक दलबीच छलफल गरेर सहज कार्यान्वयन गराइनुपर्छ। संशोधनको आधार दिएको छ। त्यसमा उभिएर संशोधन गर्दै अघि जानुपर्छ।
पहिलो र दोस्रो सभा दुवैमा तपाईं नै सभाध्यक्ष हुनुहुन्थ्यो। अहिले कस्तो महसुस भइरहेको छ?
संविधानसभाले संविधान बनाओस् भनेर अघिल्लो संविधानसभाका बेला पनि म लागेको थिएँ। २०६९ जेठ २ गते दलहरुबीच सहमति पनि भएको थियो। त्यसबेला भनेका कुरा मलाई अहिले पनि ताजा छ। अहिले यो संविधान बन्यो भने मधेसी, जनजाति, महिलाको नेपाली जनतामैत्री संविधान बन्न सक्छ। होइन भने यो भत्किन सक्छ। उपलब्धि गुम्न सक्छ। केही साथीले हामीलाई नगदी र हातहाती चाहिन्छ भनेर भन्नुभएको मलाई अहिले पनि सम्झना छ। सयमा सय चाहिन्छ भन्नुभयो। तर संविधानसभाले सयमा सय दिन सकेन। संविधानसभामा रहेका राजनीतिक दलबीच फेरि विमति जन्मियो। अनि संविधानसभा विघटन भयो। धेरै कुरा भत्किने क्रममा गए। अहिले फेरि संविधानसभालाई जोडेर हामीले संविधान बनाएका छौं।
एउटा राम्रो र प्रगतिशील संविधान बनाएका छौं। भएका उपलब्धि संस्थागत गरौं। केही बाँकी रहेका कुरा यही संविधानको जगमा उभिएर समेटौं। संसारभरिको प्रक्रिया यही हो।
बाहिर रहेका राजनीतिक दललाई के भन्न चाहनुहुन्छ?
संविधानसभामा रहेका राजनीतिक दललाई पहिले आग्रह गर्न चाहन्छु। अहिले बनेको संविधानको जगमा उभिएर सबैलाई समेट्ने गरी अघि बढ्नुस्। जो संविधानसभाभन्दा बाहिर जानुभएको छ, यो उहाँहरुको पनि संघर्षको परिणाम हो। म उहाँहरुलाई आग्रह गर्न चाहन्छु। उहाँहरुलाई भन्न चाहन्छु— तपाईंहरुले पनि मेहनत गरेको संविधान भएकाले प्रक्रियामा अघि बढ्नुस्। त्यसो गर्दा नै लोकतान्त्रिक प्रक्रिया बलियो हुन्छ। त्यसो गर्दा तपाईंहरु पनि बलियो बन्नुहुनेछ। नेपाल र नेपाली जनता बलिया हुनेछन्।
असोजमै संविधान जारी गर्न सकिन्छ भन्नेमा तपाई यसअघि नै विश्वस्त हुनुहुन्थ्यो त?
यसपटक पनि जटिलता उत्पन्न नभएको होइन। दलहरुको विवाद उत्कर्षमा पुगेका बेला आन्दोलनकारी शक्ति नै एकअर्कामा संवाद नगरी पर बसेको अवस्था यो संविधानसभामा पनि देखिएको थियो। त्यस्तो बेला संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेर पनि मैले सहमतिको प्रयास गरें। हामी सबैले प्रयास गर्यौं । अन्ततः हामी सफल भयौं। कहिलेकाहीँका अप्ठेरा सम्झँदा अहिले आनन्द लाग्छ। धेरै अप्ठेराका बीचबाट हामी यहाँ आएका हौं।
जनतालाई यहाँले भन्नुपर्ने कुरा केही छन् कि?
अब संविधानसभाबाट जुन संविधान पारित गरेका छौं, नेपालकै इतिहासमा राम्रो र विशेषतायुक्त संविधान पहिलोपटक बनेको छ। योभन्दा अघि नभएका धेरै आधार यो संविधानले तयार गरेको छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायत नवीन विशेषता यो संविधानको विशेषता रहेको छ। विगतमा संविधानको कमा र फुलस्टप पनि परिवर्तन गर्न हुँदैन भन्ने चाहनाविपरीत जनताको भावना अनुसार सबैलाई समेटेर संविधान निर्माण गरिएको छ। लचिलो संविधान निर्माण गरेका छौं। जनसमुदायलाई म के आग्रह गर्न चाहन्छु भने जति कुरा यो संविधानमा समाहित छन्, यो नै अहिलेका लागि उपलब्धि हो। समेटिन बाँकी कुरालाई समेट्न सकिने आधार तयार गरेका छौं। यसैको जगमा उभिएर आफ्ना अधिकार पूरा गर्दै अघि बढ्नुपर्छ। अहिले नै सयका सय खोजेर पाइँदैन।
प्रकाशित: ३ आश्विन २०७२ २२:४४ आइतबार





