१ आश्विन २०७८ शुक्रबार
अन्तर्वार्ता

गाईजात्रा हाँसो, ठट्टा मात्रै हैन : हाँस्यकलाकार कमल गाउँले

यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्। उनले २१ वर्षदेखि निरन्तर गाईजात्रा बिशेष एल्बम सार्वजनिक गर्दै आएका छन्। यो वर्ष उनले ‘बाई लव यु केपी बा’ नामक एल्बम युट्युवमार्फत सार्वजनिक गरेका छन्। गाईजात्रा र हाँस्य ब्यंग्यका बारेमा नागरिकर्मी देवेन्द्र बस्नेतले हाँस्यकलाकार कमल गाउँलेसंग कुराकानी गरेका छन्।    

यहाँको २१ वर्षे गाईजात्रे यात्रा कस्तो रह्यो ?  

मेरो अहिलेको गाईजात्रा ‘बाई लब यु केपी बा’ २१ औँ गाईजात्रा हो। २१ वर्षदेखि मैले प्रत्यक वर्ष गाईजात्रा निकालिरहेको छु। केही अग्रज कलाकाहरुले बीचमा छोड्नु भयो। म भने निरन्तर गाईजात्रा लेखिरहेको छु, भिडियो सार्वजनिक गरिरहेको छु। मैले सुरुमा गाईजात्रा सार्वजनिक गर्ने बेलामा अडियोको जमाना थियो। अहिले प्रविधिको दुनियाँ सहज बनिदिएको छ। अहिले भिडियो मार्फत आफ्नो गाईजात्रे अभियानलाई निरन्तरता दिईरहेको छु। यसका चुनौतीहरु धेरै छन्। यसको लेखन उत्तिकै चुनौती पूर्ण काम हो। 

गाईजात्रा हो भन्दैमा मैले जे मन लाग्यो त्यहि, तथानाम लेख्नु पनि भएन। त्यसलाई मुर्त रुप दिनका लागि रेकर्डिङको अर्को चुनौती छ। रेकर्डिङका लागि मोफसलमा सम्भव छैन, काठमाडौँ नै पुग्नु पर्यो। स्क्रिप्टले मात्रै हुने कुरा भएन, थप मनोरन्जनका लागि प्यारेडि गीत म्यानेजको पाटो पनि रहन्छ। रेकर्डिङ पश्चात भिडियो सुटिङको चुनौती अर्को रहन्छ। अनि त्यसको एडिटिङको पाटो रहन्छ। यसरी ठिक्क पारेर दर्शक समक्ष पुर्याउँदासम्म धेरै चुनौतीको सामना गर्नुपर्छ। र पनि ति चुनौती दुःखहरुलाई बिर्सेको छु। नेपाली दर्शक स्रोताका लागि गाईजात्रे खुराक दिनका लागि पछि परेको छैन।  

तपाईको अहिलेको गाईजात्राको बिषय बस्तु के लक्षित छ ?  

लक्षित छ राजनीतिक प्रति नै छ। किन भन्दा सत्ता प्राप्तीका लागि राजनीतिक कुदेको छ। व्यवस्था सुधारका लागि राजनीति हुनु पर्ने हो, हामी आम नागरिकले चाहेको यहि नै हो। तर त्यो राजनीति खाली सत्ता प्राप्तीका लागि मात्रै हो भन्ने सबैलाई पर्न गयो। बिकास निर्माणका कुराहरु एकातिर छन्, समाज बदल्ने कुरा एकातिर छन्। समृद्ध नेपाल सुखी नेपालीका नारा एकातिर छन्। खाली एउटा दलले अर्कोलाई कसरी रोक्ने ? यसर्थ राजनीति सहि दिशाबाट अघि बढ्न नसकेको यो परिदृष्य फोकस हुनेनै भयो। अहिलेको मेरो २१ औँ गाईजात्राका क्रममा त दुई तिहाई सरकारको असफलता अनि शेरबहादुर देउबालाई चिट्ठा पर्ने कुरा ज्वलन्त बिषय बनिदियो। राजनीतिक बिषय एउटा त भयो नै, त्यस अलावा सामाजिक सञ्जालमा देखिएको बिकिृतीलाई पनि मैले प्रहार गर्न खोजेको छु। समग्रमा सामाजिक, राजनीतिक आर्थिक बिषयहरुलाई मैले मेरो गाईजात्रामा समेटेको छु।  

गाईजात्रा मार्फत यहाँहरुले हान्ने झटारोको प्रतिफल देखिन्छ ?

पछिल्लो समयमा गाईजात्रा हाँस्य खुराक मात्रै हो। हेरौँ र हाँसौँ भन्ने सोँच मात्रै आम दर्शकहरुमा पाईन्छ अहिले पछिल्लो समयमा। यससंगै गाईजात्रामा गरिने प्रहारले केही दर्शकहरुलाई सचेत अर्थात वर्तमान परिस्थती प्रति सजग र जानकार बनाएको पनि पाईएको छ। 

गाईजात्रा हेरेर गरिएका केही कमेन्टहरुले त्यस्तो देखाउँछ। तर म भन्छु कि गाईजात्रा हाँसो ठट्टाको मसला मात्रै हैन, समाजमा देखिने बिकृत कुराहरुको सुधारका लागि गरिएको प्रहार पनि हो। यो प्रहारलाई दर्शकहरुले वा लक्षित समुहले कसरी बुझ्ने भन्ने कुरा प्रमुख हो। र मेरो अहिलेको गाईजात्राको कुरा गर्दा खेरी हाँस्य मसला मात्रै नभएर समाज सुधारका लागि थालिएको अभियानको एउटा नमुना पनि हो। दर्शकहरुलाई अनुरोध छ, यसलाई समाज सुधारका लागि सार्वजनिक गरिएको एउटा भिडियो अभियान पनि मेरो गाईजात्रालाई लिईदिनु होला।  

तपाईको सोँच चाहिँ के हो ? गाईजात्रा मनोरन्जन मात्रै हो कि यो सामाजिक अभियान पनि हो ?  

गाईजात्रा एउटा पर्वको सन्दर्भ पारेर निकालिने चिज भयो। अरु बेला गाईजात्रा निकाल्ने कुरा पनि भएन। तर गाईजात्रा नाममा जे मन लाग्यो, त्यो बिषय बस्तुलाई उठाईदिने। घर परिवार समाजमा पाँचय नहुने खालका शब्दहरु जोडेर जे मन लाग्यो त्यो भनिदिने गलत प्रबृत्ति पनि देखा परेका छन्। तर मैले चाहिँ सबै संगै बसेर हेर्न र सुन्न मिल्ने खालको बिषय बस्तुलाई समेटेर गाईजात्रा सार्वजनिक गर्दै आएको छु। 

र गाईजात्रा हामीहरु मनोरन्जन वा हाँसो ठट्टालाई मात्रै हेरेर सार्वजनिक गर्दैनौँ। समाजमा सुधार हुनै पर्ने बिषयहरुमाथिको हाम्रो व्यंग्य हुन्छ, त्यो ब्यंग्यको तात्पर्य के हो त भन्दा लौ है, समाजमा यो चिजलाई सुधार्नु पर्ने देखियो भन्ने नै हो। हाम्रो सामग्रीले समाजलाई के सूचना प्रदान गरोस् भने हो साँच्चै यो भएको थियो र यो गर्नु हुँदैन। गाईजात्रा हेरेर सुनेर समाजले यो कुराको मनन गर्न सक्यो भने पक्कै पनि गाईजात्राले समाज सुधारको महत्वपूर्ण भूमिका निर्वाह गर्दै जाने छ। 

तर प्रबृत्ति कस्तो देखिन्छ भने मैले गाईजात्रा मार्फत कसैलाई लक्षित गरेर प्रहार गरिरहेको हुन्छु भने त्यो मान्छे वा त्यो समूह खुशी हुन्छ। उसले त्याे व्यंग्यलाई म आफू हिरो भएको रहेछु भन्ने बुझ्छ। त्यहि भएर मलाई हाईलाईट गर्यो भन्ने अर्थमा त्यो व्यक्ति वा समूहले बुझ्छ। तर हाम्रो सामग्रीले त म माथि ब्यंग्य गर्यो, मेरो कारण केहि गलत भएको रहेछ भन्ने चेत आओस् भन्ने हाम्रो सोँच हो। समग्रमा हामी समाज परिवर्तनका लागि गाईजात्राको काम गरिरहेका छौँ।  

तपाई हाँस्ने, हँसाउने मान्छे, कलाकारिता क्षेत्रमा तपाईका दुःख हुँदैनन् ?  

मेरो कलाकारिता यात्राका क्रममा मैले भोगेका कष्टको लामो कथा छ। भगवानले कला दिएर पठाए। मादल बजाउन जान्ने मान्छे म। अनि ब्यंग्यमा रहर गर्थै मैले। त्यो बेलाको यहि सानो प्रतिभाले मलाई यहाँसम्म पुर्याएको हो। दुःख त सबैका छन्, मेरो नहुने कुरा पनि भएन। कलाकारिताको सुरुवाती चरणमा काठमाडौँमा धेरै दुःख पाएँ। कैयन रात भोकभोकै सडक गल्लीमा कटाएँ। तर मलाई जसरी पनि कलाकार बन्नु थियो। तर मैले त्यहि दुःखबाटै कलाकारित सिकेँ। शायद दुःख सिक्दैन थिएँ भने म कलाकारितामा फेल भैसकेको हुन्थेँ, अर्थात कलाकारिता सिक्न सक्दैनथेँ। दर्शक स्रोताहरुले हाँस्यकलाकार हो भनेर चिन्नु हुन्छ, यहि नै मेरा लागि सबै भन्दा ठूलो खुशीको कुरा हो। हामी पनि दुःखी हुन्छौँ, तर हामी दुःखी भएपनि दर्शक हँसाउनु पर्छ।  

हँसाउन कति गाह्रो छ ?

यो अति गाह्रो काम हो । कुन मान्छे कुन मुडमा हुन्छ, तैपनि हरेक मुडमा रहेका मान्छेहरुलाई हँसाउनु पर्छ। हामीहरुले हाँस्य खुराक हरेक दिन नयाँ पस्कनु पर्छ। कसरी नयाँ हाँस्य मसलाको सृजना गर्ने ? तर बिषयहरु धेरै छन् नेपालमा। ति बिषयहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने बिषय प्रमुख बिषय हो। कुनै पनि गायकले पुरानो गीत गाउँदा पनि त्यो गीत फेरि चल्छ, तर हामीहरुले पुरानो खुराक पस्क्यौँ भने यो त पुरानो भनेर रुचाईन्न। फलतः नयाँ खोजको काममा हामी तल्लीन हुनै पर्छ।  

कसरी यो क्षेत्रमा भिज्नु भयो ?  

काठमाडौँमा दोहोरी साँझ खुल्दैन थे भने म कलाकार भनेर चिनिन्थेन होला। म त्यो बेला दोहोरी साँझमा मादल बजाउँथे। त्यसै क्रममा मेरो कलाकारहरुसंगको संगत बढ्दै गयो। अनि मेरो हाँस्य कलाको प्रस्तुती राख्ने अवसर मिल्दै गयो। मुलतः मैले जाँड खाएको ब्यक्तिको भूमिका दुरुस्तै गर्ने भनेर चिनिन थाले। र यसै क्रममा गर्नु गर्यौँ बलराम भैँसी पालेर बोलको लोक दोहोरी गीतमा मैले अभिनयको अवसर पाएँ। त्यो गीत नै मेरो कलाकारिताको कोशेढुंगा साबित बन्यो। मलाई यहि गीतले क्लिन गराईदियो। अनि यहि गीतका माध्यमबाट म हाँस्यकलाकारका रुपमा चिनिदै गएँ। मेहेनत गर्दै गएँ, र अहिलेको यो अवस्थामा आईपुगेँ।  

अन्त्यमा, तपाईको गाईजात्राको यात्रा कहिले सम्म ?  

म जतिबेला सम्म कलाकारिता क्षेत्रमा छु। तबसम्म गाईजात्राको यात्राबाट बिमुख हुँदैन। अहिले २१ वर्षसम्म यो यात्रामा निरन्तर रहिरहेको छु। म पनि यो देशको नागरिक हुँ। मुलुकमा बिद्यमान समस्याहरु समाधान होउन् भन्ने चिन्ता मेरो पनि छ। यि समस्या समाधानका लागि कलाका माध्यमबाट दबाब दिनु मेरो पनि दायित्व हो। निरन्तर गाईजात्रा लेख्छु, बोल्छु, ब्यंग्य गर्छु ताकि समाज परिवर्तन होओस्। 

प्रकाशित: ५ भाद्र २०७८ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App