६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

नेतृत्व पुस्तान्तरण गर्छु

सबैभन्दा पहिले त सभापतिको उम्मेदवार बन्नु भएकोमा बधाई छ। नेपाली कांग्रेसको १४औ महाधिवेशनमा सभापतिको उम्मेदवार हुनुभएको छ। कस्तो माहोल पाउनुभएको छ?

यसपालि राम्रो माहोल पाएको छु। नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन खोजेका छन् नेपाली कांग्रेसका साथीहरूले। पहिलो पुस्ता,दोस्रो पुस्ता र नयाँ पुस्ता सबैले नेपाली कांग्रेसमा नेतृत्वमा परिवर्तन भइदिए हुन्थ्यो भन्ने चाहेका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको ब्यानरमा जुन लोगो राखिएको छ नि उत्साह, एकता र रूपान्तरण,त्यो मैले राख्न लगाएको होइन। तर सबैले स्विकारेका छन् नि त्यो। त्यहाँ उत्साह र एकता त छँदैछ। रूपान्तरण छ नि त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो। रूपान्तरण भनेको के हो?

त्यो भनेको परिवर्तन हो नि। रूपान्तरणलाई अग्रेजीकरण गर्दा चेन्ज भन्ने हुन्छ। ट्रान्फरमेसन भन्ने हुन्छ। यो भनेको दुवै अर्थमा हो। अजेन्डाको अर्थमा,नीतिको अर्थमा र नेतृत्वको अर्थमा।

त्यसकारण नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।

उम्मेदवारी दिनुभएको छ। यो महाधिवेशनको परिणामले तपाईंले भनेजस्तै कांग्रेसमा रूपान्तरण हुन्छ त?

यो महाधिवेशनको परिणामले पार्टीको नेतृत्वमा पनि परिवर्तन देखाउँछ। शेरबहादुर पुनः सभापति भएर आउन सक्नुहुन्न। हामी तीन जनामध्ये म,प्रकाशमान र शेखर तीन जनामध्ये नै चौधौँ महाधिवेशनबाट कोही एक जना सभापतिमा निर्वाचित भएर आउँछौं। तपाईंलाई थप अर्काे कुरा भन्न चाहन्छु। यो महाधिवेशनको परिणामबाट सरकारको नेतृत्वमा पनि शेरबहादुर रहन सक्नुहुन्न।

कसरी?

अब हेर्दै जानुस् न। सरकार त नेपाली कांग्रेसकै नेतृत्वमा बन्छ। तर शेरबहादुरको ठाउँमा नयाँ प्रधानमन्त्री बन्छ। त्यसकारण शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनाव गराउन सक्नुहुन्न। फागुन चैतसम्म हेर्नुहोला त्यही हुन्छ।

त्यसकारण यो महाधिवेशनबाट दुईवटा परिणाम आउँछ। यो महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ। त्यो भन्नुको अर्थ शेरबहादुरजी अब प्रधानमन्त्री रहनुहुन्न। यो महाधिवेशनको परिणामबाट सरकारको नेतृत्व पनि शेरबहादुरले गर्न सक्ने अवस्था छैन। त्यसमा पनि परिवर्तन आउँछ। गठबन्धनकै भित्रबाट अर्काे प्रधानमन्त्री हुनसक्छ।

मेरो र सबैको प्राथमिकता नेपाली कांग्रेसभित्रैबाट नयाँ प्रधानमन्त्री बनाउने हो। शेरबहादुर प्रधानमन्त्री भएर देशले चूनाव हारिसकेको छ। त्यसैले फेरि पनि शेरबहादुरकै नेतृत्वमा चुनाव भए नेपाली कांग्रेसले जित्छ भन्ने कुरा कुनै पनि कांग्रेसका कार्यकर्ताले विश्वास गर्दैनन्।

अर्काे एउटा कुरा म तपाइँलाई बताउँछु। मैले के भनेको थिएँ भने रामचन्द्र पौडेलजीलाई शेरबहादुरजीले निर्विरोध सभापतिमा प्रस्ताव गरेको भए पार्टीभित्र एकताको सन्देश जान्थ्यो। भलै म आफैं पनि सभापतिमा उम्मेदवारी दिएको छु तर हामी सबैले मानिदिएको भए हुन्थ्यो।

यसले नयाँ किसिमको सन्देश दिन्थ्यो। रामचन्द्र पौडेल बाध्य भएर दुखित मनले सभापतिको दाबीबाट बाहिरिनु मात्र भएन, बडो अप्ठेरो महसुस गर्नुभयो। यसले नेपाली कांग्रेसको भविष्यका लागि राम्रो सन्देश दिँदैन। त्यसको असर आगामी सरकार र आगामी चुनावमा पनि पर्छ।

यसकारण मैले यसलाई बडो संवेदनशील र संकटपूर्ण अर्थमा लिएको छु।जिम्मेवार नेताहरूले, जिम्मेवार साथीहरूले समुचित समाधानतर्फ बेलैमा सोच्नुपर्छ भन्ने मलाई लाग्छ।

तपाई सभापतिको उम्मेदवार हुनुहुन्छ। यो उम्मेदवारी किन र तपाईं पार्टी सभापति बन्नुभयो भने के गर्नुहुन्छ?

आगामी चुनाव कांग्रेसलाई जिताउने,आगामी सरकार कांग्रेसको बनाउने। त्यसकै लागि नै मैले सभापतिमा उम्मेदवारी दिएको छु। मेरो पहिलो प्राथमिकता गणतन्त्र र संविधानको कार्यान्वयन हो। त्यो नेपाली कांग्रेसले मात्र गर्न सक्छ। त्यसको कार्यान्वयनका लागि म सभापति भएर अग्रसरता लिन्छु। तेस्रो, युवा पुस्ता देशमा र पार्टीमा दुवैमा सक्रियता र सहभागिता बल्ल यसपालि जुट्न थालेको छ।

तर नेतृत्वको विकासको अवसर युवापुस्ताको हातमा हस्तान्तरण गर्दै जाने, पुस्तान्तरण हुँदै जाने प्रक्रिया अवरुद्ध भएको छ। म सहजकर्ता सभापतिका रूपमा काम गर्न चाहन्छु। पुस्तान्तरणलाई सहज बनाउने काम नेपाली कांग्रेसकै नेताले गर्नुपर्छ। सभापतिले नै गर्नुपर्छ। पटकपटक सभापति बन्ने र पटकपटक प्रधानमन्त्री बन्ने सत्ता लिप्साले गर्दा पार्टीभित्र पुस्तान्तरणको प्रक्रिया जाममा परेको छ। म सभापति भएर यसलाई सहज बनाउन चाहन्छु।

संघीय प्रणालीअनुसार प्रदेश र स्थानीय तहको अधिकार संविधिानमा उल्लेख भएअनुसार पनि प्रदान गरिएको छैन। त्यसका लागि कानुन,विधि बनाइएका छैनन्। म त्यो प्रक्रियालाई अघि बढाउन चाहन्छु। म सभापति भएपछि, शान्ति, स्थिरता,आर्थिक समृद्धि, गरिबी निवारण, युवाहरूको विदेश पलायनमा रोक लगाउँदै नेपाली कांग्रेसलाई सक्षम पार्टीका रूपमा अघि बढाउन चाहन्छु। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, नेपाल–भारत सम्बन्ध बिग्रिएको अवस्थामा छ। नेपाल र भारतको विशिष्ट सम्बन्ध छ।

त्यो सम्बन्धलाई थप विशिष्ट बनाउन चाहन्छु। नेपालको चीनसँगको सम्बन्ध थप बलियो बनाउन चाहन्छु। अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन चाहन्छु। सबै क्षेत्रमा नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टी हो। सबैको विश्वासिलो र भरपर्दाे पार्टी हो भन्ने मान्यता स्थापना गराउन म सभापतिमा आउन चाहन्छु।

पार्टीदेखि नेतृत्वसम्म रूपान्तरणको कुरा गर्नुभयो। तर रूपान्तरणको आवाज उठाउँदै आएका नेताहरू एकैठाउँमा उभिएर त्यसको विकल्प दिन किन सक्नुभएन नि? निर्वाचनमा सबैले आ–आफ्ना अजेन्डा लगेर जान्छन् र मतदाताले त्यसमा योगदान दिन्छन् भन्ने मेरो विश्वास छ।

अहिले नै उठ्नुपर्ने सबैजनाले सभापतिमा उम्मेदवारी दिनुपर्ने त्यस्तो के कारण हो?

लोकतन्त्रको उच्चतम रूप भनेकै निर्वाचन हो। नेपाली कांग्रेसका पदाधिकारीसँगै केन्द्रिय नेतृत्व पनि निर्वाचन प्रक्रियाबाट हुन्छ भन्ने कुराका लागि अर्काे विकल्प छैन हामीसँग। जब निर्वाचन प्रणाली हुन्छ, उम्मेदवार त हुन्छन् हुन्छन्। यसलाई अस्वभाविक रूपमा लिनु हुँदैन।

परिणामलाई कसरी आँकलन गर्नुभएको छ?

पहिलो परिणाम के हो भने नेतृत्व परिवर्तन हुन्छ। शेरबहादुर देउवा सभापतिका रूपमा रहनुहुन्न। सभापतिको चार पाँचजना उम्मेदवारबाट नयाँ नेतृत्व चुनिन्छ। प्रमुख चारजना उम्मेदवारमध्ये शेरबहादुरजी जित्नुहुन्न। म,प्रकाशमान र शेखर कोइराला तीनजना सभापतिको उम्मेदवार छौं, त्यहीमध्ये नै एकजना हुनुहुन्छ दोस्रो चरणमा।

प्रकाशित: २७ मंसिर २०७८ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App