७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सबैभन्दा धेरै कोरोना संक्रमित छन् । नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५ सयमाथि छ । कोरोनाकै कारण ५२ जना नगरबासीले ज्यान गुमाइसकेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले के गरिरहेको छ ? टोल विकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयम्सेवीका, नागरिक समाजका अंगहरुलाई कसरी परिचालन गरिरहेको छ ? प्रदेश राजधानीका अस्पतालहरुले कहिलेसम्म अक्सिजनको अभाव भोगिरहनुपर्ने हो ? यिनै विषयमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीसँग नागरिकर्मी नगेन्द्र उपाध्यायले गरेको कुराकानी :

कोरोना नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाले के गरिरहेको छ?

अघिल्लो पटकको भन्दा यो पटकको कोरोनाको संक्रमण धेरै छ। हामी जनप्रतिनिधिहरु, कर्मचारीहरु नागरिकहरुको जीवनरक्षाको लागि रातदिन खटिएका छौं। होमआइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई नगरपालिकाले नियमित सम्पर्क गर्ने, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने, औषधिसहितको कीट वितरण गर्ने कामहरु हामीले अहिले गरिरहेका छौं। यस पटकको कोरोना संक्रमण गम्भीर खालको छ। 

कोरोना संक्रमण भएका अधिकांसहरु अस्पताल भर्ना हुनुपर्ने अवस्था छ। त्यसैले यो पटक अस्पताल, अक्सिजनको आवश्यकता बोध गरायो। राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं। नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं।  

तपाईं आफै घरघरमा पुगेर कोरोना संक्रमितहरुलाई भेट्नुहुन्छ। औषधि र सरसफाई सामाग्रीहरु दिने गर्नुभएको छ। यसले संक्रमितमा कस्तो प्रभाव पार्दो रहेछ?

वीरेन्द्रनगर नगरपालिकाले सबै कोरोना संक्रमितहरुलाई औषधिसहित केही सरसफाई सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ। म आफै पनि यि सामाग्रीहरु बोकेर संक्रमितहरुसँग भेट्न गएको छु। यसो गर्दा संक्रमितहरुले सरकारको अभाष गरेको पाएको छु। हामी अप्ठ्यारोमा हुँदा नजिकको स्थानीय सरकार हामीसँगै छ भन्ने सन्देश दिएको छ। यसले विरामीहरुको आत्मबल बढेको पाइएको छ। यसले समग्रतामा कोरोना जित्न विरामीहरुलाई हौसला मिलेको पाएका छौं। औषधि र स्वास्थ्य सामाग्रीसँगै थप उपचारका लागि विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्ने गरेका छौं। यसले कोरोनाका कारण हुने मृत्युदर पनि घटेको छ।  

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया कहाँसम्म पुगेको छ?

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो। प्रदेश राजधानीले अहिले अक्सिजनको समस्या भोगिरहेको छ। नगरपालिका आफैले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ। चौधरी फाउन्डेशनमार्फत हामी वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्दैछौं। यसले प्रदेश राजधानीको विद्यमान अक्सिजन अभाव हट्ने अपेक्षा गरेका छौं। वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरिरहेको कोभिड अस्पतालमा अहिले पनि विभिन्न जिल्लाहरुका संक्रमितहरु उपचाररत हुनुहुन्छ। यहाँ अक्सिजन प्लान्ट स्थापना भए समग्र कर्णालीकै नागरिकहरुले सेवा पाउनु हुनेछ। अहिले नगर कोभिड अस्पतालमा २५ बेडको अक्सिजनसहित सञ्चालन भएको छ। अक्सिजन प्लान्ट स्थापना भएमा थप ५० बेड विस्तार गर्दैछौं।  

कोरोना नियन्त्रणका लागि नगरपालिकाले टोल विकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयमसेवीका, नागरिक समाजका अंगहरुलाई कसरी परिचालन गरिरहेको छ?

अघिल्लो वर्षको जस्तो नागरिक समाज र संघ–संस्थाहरु अहिले कोरोना नियन्त्रणमा सक्रिय देखिएनन्। हामीले हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य संस्थाका इन्चार्ज सदस्य–सचिव रहने गरेर महिला स्वास्थ्य स्वयमसेवीका, टोल विकास संस्थाका प्रतिनिधिसहितको समिति गठन गठन गरेका छौं। टोलको आ–आफ्नो क्षेत्रलाई हेर्ने गरेर कार्यविभाजन गरेका छौं। समग्रतामा टोल विकास संस्थाहरु कोभिड नियन्त्रणका लागि सहयोगी र सुचनादाताका रुपमा प्रयोग गर्दै आएका छौं। केही संस्थाहरुमार्फत स्वयम्सेवीहरु प्राप्त गरेका छौं। तिनलाई पनि हामीले कोभिड नियन्त्रणमा लगाएका छौं।

कोरोनाको तेस्रो भेरियन्ट नियन्त्रणका लागि नगरपालिकाले के तयारी गरिरहेको छ?

हामी विगतको वर्ष र अहिलेको जस्तै अलमलिदैनौं । तेस्रो भेरियन्टको तयारीमा नगरपालिका लागेको छ। यसका लागि आगामी आर्थिक वर्षका लागि बजेट छुट्याउने, औषधि, अस्पताल र बेडको व्यवस्थापन गर्नेलगायतका तयारीमा हामी लागेका छौं। टोल विकास संस्था, नागरिक समाजका अंगहरु, महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई अझ सक्रिय बनाएका छौं। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App