coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘राष्ट्रिय सभामा मैले संवैधानिक दायित्व र कर्तव्य निभाउनेछु’

राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुराना नेता युवराज शर्मा निर्वाचित भएका छन्। शर्मा कांग्रेस बाँकेका पूर्व सभापति हुन्। राजनीतिमा दशकौं समय बिताइसकेका उनलाई पार्टीले अहिले मूल्यांकन गरेर लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो र निर्वाचित गरायो। राष्ट्रिय सभामा निर्वाचित भएका शर्मासँग नागरिकका लागि अर्जुन ओलीले गरेको संवादः

राष्ट्रिय सभामा निर्वाचित हुँदा कस्तो अनुभूति भइरहेको छ?

म माथी ठूलो जिम्मेवारी आएको छ। हिजोसम्म म फरक भूमिकामा थिएँ, अब मेरो भूमिका फरक भएको छ। पार्टीको अपेक्षा छ। कार्यकर्ताका अपेक्षा पनि छन्। पार्टी र कार्यकर्ता निराश नहुने गरी काम गर्नेछु।

निर्वाचित भइसकेपछि अब के गर्ने सोच बनाउनु भएको छ?

राष्ट्रिय सभामा मैले संवैधानिक दायित्व र कर्तव्य निभाउनेछु। अर्को कुरा पार्टीले मलाई जिम्मेवारी दियो, पार्टी प्रतिको कर्तव्य र दायित्व पनि निभाउने छु।  

तपाईले पार्टीमा राजनीति गरेको दशकौं भयो, तर अहिले बल्ल पार्टीले मूल्याकंन गर्‍यो, यसलाई कसरी लिनुहुन्छ?
यसमा एउटै शब्द भन्छु, ‘देयर’ आयो, दुरुस्त आयो।

तपाईले पार्टीमा विगतमा धेरै संघर्ष गर्नुभयो, तर हरेक अवसरबाट बञ्चित हुनुभयो, के कारणले तपाई बञ्चित हुनु भएको थियो?

यसमा मेरो पनि कारण छ एउटा। म स्वयं पनि कारण हो, एउटा। किनभने मेरो स्वभाव जुन छ, म आन्दोलनबाट आएँ। विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, पार्टीको आन्दोलन। आन्दोलनहरुको मैले नेतृत्व नै गरेँ। त्यसकारण मेरो स्वभाव एउटा राजनीतिकभन्दा पनि आन्दोलनकारीको बढी थियो। यही आन्दोलनकारीको स्वभावले गर्दाखेरि मेरो विचार सुशिल जीसँग मिलेन। २०४६ पछि विचार नमिलेपछि अन्तर संघर्ष बढ्यो पार्टीमा। त्यसै कारणले म चाही पछाडी परेको पहिलो कारण यही हो।

सुशिल कोइरालासँग कुरा नमिल्नुको खास कारण चाही के थियो?

२०४८ सालको पहिलो निर्वाचनमा मेरो उचाइँको अरु कोही थिएन। म पार्टीको सभापति थिएँ। त्यो स्थितीमा मैले टिकट पाउने पूरै आशा गरेको थिएँ। नाम पनि गएको थियो मेरो। एउटा न एउटा बहानाले मेरो नाम काटियो। नाम काटियो र मलाई अर्को दुःख के लाग्यो भने ६ महिना अगाडि राजीनामा गरेको थिएँ, शिक्षकबाट। म (तत्कालीन) शिक्षक संगठनको जिल्लाको सभापति र केन्द्रीय शिक्षक संगठनको महासचिव पनि हुँ। मेरो जागिर पनि गयो, मैले टिकट पनि पाएन। यसले गर्दा मलाई झन आक्रोशित बनायो। त्यहाँबाट मेरो टसल सुशिल जीसँग बढ्यो। अर्को कुरा मैले एकदम सही कुरा उठान गथ्र्ये, उहाँले त्यो कुराको खण्डन गर्ने। त्यो सब कारणले गर्दा मलाई दिक्क लाग्यो। मैले सभापतिबाट राजीनामा दिएँ। जिल्ला सभापतिबाट मैले राजीनामा दिएँ र जसलाई मन छ उसलाई सभापति बनाउनुस्, म सक्दिन भनेँ। राजीनामा नदिनुस् भन्दै हुनुहुन्थ्यो उहाँले। तपाईलाई एउटा सिट जित्नसँगको मतलब, त्यसको जिम्मेवारी म लिन्छु भने त्यसपछि उहाँले सनत जीलाई सभापति बनाउनु भयो।

तपाई र सुशिल कोइरालाबीच कति सालबाट वैचारिक द्वन्द्व सुरु भयो?

यसको दुई चरण थियो। २०४६ सालको आन्दोलन अगाडिको कुरा हो, रणेन्द्रबहादुर हमाललाई २०३३ सालमा गिरिजाप्रसाद कोइरालाले बाँके जिल्ला सभापति बनाउनु भएको थियो। मलाई सचिव बनाएको गिरिजा बाबुले नै हो। त्यतिबेला उहाँ महामन्त्री हुनुहुन्थ्यो। त्यतिबेला प्रतिबन्धित नै थियो। त्यसपछि उहाँले एउटा प्रस्ताव राख्नुभयो पछि २०४२/४३ सालतिरको कुरा हो, सुशिल जीलाई जिल्ला कार्यसमिति सदस्यमा राखिदिनुपर्‍यो भन्नुभयो। रणेन्द्रबहादुर हमाल सभापति, म सचिव र सुशिल दाई चाही जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो। त्यसकारण हामीले नै उहाँलाई स्थापित गर्यौ। हामीले नै स्थापित गर्ने, जसले स्थापित गर्यो, उसलाई नै सफा गर्ने काम गर्नुभयो उहाँले।

तपाई कांग्रेसको राजनीतिमा कसरी र कहाँबाट जोडिनु भएको हो?

नेपाल विद्यार्थी संघभन्दा धेरै अगाडीदेखि म आन्दोलनमा छु। २०२४ सालमा प्रथम पटक जेल परेको हुँ। त्यो बेलामा मलाई कांग्रेस भन्ने थिएन। प्रजातान्त्रिक र पञ्चायतको विरोधमा थियो। २०२५ सालमा विपी कोइरालासँग मैले भेट गरेँ। हामी ८ जना गएका थियौं, यहाँबाट। २०२५ सालमा वीपी बाबु मुक्त हुनुभयो जेलबाट। हाम्रो भेट गोरखपुरमा भएको हो। गोरखपुरमा रेल्वेमा उहाँलाई हामीले स्वागत गर्यौ। उहाँको व्यक्तित्व, पछि उहाँले व्यक्त गरेका विचार, त्यसबाट प्रभावित भएर म चाही नेपाली कांगे्रेसको निष्ठावान कार्यकर्ता बनेको हुँ। र, २०२७ सालमा म वनारशमा पढ्दै थिए, अरुण कोइराला पनि वनारशमा मेडिकल पढ्दै हुनुहुन्थ्यो। उहाँ, म र एक जना अनुपकुमार सोल्टी हुनुहुन्थ्यो, हामी तीन जना नेपाल विद्यार्थी संघको प्रतिनिधि भएर काठमाडौं गएका थियौं। जहाँ सनत जी चाही उपसभापति हुनुभयो, विपिन कोइराला चाही सभापति हुनुभयो। दोस्रो अधिवेशन भरतपुरमा भयो, त्यहाँ शेरबहादुर जी सभापति र म केन्द्रीय उपसभापति भएँ। म स्वतन्त्र विद्यार्थी युनियनको पनि सभापति भएँ, यहाँ डिग्री कलेजको।

तपाई कांग्रेसको जिल्ला सभापति हुनुभयो। त्यो भन्दा माथि राजनीतिमा जान नचाहनु भएको हो कि तपाईलाई अगाडि बढ्न नदिएका हुन्?

राजनीतिको दुई वटा सिद्धान्त हुन्छ। ‘पुस’ र ‘पुल’। कार्यकर्ताले बहुत मलाई पुस गरे, यो माथि जाओस् भनेर। माथिबाट पुल नगरिदिएपछि अनि म जान सकेन। पुसिङ धेरै थियो, सारा कार्यकर्ता मेरो पक्षमा थिए, ९९ प्रतिशत। तर माथिका नेताहरुले मलाई पुल गरेनन्।

अन्त्यमा, तपाईलाई अहिले राष्ट्रिय सभाको उम्मेदवार बनाउनमा कसलाई जस दिनुहुन्छ?

पार्टीलाई दिन्छु। पार्टीको सभापतिलाई दिन्छु। पार्टीको केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई र प्रदेशका सभापति लगायत कार्यसमितिलाई पनि दिन्छु, उहाँहरुले मेरो नाम १ नम्बरमा प्रस्ताव गर्नुभयो।

प्रकाशित: १३ माघ २०७८ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App