३ जेष्ठ २०७८ सोमबार
अन्तर्वार्ता

'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'

नारायणी अस्पताल वीरगन्जको कोभिड संयोजक डा. सरोज रोशन दाश । तस्बिरः नागरिक

प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।

प्रदेश २ मा कोरोनाको हटस्पट बनेको वीरगन्जमा वैशाख १ गतेदेखि शुक्रबारसम्म २ हजार ५ सय ९१ जनाको स्वाब परीक्षण गर्दा १५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगन्जका कोभिड संयोज डा. सरोज रोशन दासले जानकारी दिए । कोरोनाको दोस्रो लहर सुरु भएयता पर्सा जिल्लाको विभिन्न अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । वीरगन्जको नारायणी अस्पतालमा २४, नारायणी बयोधा अस्पतालमा ३, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा २, गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक ३० जनामध्ये पर्साका २०, बाराका ७, सर्लाहीका २ र रौतहटका १ छन् ।  

प्रदेश २ मा बढ्दै संक्रमितको उपचारका लागि टेको बनेको छ, नारायणी अस्पताल वीरगन्ज । पहिलो लहरमा पनि अग्रणी भूमिका निर्वाह गरेको यस अस्पतालले दोस्रो लहरमा पनि आफूलाई अग्र मोर्चामा उभ्याएको छ । यस अस्पतालका कोभिड संयोजक समेत रहेका कोरोना विरामीको उपचारमा दिनरात खट्दै आएका छन् डा. सरोज रोशन दाश । डा. दाशसँग यस प्रदेशमा कोरोना संक्रमणको अवस्थाबारे गरिएको कुराकानी :

कोरोना संक्रमणको अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?

बिहीबारदेखि वीरगन्ज महानगरमा निषेधाज्ञा जारी छ । तर, सडक बजार नियाल्दा निषेधाज्ञाको अनुभूति हुँदैन । विवाहमा भीडभाड उस्तै छ । सडकमा आवागमनमा फरक देखिँदैन । जनसमुदायको व्यवहार बेपरवाह नै छ । संक्रमित र उनको परिवारबाहेकमा कोरोनाको दुखाई अनुभूति नै नभएको जस्तो लाग्छ । संक्रमण समुदायमा तीव्र गतिले फैलिरहेको छ । प्यानिक गर्नलाई त होइन तर भन्नै पर्ने हुन्छ अवस्था भयावह बन्दै गएको छ ।

संक्रमणको यति भयावह अवस्था कसरी सृजना भयो ?

पहिलो वेभ मत्थर हुँदै गएपछि सावधानी, निगरानी खुकुलो भयो । मानिसहरु मास्क लगाउन छाड्दै गए । सीमाबाट आउजाउ खुकुलो भयो । बजार, हटिया, मेलालगायतका भींडभाड पुनः सुरु भयो । हेलचक्र्याइँ र लापरबाही बढ्दै गयो । लाग्न थाल्यो कि कोरोना अब कहिल्यै नफर्किने गरी अलविदा भयो । तर, त्यस्तो भएन, हुँदैन पनि । महामारीको रुप लिएको यो भाईरस यती चाँडै हराउँदैन भन्ने कुरा हामी सबैले बिर्सियौ । हामी पहिलाकै जीवशैली बाच्न थाल्यौं । र, यो नयाँ प्रकारको भाइरस पुनः आगमन भयो । हामी कहाँ रेकर्ड भएको पहिलो केसको यात्रा इतिहास भारत थियो । बैशाख २ गते हुनुपर्छ मृत्यु भएका तीन जनामध्ये दुई जनाको यात्रा इतिहास भारत थियो । त्यसपछि त संक्रमण समुदायमा तीव्र गतिले फैलिन थाल्यो । अहिले करिब प्रत्येक घरका सदस्य संक्रमणको सिकार भएका छन् । यो अवस्था वीरगन्जको मात्र होइन । यस प्रदेशका अन्य जिल्लाको अवस्था पनि कमबेस यस्तै छ ।  

संक्रमणको यो लहर यसै हिसावले फैलिरहने हो भने यस प्रदेशको स्रोत साधनले भ्याउन सक्छ ?

स्थिती डामाडोल छ । कुनैपनि बेला हेल्थ सिस्टम कोल्याप्स हुन सक्छ । अहिले हाम्रो नारायणी अस्पतालका मात्रै १४ जना स्वास्थ्यकर्मीहरु संक्रमित भैसक्नु भएको छ । पर्सा जिल्लाको कुरा गर्ने हो भने हामीसँग आइसोलेसन बेड ३ सय छ । तर सक्रिय संक्रमित १२ सयभन्दा बढी छन् । अक्सिजन आवश्यक पर्ने, आइसियू चाहिने विरामीहरु मात्र अहिले अस्पताल आइरहनु भएको छ । र, त हेल्थ सिस्टमले धान्न मुस्किल परिरहेको छ । यहाँ पर्सा, बारा, रौतहट, सर्लाही र थोरबहुत महोत्तरीका पनि संक्रमित उपचारका लागि आउनुहुन्छ ।

अहिले कूल संक्रमित मध्ये कति जतिलाई अस्पताल वा आइसियू आवश्यक परिरहेको छ ?

अहिले संक्रमित मध्ये धेरैलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था छ । पहिलो लहरमाभन्दा दोब्बर जतिलाई श्वासप्रश्वासको समस्या भैरहेको छ । अहिले अस्पताल आइरहेका शतप्रतिशतलाई अक्सिजन चाहिन्छ । पहिला यस्तो अवस्था छैन । अस्पताल आउनेजति प्रायः सबै आइसियू, अक्सिजन सपोर्टमा राख्नु पर्ने अवस्थाका छन् । कतिपयलाई त भेन्टिलेरमै राख्नुपर्छ ।

अनि अस्पताल पुग्ने वित्तिकै विरामीको मृत्यु भयो भनेर सामाचार बाहिर आइरहेका छन्, यस्तो किन भैरहेको छ ?

संक्रमण पुष्टि भएपछि मानिसहरु घरमै बस्छन् । घरमा सिकिस्त भएपछि अस्पताल दौडिनुहुन्छ । त्यो बेलासम्म शरीरमा अक्सिजन स्याचुरेसन निकै कम भैसकेको हुन्छ । हाइ फ्लो अक्सिजन सपोर्ट दिएर बचाउने कोशिस गर्छौ । तर लंग्सको आधिभन्दा बढी भाग काम नलाग्ने भैसकेको हुन्छ । हामी चिकित्सकले जति प्रयास गर्दा पनि बचाउन सक्दैनौ । अस्पताल आउन ढिला भएका विरामीहरुमध्ये धेरैलाई हामीले बचाउन नसकेको यथार्थ हो । तर, यसमा डाक्टरको भन्दा पनि सिस्टमको कमजोरी देख्छु म ।

संक्रमितको जीवन रक्षाका लागि कसले के गरिदिनुपर्छ ?

पहिला त संक्रमण नै नहुन दिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरिदिनुपर्छ । आफ्नो स्वास्थ्य आफ्नै जिम्मेवारी नबुझेसम्म गाह्रो छ । अर्को कुरा धेरै भन्दा धेरै परीक्षण हुनुपर्छ । समुदायमा जति परीक्षणको दायरा बढाउन सक्यौं त्यती नै संक्रमणको दायरालाई कम गर्न सक्छौं । समुदायमा व्यापक परीक्षण गरी पोजेटिभ जतिलाई आइसोलेट गरेर राख्न सक्यौं भने भयावह अवस्थाको सामना नगर्नुपर्ने हुनसक्छ । अक्सिजनको भरपूर भण्डारन र आपूर्ती पनि आवश्यक छ । अधिकांश संक्रमितको जीवनरक्षक साधन नै अहिले अक्सिजन बनेको छ ।

प्रदेशको संक्रमण दर र मौजुदा स्वास्थ्य प्रणालीलाई तुलना गर्दा हामी कुन अवस्थामा छौं ?

हाम्रो हेल्थ सिस्टम कोल्याप्स हुने अवस्थाउन्नमूख छौं । यही हिसवाले केसहरु बढ्दै गयो भने गाह्रो अवस्था आउन सक्छ । झन् स्वास्थ्यकर्मीहरु नै संक्रमित भैरहेको अवस्था हेर्दा त भोलिको दिन अहसज नै देख्छु म ।

यस प्रदेशमा कुन महिनामा संक्रमण पिकमा जाने र कुन महिनाबाट संक्रमण घट्दै जाने प्रक्षेपण छ ? पिक अवस्था कस्तो होला ?

पीक त सुरु भैसक्यो । साउन महिनासम्म पिक जान सक्छ । साउन महिनासम्म अवस्था गाह्रो गाह्रो नै देख्छु म । पिकको समय त कल्पना नगरौं । प्रार्थना गरौं केही नराम्रो नहोस् । तर, चिकित्सकको हिसावले अवस्था मूल्यांकन गर्दा ठिक देख्दिन । आउने हप्तादेखि संक्रमित र मृत्युदर दुबै अचाक्ली बढ्न सक्छ । अहिले हामीले भारतमा जुन दृश्य देख्दै, पढ्दै छौं त्यो अवस्था नआउला भन्न सकिँदैन ।

यो भयावह अवस्था निम्तिन नदिन चाहीँ के गर्नुपर्छ ?

एउटै उपाय हो टेस्ट, टेस्ट एन्ड टेस्ट । जति धेरै टेस्ट गर्न सक्यौ उती धेरै गुणा भयावह अवस्थाको जोखिम कम गर्न सक्छौं । टेस्ट गर्ने आइसोलेट गर्ने । संकित संक्रमितलाई दुई साता क्वारेन्टिन गर्न सक्यौ भने संक्रमणको चेन ब्रेक गर्न सफल हुन्छौं । यो अहिले सम्भव छ । तर दुई सातापछि सम्भव नहुन सक्छ । भारतबाट आउनेलाई मात्र नभई संक्रमण बढी देखिएको क्षेत्रलाई समेत कडा निगरानीमा राखेर टेस्टको दायरा बढाउन सक्नु नै भयावह अवस्था आउन नदिने विकल्प हो । सुरक्षाकर्मी, प्रशासनले सीमादेखि गाउँसहरसम्म निगरानी कडा पार्न सक्नुपर्छ । गाउँदेखि सहरसम्म क्वारेन्टिन, आइसोलेसन संचालन तुरुन्त गरिहाल्नुपर्छ ।

पहिलो लहरका बेला पारिबाट आउनेहरुलाई होल्डिङ स्टेसन र क्वारेन्टिनमा राख्ने निर्देशन थियो । जसका कारण संक्रमण समुदायस्तरसम्म यसरी फैलिन पाएन । अहिले सीमाबाट सीधैं घर र समुदायमा संक्रमण पुगेपछि यो बेहाल अवस्था आएको हो । न परीक्षण छ, न निगरानी नै। अनि समुदायमा संक्रमण फैलिन्न त ? झन् कोरोनाको यो प्रकार पहिलाको भन्दा बढ्दा संक्रामक र मारक क्षमता राख्छ । यो बेला झन् सतर्कता, निगरानी, परीक्षण, पहिचान र उपचारात्मक दायरा बढाउनुपथ्र्यो । तर, हामी पहिलाको भन्दा पनि कमजोर स्थितमा झर्याै । जसका कारण यो बेहाल अवस्था सामना गर्नुपरिरहेको छ, पर्छ ।

प्रकाशित: १९ वैशाख २०७८ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?