४ वैशाख २०८१ मंगलबार
अन्तर्वार्ता

'आउने सन्ततीलाई यहीँ बस्न मन लाग्ने धनगढी बनाउने सोच छ'

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी यस प्रदेशको अस्थाई राजधानीका साथै शैक्षिक, औद्योगिक, व्यवासायिक केन्द्र पनि हो। प्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी आरजु राणाको संघीय संसदीय निर्वाचन क्षेत्र समेत रहेको धनगढी उपमहानगरपालिकालाई ठूला राजनीतिक दलहरुले विशेष महत्व दिएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरको प्रमुखमा विजयी भएका छन्। विजयी भएपछि हमालसँग नागरिककर्मी दिलबहादुर छत्यालले गरेको कुराकानी यस प्रकार छः

१. तपाईकाे जन्म कहाँ भएको थियो?

हाम्रो बसोबास टिकापुर नगरपालिका साविकको मनिकापुर गाविसको झन्झटपुरमा थियो। म कैलालीमा जन्मेर र हुर्केको हुँ। विसं २०२० सालमा मेरो जन्म भएको हो।

त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरेँ। एसएलसी उतिर्ण गर्ने म पहिलो व्याज हो। अहिलेको कैलाली बहुमुखी क्याम्पस त्यतिबेला कैलाली कमर्श क्याम्पस थियो। त्यहाँ पनि प्रमाणपत्र तह उतिर्ण गर्ने मेरो पहिलो व्याज हो। म भरत्तोलनको राष्ट्रिय खेलाडी पनि हो। राष्ट्रिय खेलकुद परिषदमा पनि आबद्ध भएँ। २०३९ सालदेखि धनगढीमा टिनको बाकस बनाउने पसलदेखि व्यवसाय सुरु गरेँ।  

२. तपाईलाई मेयर हुने चाहना किन जाग्यो?

मान्छेहरु एउटा लेवल पार गरेपछि धनगढी छोडेर जाने जुन परिपाटी थियो। धनगढी तबसम्म मात्र बस्ने भए जबसम्म बिक्दैन। धनगढीमै बस्ने, धनगढीमै टिक्ने र धनगढीलाई नै गन्तव्य बनाउने भनेर हामीले बिभिन्न गतिबिधि सुरु गर्‍यौं। विमानस्थलमा कालोपत्रे गर्ने एक पैसा अभियान, २१ बुँदे मागसहित २१ किलोको माला लगायतका जति गतिबिधि गर्‍यौ धनगढी अथवा सुदूरपश्चिमको लागि गेम चेन्जरको रुपमा होस भनेर गरेका थियौं। धनगढीमा भविष्य नदेख्ने युवाहरुलाई यहि भविष्य खोज्ने वातावरण सृजना गर्नु पर्छ। देश संघीयतामा गएर अधिकार सम्पन्न स्थानीय सरकार बनेपछि यो हाम्रो लागि अवसर हो। बजेट पनि छ, अधिकार पनि छ, यसमा गएर काम गर्न सकेमा एउटा ट्र्याक बनाउन सकिन्छ। हाम्रो धनगढी भोलिका सन्ततीलाई यहि बस्न सकिने नमुना धनगढी बनाउनु पर्छ भनेर मेयर बन्ने सोच बनाएको हुँ।

३. ठूला राजनीतिक दललाई छोडेर जनताले यति धेरै मत दिएर तपाईलाई जिताउनुको कारण?

मैले देखेको कुरा के हो भने, म विगतमा व्यवसायिक क्षेत्रको मान्छे भएपनि विसं २०३८ सालदेखि हामीबाट धेरैले लाभ लिएका छन्। हामीबाट सिकेर सयौ मान्छे सफल व्यवसायी र उद्यमी बनेका छन्। उद्यम उत्पादन गर्ने ईन्टिच्युट जस्तै बन्यो। हामीहरु पनि अगाडि बढ्यौं, उनीहरु पनि अगाडी बढे। पहलमानपुरमा मेरो मिल हुँदा त्यतिबेला त्यहाँ एन्टिस्न्याक्स भ्याक्सिन राखेर गाउँका जनताको सेवा गरेका थियौं। त्यतिबेलादेखि नै सामाजिक काम गर्न सुरु गरेको हुँ। भुतपूर्व स्टाफ युनाईटेड भएर पैसा पनि उठाएर सहयोग गरेँ र चुनावी अभियानमा पनि लागेँ। यसैगरि सामाजिक काम गर्दै आयौं। नारायण गोपाल, हरिबंश आचार्य लगायतका कालाकार ल्याएर च्यारोटी शो गरेर धनगढीमा ब्लड बैंक हामीले बनाएको हो। खेलकुद क्षेत्र, सामाजिक क्षेत्रमा सहयोग गर्दै आएँ। धनगढीका जनताले यिनीहरुले बेइमानी गर्दैनन्, बोलेको कुरा पूरा गर्छन् भनेर हामीलाई पत्याएका हुन्। जनताले हिजोको दिनमा सबैलाई विश्वास गरेका हुन्। राजनीतिक दलका उम्मेदवारलाई पनि विश्वास गरेका हुन्। जितेर गएपछि त्यस अनुसारको काम नगरेकाले जनतालाई धोका महसुस भयो। अघिल्लो चुनावमा बजार क्षेत्रका जनतालाई सबैकुरा थाह थियो हामीलाई मत दिए तर गाउँकालाई थाहा थिएन। ५ वर्षमा हामीले गाउँ गाउँमा गएर अजेण्डा चिनायौं। सबैभन्दा ठूलो कुरा भ्रष्टाचारले आक्रान्त बनाएको छ। भ्रष्टाचार गर्नको लागि प्रणालीको विकास हुनु दिनुहुँदैन। अहिले जुन पार्टीको मेयरले जित्यो उसको पार्टी बाहेक अरु पार्टीका कार्यकर्तालाई पाखा लगाइने गरेको पाइयो। हामीले जितेपछि सबैको साँझा हुन्छ, हामी कसैलाई काखा र पाखा गर्दैन भनेर पनि विश्वास दिलाउन सक्यौं। धनगढीको विकासको जनताको चाहना र हाम्रो लक्ष्य एउटै थियो त्यसैले जनताले पत्याए।

४. तपाईलाई जितपछि के महसुस भएको छ?

गठबन्धनका बावजुद जुन यति धेरै मत प्राप्त भयो। मेरो चुनावमा चुनौती लागेको र अहिले गर्वको बिषय बनेको के छ भने विगतमा धनगढीमा जातीय, भेगीय नारा लाग्थ्यो। तर मेरो चुनावको अभियानमा सबै भेग, सबै जात, सबै धर्म, क्षेत्रका मान्छे लागे यो मेरो लागि गर्वको बिषय हो, यसमा मैले खरो उत्रनु पर्ने भएको छ। यसले भोलिका दिनमा काम गर्ने प्रतिस्पर्धा बढाउँछ र यसले विकास हुन्छ। जातीय, भेगीय आवरणमा बसेर चुनाव जित्ने काम नगर्ने अवस्था थियो। हामीले राम्रो काम गर्न सक्यौ भने काम गर्ने व्यक्ति जित्ने नयाँ मार्गमा यहाँको राजनीति अघि बढ्छ।

५. मेयर बनेपछि तपाईको पहिलो प्राथमिकता के हुन्छ?

मेरो पहिलो प्राथमिकता वडा क्लिनिक संचालन गर्ने हुन्छ। एउटा महिला बिरामीको उपचार गर्न कुखुरा बेचेर सदरमुकाम आउने अवस्थाको अन्त्य गर्छु। क्यालेण्डर बनाएर प्रत्येक वडामा मिति निश्चित गरेर बिशेषज्ञ सेवासहितको सुविधा उपलब्ध गराउँछु। अहिले तत्कालका लागि स्त्री रोग बिशेषज्ञ सेवा सुरु गर्छु। मेयरले चढ्ने गाडी तत्कालका लागि त्यसमा प्रयोग गर्छु। अल्ट्रासाउण्ड, ईसिजी लगायत जाँचहरु त्यो क्लिनकमा निःशुल्क उपलब्ध गराइन्छ। एउटा फिजिसियन चिकित्सक पनि राखिन्छ। गाउँका जनतालाई स्थानीय आफ्नो सरकार छ भन्ने आभास होस्।  

६. तपाईले भनेको ‘धनगढी मोडेल’ के हो?

भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी राजनीति बनाउने हो। अर्को कुरा राजनीति जुन पेशाको रुपमा बनाइएको छ, यसलाई पेशा होइन सेवा बनाउने हो। पहुँचको आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा विकास र काम गर्ने हो। प्रणालीको विकास गर्ने हो। एउटा शाखामा ५ जना कर्मचारीको आवश्यकता छ, २० जना राखेको छ। सरकारी विद्यालयकोे स्तरोन्नती गर्नु छ। स्वास्थ्य, शिक्षा, कृषि र रोजगार छ। एक वडा एक उत्पादन गरेर गाउँको आर्थिक विकास र आर्थिक उन्नती गर्ने योजना छ। ग्र्याभेल, तालिमा उपभोक्ता समिति यसैमा अल्झने नभई नयाँ मोडेलबाट काम गर्ने सोच छ। मैले अब एक वर्षमै धनगढीमा फूल उत्पादन गरेर धनगढीलाई फूलमा आत्मनिर्भर बनाउँछु। बढी उत्पादन भएकालाई काठमाडौ पठाउने व्यवस्था नगरपालिकाले गर्छ। कागजका गिलास लगायका सामग्री बनाएर बिस्तारै प्लाष्टिकमुक्त नगर बनाउँछु। श्रद्धान्जली वन बनाउँछु । ६ लेन सडकको बीचमा वृक्षारोपण गर्छु। पार्किङ, त्यसैमा शौचालय र रेष्टुरेन्ट बनाउँछु। तपाई जोकोहीलाई नविनतमा आईडिया आउँछ भने दिनुहोस सबै मिलेर धनगढी बनाउने हो। अन्य धैरे कुरा घोषणापत्रमा उल्लेख गरेको छु।

७. धनगढी डुबानको समस्या र सडक चौडा बनाउने तपाईको योजना के छ?

जो सडक बनिसकेका छन्, त्यसमा त केहि गर्ने कुरो हुँदैन। अब बन्ने सडकमा क्षेत्राधिकार अनुसार नै चौडा बनाइन्छ। चुनौतीको रुपमा रहेको सार्वजनिक जग्गा अतिक्रमण हो। सार्वजनिक जग्गा कहाँ छन् त्यो खोजी गरेर खाली गराउँछु। अनौंपचारिक रुपमा हिजो कर्मचारी भेट्न आएका थिए, सार्वजनिक जग्गा खोज्नुहोस भनेर मैले भनिपनि सकेँ। धनगढी डुबानको समस्या खोला नाला अतिक्रमण गर्नु र नाला भएको ठाउँ पुरिनु हो। अहिले गरेन भने दिर्घकालीन रुपमा दुःख पाइन्छ। मेरो प्रयास त्यहि हुन्छ। मैले अर्को पटक चुनाव लड्ने होइन। त्यसैले सम्झाउने हो मानेन भने पूरै शक्ति प्रयोग गरिन्छ किन भने आउने सन्तती वा तपाईको छोराछोरी पुस्तालाई धनगढीमा डुबिँदैन भन्ने होस।

प्रकाशित: ८ जेष्ठ २०७९ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App