५ वैशाख २०८१ बुधबार
अन्तर्वार्ता

‘गाँउ हिजो विकट, आज निकट’

मादी गाँउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ(श्याम)

कास्कीको उत्तरपूर्वमा रहेको मादी गाँउपालिका आफैंमा पर्यटकीय गाँउ हो । सिक्लेसदेखि ताङतिङ होमस्टेको लागि प्रख्यात छ । ग्रामीण पर्यटनको प्रमुख गन्तव्यस्थल सिक्लेस मादीको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पूर्वाधार विकासले निकै पछि परेको मादी अहिले भने फेरिदैं गएको छ । विकट बनेको गाँउ अहिले निकट बन्न थालेको छ । पूर्वाधारले कायापलट गर्दै छ । संघीयतापछि निर्वाचित जनप्रतिनिधि भएको अनुभूति गाँउलेले गरेका छन् । शिक्षा स्वास्थ्यलाई विशेष महत्व दिदैं गाँउपालिकाले कृषि तथा पशुपालन मार्फत समृद्धिको अभियानमा अघि बढेको छ । यसै सन्दर्भमा मादी गाँउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ(श्याम)सँग नागरिककर्मी धन बस्नेतले गरेको कुराकारीको सारसंक्षेप ।  

विश्वव्यापी कोरोनाको त्रास अझै छ । कोभिड–१९ ले ग्रामीण क्षेत्रमा कत्तिको असर पुर्यायो ?

–कोभिड–ले विश्व नै आक्रान्त बनाएको छ । त्यसको प्रत्यक्ष असर हामीले पनि भोग्यौं । कोभिडको समयमा जनप्रतिनिधि अझ बढी जिम्मेवारी थपिएको महशुस गर्यौंं । नागरिकलाई कोभिडबाट बचाउने अभियानमा जुट्यौं । नागरिकलाई महशुस हुने गरी काम गर्यौं । स्थानीय सरकारले जनतासँग रहेर काम गर्यौं । एकाकार भएर अघि बढ्यौं । नियमित कार्यक्रम गर्यौं । सर्वसाधारणलाई सचेतना जगाउनेदेखि प्रकोप व्यवस्थापनमा १ करोड रुपैयाँ खर्च गर्यौं । कोभिडको समयमा भएको लकडाउनमा ६५ लाख रुपैयाँ बराबरको राहत वितरण गर्यौं । कोभिड अस्पताल बनाईयो । १५ शैयाको अस्पताल बनाए उपचार प्रभावकारी बनाउनेतिर लाग्यौं । गाँउपालिकामै घरदैलो अभियान चलाएर पिसिआर परीक्षण गर्यौं । कन्ट्याक्ट टे«सिङमा परेकाहरुको निशुल्क परीक्षण गर्यौं । क्वारेन्टिन व्यवस्था गरियो । जनतलाई सन्तुष्ट हुने गरी आफनो दायित्व र जिम्मेवारी पुरा गर्यौं जस्तो लाग्छ ।  

मादीमा जनप्रतिनिधि आईसकेपछि देखिने गरी काम के– के भए ? कोभिडले विकास निर्माणका योजनालाई कत्तिको असर पुर्यायो ?

जनप्रतिनिधि आईसकेपछि मादीमा देखिने गरी काम भएका छन् । त्यसमा पनि अझ कोभिडकै त्रास रहेपनि विकास निर्माणमा भने खासै असर नपर्ने गरी काम गर्यौं । कृषि, पशुपालन तथा स्वरोजगार तर्फ बजेटलाई डाईभर्ट गर्यौं । अनुदान र तालिम एवं प्रोत्साहनमा ध्यान दियौं । कोभिडले गाँउमा अवसर सिर्जना गर्यो । भनाईको अर्थ ३० प्रतिशत बाँझो खेत खनजोत गरियो । कृषि उत्पादनमा प्रोत्साहित गरियो । ठूलो योजनाहरु अवरुद्ध हुन पाएनन् । सञ्चालनमा रहेको भौतिक पूर्वाधारको निर्माण सामाग्री अभाव हुन नदिई कामलाई टुग्याउने तर्फ सबै अग्रसर रह्यौं । विकास निर्माणमा खासै प्रभावित भएनन् । याङजाकोट–सिक्लेस जाने बाटो, सुपर मादी हाइड्रोपावरको काम रोकिएन । सायद रोकिएको भए ठूलो आर्थिक क्षति हुन्थ्यो । आर्थिक क्षति हुनबाट जोगायौं । निर्माणमा स्थानीयलाई सहभागि बनायौं ।  

संघीयतापछि ग्रामीण क्षेत्रमा पूर्वाधार विकास भएको मान्न सकिन्छ ?

पक्कैपनि मान्न सकिन्छ । हिजो पूर्वाधार निर्माण शून्य अवस्थामा थियो । अहिले जनप्रतिनिधि आईसकेपछि सबै वडामा सडक पहुँच पुगेको छ । स्वास्थ्य चौकी निर्माण भएका छन् । विद्यालय भवनको स्तरोन्नति गरिएको छ । ११ वटा मोटरेबल पुल निर्माण गरिएको छ । केही अझै बन्ने क्रममा छन् । मध्यपहाडी लोकमार्ग मादीकै मध्यभाग भएर जान्छ । त्यसको लागि १ अर्ब ३ करोडको योजना सहितको काम अघि बढेको छ । हिजो गाउँमा कालोपत्रे सडक सपना जस्तै थियो । तर अहिले राज्यका सबै तीन तहको सरकार परिचालन भएपछि धमाधम काम भएको छ । आखाँले देखिने गरी काम भएका छन् यसमा दुईमत छैन् ।  

कोभिडपछि गाँउ फर्किने लहर कस्तो छ  ?  

कोभिडले गाँउलेलाई आफनो थातथलो सम्झाईदिएको छ । रोजगारीको अवसरको खोजीमा शहर पसेका ग्रामीण बासिन्दा कोभिडले फर्किएका छन् । गाँउमै भएको विकासले हिजो रोजगारीको लागि विकट भएको गाँउ अहिले निकट हुन पुगेको छ । यातायातको सहज पहुँच पुगेको छ । बजार क्षेत्रमा बस्दै आएका अधिकांश मादी गाँउपालिकाका बासिन्दा फर्किएका छन् । गाँउले फर्किदैं भएको पुरानो घर लिपपोत गरेर बसेका छन् । गाँउले फर्किएसँगै विद्यालयमा विद्यार्थीको चाप पनि बढेको छ । जग्गाको भ्यालु(मूल्य) थिएन् । अहिले जग्गा पाउन कठिनाई छ । बसाई सराई सर्ने क्रम व्यापक थियो । अहिले रोकिएको छ । अहिले फर्किएका छन् । फर्किने क्रममा छन् । कोभिडकै कारण अब गाँउमै केही गर्न सकिन्छ भन्ने सोंच पलाएको छ । रहरले विदेश जाने भएपनि बाध्यताले विदेशिने क्रम सम्भवत रोकिएको छ ।  

सिक्लेस आफैंमा पर्यटकीय ठाँउ हो । कोभिडले थलिएको ग्रामीण पर्यटन प्रवद्र्धन गर्न के कस्ता कुनै प्रवद्र्धनात्मक ल्याइएको छ ?  

कोभिडको लकडाउनको समयमा आन्तरिक तथा बाह्य पर्यटन ठप्पै जस्तो रह्यो । कोभिड अघि सिक्लेस पुग्ने आन्तरिक पर्यटक उत्साहप्रद नै थियो । गएको मंसिरपछि अनौपचारिक रुपमा खुला गरिएपछि आन्तरिक पर्यटकको रोजाईमा सिक्लेस छ । पर्यटकको आगमन उत्साहप्रद छ । खास गरी कोरोनाको खोप आएपछि आन्तरिक पर्यटनको चाप बढ्दै गएको भन्न सकिन्छ । सिक्लेस तथा ताङतिङका होमस्टे र होटल व्यवसायीले पनि प्याकेजका कार्यक्रम ल्याएपछि ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटक बढ्दै गएका छन् । समूहगत रुपमा आउनेलाई तीन रातसम्मको प्याकेजको व्यवस्था होटल व्यवसायीले गरेका छन् । प्रकृति र सँस्कृतिमा रमाउने आन्तरिक पर्यटक आउने गरेका छन् । टे«किङ गर्न मन पराउने पर्यटक कपुचे ताल पुग्ने गरेका छन् । पदयात्राको लागि नयाँ मार्गको पहिचान अभियान समेत छ । सिक्लेस–दुधपोखरी हुदैं मनाङको तिमाङ पुग्ने पदयात्रा मार्ग प्रयोगमा ल्याउने योजना गाँउपालिकाको छ । गाँउ घुम्ने र रिफ्रेस हुने मात्रै नभई गाउँले बातावरणमा रमाउने पर्यटक बढ्दै गएका छन् ।  

भावी योजनाहरु के–के छन् ?

बाटोघाटो निर्माण भएका छन् । निर्माणकै चरणमा छन् । शिक्षा स्वास्थ्यको पहँुच पुग्दै छ । समृद्धिको अभियान छ । कृषि तथा पशुपालनबाटै समृद्धिको परिकल्पना गरिएको छ । खानेपानी, विद्युतको पहुँच पुर्याईदै छ । उत्पादनलाई बजारसम्म पुर्याउने सहज पहुँच छ । अब हरेक बस्तीमा विद्युतीकरण गर्ने योजना छ । केही ठाँउमा विद्युतीकरण हुन बाँकी छ । त्यो पनि हाम्रै कार्यकालमा पुरा गर्ने लक्ष्य छ । एक घर एक धाराको अभियानलाई पनि पुरा गर्ने संघारमा छौं ।त्यो पनि एकवर्षभित्रमा पुरा गर्ने योजना छ । ४५ सय घरपरिवार छन् । त्यसमा ३२ सय घरपरिवारमा एक घर एक धारा पुगेको छ । बाँकी घरपरिवारलाई खानेपानीको पहुच पु्रयाउने लक्ष्य छ । ९ वटा वडा भवन निर्माण गरिएको छ । प्रविधि मैत्री बनाउने रणनीतिक योजनामा अघि बढेका छौं । आधारभूत स्वास्थ्य, माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा मादीमै उपलब्ध गराउने योजना छ । स्थानीयलाई रोजगारसँगै आयआर्जनको लागि प्राप्त स्रोत साधनलाई अधिकतम उपयोग गर्ने योजनामा अघि बढेका छौं । 

प्रकाशित: २२ चैत्र २०७७ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App