coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

फुटबलमा व्यापारिक घरानाहरुको पनि लगानी भित्रियोस्: इन्द्रमान तुलाधर

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टोलीले सहभागीता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागीता जनाउँदै छन्।

दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। शहीद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लवले असन्तुष्टि जनाएका छन्।

अक्सन हुने/नहुने दुविधाकाबीच सम्पन्न भएसँगै विशेष गरी ए डिभिजन खेलको क्लव मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा तथा न्यूरोड टिम (एनआरटी)ले असन्तुष्टि जनाइरहेका छन्। यही विषयको सेरोफेरोमा रहेर अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरसँग गरिएको कुराकानीको सम्पादित अंशः

एन्फाले नेपाल सुपर लिग (एनएसल) एन्फको कार्यक्रमको रुपमा अगाडि सारेको थियो। ए डिभिजन लगत्तै आयोजना हुन लागेको एनएसलको अक्सन पनि सम्पन्न भइसकेको छ। यद्यपि शीर्ष डिभिजनका क्लवले खेलाडी स्थानन्तरणको विषयमा असन्तुष्टि जनाइरहेका छन्। खासमा क्लवको असन्तुष्टि के विषयमा हो?

एन्फाले फ्रेन्चाईज टोलीहरुलाई विभिन्न व्यापारिक घरानीहरुलाई फुटबलमा लगानी गर्नका लागि फ्रेन्चाईज लिगको परिकल्पना गरिएको हो। नेपाल सुपर लिग विशुद्ध एउटा फ्रेन्चाईज लिग हो र सोही अनुसार हामीले परिकल्पना गरेर एन्फाको कार्यक्रममा समावेश गरेका हौं। फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारिक घरानाहरुलाई फुटबलमा ल्याउने प्रयास गरेका हौं। फुटबलमा व्यापारिक घरानाहरुको पनि लगानी भित्रियोस् भन्ने उद्देश्य हो। एनएसललाई सहयोग पुगोस् भनेर खेलाडी तथा नामावली पनि बनाएका छौं। एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्छ भन्ने नियामावली राखेका छौं। लिग लगत्तै मोफसलका प्रतियोगिताहरु खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लवको असहमति रहेको छ। एनएसलको आयोजकको सल्लाह बिना नै एनएसलको मिति आउनु क्लवहरुको गुनासो आएको छ। क्लवहरुको गुनासो सम्बोधनकालागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ। आज भोलि नै यस विषयले टुङ्गो लाग्ने विश्वास छ।

क्लवहरुले गुनासो गरिरहेका छन्। विशेष गरी खेलाडी स्थानन्तरणको विषयमा क्लवहरुले असन्तुष्टि जनाइरहेका छन्। यस बाहेक क्लवको अन्य असन्तुष्टिहरु के हुन?

यो विषय क्लबहरुको माध्यमबाट एन्फमा आएको छ। वैधानिक रुपमा करारमा रहेका खेलाडीलाई अक्सनमा राख्नु अगाडि क्लवसँग छलफल गरियोस भन्ने थियो। यस्तै क्लवका केही कठिनाईलाई एनएसएलले टुङ्ग्याइदियोस् भन्ने चाहना थियो। मोफसलका प्रतियोगितामा सहभागिता जनाईरहेको अवस्थामा अवरोध गरियोस् भन्ने पनि थियो। खेलाडीहरुको हकमा क्लवसँग छलफल नभएकोमा असन्तुष्टिको रुपमा लिएका छन्।

फिफा र एएफसीबाट कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने गाइडलाईन छ। अस्तित्वमा रहेको ए डिभिजन लिग वा नेपाल सुपर लिग मध्येमा कुन हुने हो भन्ने गाईगुई पनि चल्न थालेको छ। आधिकारिक लिग कुन हो?

हामी यस विषयमा एकदमै क्लियर छौं। आयोजक एनएसएल, खेल्ने टिम होस्, एन्फा होस् या क्लव सबै यस विषयमा स्पष्ट छन्। नेपालको एउटै मात्र आधिकारिक लिग भनेको शहीद स्मारक लिग हो। ए डिभिजन लिग नै हो। यसैको च्याम्पियनले एएफसीको प्रतियोगिताहरु खेल्ने गर्छ। नेपाल सुपर लिग देशको एउटा फ्रेन्चाईज लिगको रुपमा लिएका छौं। यो प्रतियोगिता करिव साढे दुई महिना जति चल्छ। यो प्रतियोगिताबाट कुनै पनि क्लवले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैन्। यो प्रतियोगिता विशुद्ध फ्रेन्चाईज प्रतियोगिता हो। व्यापारिक घरानाहरुले लगानीमा क्लवलको खेल्ने घरेलु प्रतियोगिता हो। यो लिग शहीद स्मारक लिगको प्रतिस्थापन वा विकल्पको रुपमा ल्याइएको प्रतियोगिता होइन। शहीद स्मारक नै नेपालको आधिकारिक लिग हो।

क्लवहरुले असन्तुष्टि जनाइरहेको अवस्थामा र एन्फाले आफ्नो कार्यक्रम भनि रहँदा उत्पन्न विवाद समाधानका लागि फुटबलको अभिभावक संस्था एन्फाले कस्तो गृहकार्य गरिहेको छ त? प्रतियोगिताका लागि अक्शन सम्पन्न भइसकेको छ।

क्लवहरुले विज्ञप्ती जारी गरिसकेसँगै हामीले असन्तुष्ट क्लवहरुसँग बसेर छलफल गरिसकेका छौं। शुरुवातमा असन्तुष्टि जनाएको ८ क्लवसँग एन्फामा बसेर छलफल गरिसकेका छौं। एन्फाको बैठक पनि केही विषयमा सहमति भइसकेको छ। अक्शन अगाडि छलफल भएसँगै अक्शन रोक्नका लागि एनएसएललाई पत्र काटे पनि ढिला भएको हो। 

पत्र एकदमै ढिला भएकोले रोक्ने सम्भव भएन। आयोजकले अक्शन गरेपछि सबै विषयमा खुला छौं भन्ने कुरा आएपछि अहिले असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ। दुबै पक्षसँग हामीले वार्ता गरिहेका छौं। छलफल करिव करिव अन्तिम चरणमा पुगेको मैले बुझेको छु। क्लवले आधिकारिक धारणा पनि राख्दैछन्। त्यस विषयमा एन्फा अध्यक्षसँग क्लवहरुको भेट पछि एनएसएल क्लबहरुलाई औपचारिक रुपमा छलफलका लागि आह्वान गर्छौं। त्यसपछि एनएसल क्लव र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भन्ने लक्ष्यका साथ टुङ्ग्याउँछौं।

एनएसल एन्फाको कार्यक्रम भनिरहँदा दोस्रो संस्करण हुन लागेको छ। अहिलेसम्म क्यालेन्डरमा समावेश छैन। आउँदो सिजनमा समावेश होला। सँगै उत्तिकै मोफसलका प्रतियोगिता पनि रहेका छन्। कसरी व्यवस्थापन गर्नुहुँदै छ त एनएसएललाई?

मोफसलका विभिन्न गोल्डकप रहेका छन्। ती गोल्डकप भएकोले समावेश गर्न केही कठिन त  पक्कै छ। सामान्य अवस्थामा भदौ,असोजदेखि कात्तिकको २० सम्मलाई एनएसएलका लागि समय दिने योजना बनाएका छौं। त्यस लगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा शहीद स्मारक लिगलाई आयोजना गर्ने योजनामा छौं। फागुनसम्म लिग चलिरहेपछि त्यसपछिको समय चैत वैशाख, जेठ गोल्डकपका लागि छुट्याउने सोचमा छौं। जसका कारण मोफसलका प्रतियोगिता आयोजना गर्नेका लागि सजिलो हुन्छ। 

अहिलेको अवस्थामा लिग लगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाई आइरकेको अवस्था छ। अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्शन अगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं। त्यसपश्चात् रिलिज भएका खेलाडीमात्र अक्शनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं। समग्ररुपमा सबैलाई समेट्नका लागि राष्ट्रिय लिग पनि आयोजना गर्नुछ। मोफसलका प्रतियोगिता पनि उत्तिकै छन्। शहीद स्मारक ए, बी, सि डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ। महिलाका उत्तिकै प्रतियोगिता रहेका छन्। हामी यी सबैलाई नजुध्ने गरिकन भदौबाट सिजन शुरु गर्ने तयारी गरिहेका छौं।

तोकिएको मितिमा नै एनएसएल आयोजना हुन्छ नि?

तोकिएको मितिमा नै एनएसएल हामीले आयोजना गर्नुपर्छ। तोकिएको मिति भन्दापछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ। हामीले एशियन कप क्वालिफायर खेल्दैछौं। हामी अत्यन्तै कठिन समूहमा रहेका छौं। जोर्डन, कुवेत र  इण्डोनेसिया जस्तो समूहमा रहेका छौं। तयारी राम्रो गर्नुपर्छ। त्यसका लागि मिति तलमाथि भए असर पर्छ। तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय तयारीमा लाग्नुपर्नेछ। समयमा नै सम्पन्न गर्नका लागि क्लवहरुसँग छलफल गरिहेका छौं। कति जटिल विषय त छलफलपछि किनारा लागेका छन्। टेबलबाट नै समाधान हुनेमा हामी विश्वस्त छौं।

एनएसएल आयोजक र अभिभावक संस्थाबीच एनएसएल आयोजना सम्बन्धमा के–के विषयमा साझेदारी भएको छ?

एनएसएलमा हामीले आर्थिक पाटोमा खासै केही कुरा भएको छैन। व्यापारिक घरानाहरुलाई फुटबलमा आकर्षण गर्न कोशिस गरेका हौं। आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं। अघिल्लो संस्करण कोरोना महामारीको बीचमा पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना गर्न सफल हुनुभयो। सोही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसावमा राम्रो भएको पाएका छौं।

अहिलको अवस्थामा हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं। रेफ्रि खटाउने, मैदान व्यवस्थापन, परिषदबाट स्वीकृति लिने काम, प्रतियोगिताका नियामावली हेरिदिने काम, खेलाडी दर्ता, खेलाडी स्थानतरण, अनुसाशन गरी विभिन्न पाटामा हामीले हेरेका छौं। बाँकी आयोजनाको जिम्मा उहाँहरुले गर्नुभएको छ। परम्परागत तरिकाले चलिरहेको फुटबल भन्दा भिन्न फुटलब एनएसएलमा पाएका छौं। जुन हामील लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं। आयोजक एनएसएल र एन्फाबीच फुटबलको जितका लागि सहमति भएको छ।

प्रकाशित: ३ चैत्र २०७८ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App