लिसा होनन बेलायतको विदेश तथा कमनवेल्थ विकास कार्यालय (एफडिसिओ) को नेपाल प्रमुख हुन् । यो कार्यालय पहिला डिएफआइडीको नामले काम गरिरहेको थियो। सूचनाको महत्व, प्रविधि तथा महिलाका लागि विज्ञान सम्बन्धमा केन्द्रित रहेर नागरिकले उनीसँग गरेको कुराकानी।
अहिले यसको नाम परिवर्तन गरेर विदेश तथा कमनवेल्थ विकास कार्यालय (एफसिडिओ) राख्नुको अर्थ के हो?
यसबाट कोही पनि दुबिधामा पर्नसक्ने मैले बुझ्नसक्छु। एक संगठनका रूपमा, म पहिला डिएफआइडीमा कार्यरत थिएँ। त्यसपछि गत जुलाईमा बेलायतका प्रधानमन्त्रीबाट बेलायतको विकास तथा कुटनीतिक विशेषज्ञतालाई एकसाथ मिलाएर विदेश तथा कमनवेल्थ विकास कार्यालय (एफसिडिओ) को स्थापना गर्ने निर्णय भयो। यो नयाँ विभाग सेप्टेम्बर २, २०२० देखि सुरु भएको हो। युके एड हाम्रो ब्राण्ड हो। तपाईंले कतै युके एडको चिन्ह देख्नुभयो भने त्यसको अर्थ उक्त कार्यक्रमलाई बेलायतको आर्थिक सहयोग प्राप्त छ भन्ने नै हो।
विगतका वर्षमा नेपालको विकासमा युके एडको भूमिकालाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
बेलायतले विगतका वर्षदेखि नै नेपाल सरकारले प्राथमिकतामा राखेका विकास कार्यक्रमलाई सहयोग गर्दै आएको छ। म तपाईंलाई केही उदाहरणका बारेमा भन्न चाहन्छु। नेपालमा गर्भवतीको नियमित चेकजाँच तथा बच्चा जन्माउन अस्पताल आउन प्रोत्साहन दिन यातायात खर्च प्रदान गर्ने कार्यक्रमलाई सहयोग गर्न पाउँदा हामीले गर्वको महसुस गरेका छौं। ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत निर्माण भएको १ हजार १ सय ३८ किलोमिटर तथा मर्मत गरिएको २ हजार २ सय किलोमिटरमा सहयोग गरेको छ। वायोइन्जिनियरिङ प्रविधिको प्रयोगबाट यस्ता सडकले प्राकृतिक विपत्ती सहन सक्ने पक्का गरिएको छ। नेपाल सरकारसँगको साझेदारीमा गरिएको यो कार्यक्रमले दुई दशकको अवधिमा २ करोड १० लाख दिन बराबरको रोजगारी प्रदान गर्नुका साथै महिला तथा पुरुषलाई बराबर ज्याला भुक्तानी गरेको छ।
हाम्रो वित्तीय पहुँच कार्यक्रमले कृषक, महिला तथा युवा वर्गका लागि उन्नत वित्तीय उत्पादनहरू ल्याएको छ। यसमा भौतिक दूरी हटाउने प्रविधिको प्रयोगलगायत विषय छन्। २०७२ सालको भूकम्पपछि शाखारहित बैंक सेवाका लागि हामीले उपलब्ध गराएको आर्थिक सहायताले ग्रामीण परिवारलाई उनीहरूको पहिलो बैंक खाता खोल्न सहयोग गर्यो। यसबाट राज्यले उनीहरूलाई प्रदान गर्ने रकम सिधै बैंक खातामा जम्मा हुन सकेको छ। समयसँगै नेपालको आवश्यकता परिवर्तन भएको छ। सोही अनुसार हामीले प्रदान गर्ने सहयोगमा पनि परिवर्तन गरिएको छ।
नेपालले संघीय राज्य व्यवस्था अपनाएको छ। तसर्थ हाम्रो शासन प्रणाली कार्यक्रम अहिले संघीयतालाई स्थिर तथा प्रभावकारी बनाउन मद्दत गर्ने क्षेत्रमा कार्यरत छ। जलवायु परिवर्तनका असर पहिलाभन्दा स्पष्ट भएर आएको छ। बेलायतले नेपालको स्थानीय सरकारलाई जलवायु परिवर्तन अनुकूल बनाउन ७ अर्ब ५० करोड नेपाली रूपैयाँ (५२.५ मियिन पाउण्ड) बराबरको लगानी गर्दैछ। कोभिड–१९ को महामारीका बेला नेपालले राखेको हरित सुधारको लक्ष्य प्राप्त गर्ने एक आधार स्तम्भ बलियो पूर्वाधार हो। यसका लागि हामीले भक्तपुर र पोखराको क्षेत्रीय अस्पताको रेट्रोफिटिंगको काम गरिरहेका छौं।
नेपालको संविधान, २०७२ लागु भएपछि महिला सशक्तिकरण, अधिकार तथा समावेशिताको विषयलाई तपाईंले कसरी हेर्नुभएको छ? यी विषयमा नेपाललाई सहयोग गर्न बेलायतले कसरी काम गर्दैछ ?
नेपालमा महिला अधिकारलाई अघि बढाउन यो संविधानमा धेरै राम्रा प्रावधान छन्। विशेष गरी सरकारका सबै अंगमा महिला प्रतिनिधित्व तथा सहभागितामा अर्थपूर्ण अभिवृद्धि गर्न सघाउने बाटो संविधानले दिएको छ। संविधानको उपरोक्त प्रावधानको केही फाइदा हामीले पछिल्लो संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा देखिसक्यौं। पैत्रिक सम्पत्तिमा समान अधिकार तथा सबै प्रकारका हिंसाबाट संरक्षणको अधिकार जस्ता संविधानका प्रावधान स्वागतयोग्य छन्। तथापि नागरिकता सम्बन्धी केही महत्वपूर्ण संवैधानिक व्यवस्था अझै पनि महिलाका लागि समान हुन सकेको छैन।
नेपाली पुरुषले कुनै विदेशी महिलासँग विवाह गरेमा उनका सन्तान वंशजका आधारमा नेपाली नागरिक हुने तर विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाको सन्तानले अंगीकृत नागरिकता पाउने कुरा मलाई महिलाहरूले भन्नु भएको छ। किन यस्तो असमान व्यवस्था राखिएको हो भन्ने कुरा मैले बुझ्न सकेको छैन। तर म बाहिरको नागरिक हुँ र यो एक संवेदनशील विषय हो भन्ने मैले बुझेको छु। यो विषयमा नेपालले काम गर्नुपर्ने छ। हामीले यो विषयको कार्यान्वयनमा आउने चुनौतीका बारेमा पनि बिर्सनु हुँदैन। नेपाललगायत कुनै पनि देशमा कानुन जतिसुकै राम्रो किन नहोस्, त्यसको प्रभाव त्यस्तो कानुन गलत प्रवृत्तिलाई रोक्न कत्तिको लागु गरिन्छ र उक्त देशको साँस्कृतिक पक्षले कसरी लागु गर्न अनुमति दिन्छ भन्ने कुरामा समेत निर्भर हुन्छ।
बेलायतद्वारा आर्थिक सहयोग प्रदान गरिएका सबै कार्यक्रममा लैंगिक पक्ष अन्तरसम्बन्धित रूपमा समावेश छ। यसले हाम्रो आर्थिक सहयोग न्यायसंगत विकासको अवधारणालाई सहयोग गर्ने हिसाबले प्रयोग भएको छ भन्ने सुनिश्चित गर्दछ। मैले भेटेका सबै नेपाली महिलालाई हेर्दा उहाँहरू आफ्नो जीवनलाई प्रभाव पार्ने विषयमा आफैं निर्णय गर्न सक्षम हुनुहुन्छ भन्ने बारेमा विश्वस्त गराएको छ। तर यो कुरा सम्भव हुन निर्णय प्रक्रिया निष्पक्ष र न्यायपूर्ण हुनसक्ने गरी पर्याप्त महिला नेतृत्वको भूमिकामा रहने कुरा पक्का हुनुपर्छ। महिलाका लागि रोजगारी सिर्जना गरेर होस्, जलवायु परिवर्तन सम्बन्धी विषयमा महिला नेतृत्व सबल बनाएर होस् वा पारिवारिक योजनाका बारेमा निर्णय गर्न उनीहरूलाई सशक्तिकरण गरेर हुन्छ। सबै क्षेत्रमा महिला नेतृत्व पनि ल्याउनु पर्ने कुरालाई बेलायतले समर्थन गर्छ। मेरो आफ्नै अनुभवको कुरा गर्दा मैले करियरको सुरुवात संगठनको तल्लो तहबाट सुरु गरेको थिएँ। संगठनले उचित वातावरण प्रदान गर्ने हो भने महिलाहरू उच्च नेतृत्व तहमा पुग्न सम्भव हुन्छ। म पछि आउनुहुने महिलाले यसैका लागि संघर्ष गर्न नपरोस् भनेर मैले संगठनको सीमाहरू अझै विस्तार गर्ने कार्य गरेको छु।
नेपाली महिलाका लागि सूचना, प्रविधि तथा विज्ञान महत्वपूर्ण छ भन्ने किन सोच्नुहुन्छ?
नेपाल एक अहम् संक्रमणको माझमा छ। सरकारको सबै तहमा निर्वाचित प्रतिनिधिको ठूलो संख्या महिलाको छ। बजेट तथा नयाँ सन्दर्भमा नीति निर्धारण गर्ने लगायतका निर्णय लिँदा नेतृत्वमा रहेका पुरुष सहकर्मी झैं महिलाले उपलब्ध सूचनाको प्रयोग र विश्लेषण गर्नु आवश्यक छ। दुर्भाग्यवश, नेतृत्वको स्थानमा हुनुभएका महिलाहरूले धेरै प्रश्नको सामना गर्नुपर्छ। बारम्बार आपूmले लिएको निर्णयको औचित्य प्रमाणित गर्नुपर्ने र उच्च अपेक्षाहरू पूरा गर्नु पर्ने अवस्था छ।
यसै कारणले बजेट तथा नीति सम्बन्धमा महिलाले लिने निर्णयमा थप प्रामाणिकता आवश्यक पर्छ। सूचना तथा प्रविधिले महिलालाई सुसूचित नीतिगत निर्णय लिने भूमिकामा सहयोग गर्छ। यस्तो निर्णयले महिला तथा पुरुष दुवै उम्मेदवारलाई प्रभाव पार्छ।महिलाहरूले विभिन्न प्रकारका विभेदको सामना गर्नुपर्छ। त्यस्तै सामाजिक मान्यताका कारण जीवनका धेरै पक्षहरूमा उनीहरूको न्युन सहभागिता छ। नेपालमा प्रविधिको विकास हुँदै गर्दा महिलालाई सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा सक्रियतापूर्वक सहभागी नगराउने हो भने उनीहरू फेरि पछि पर्ने जोखिम हुन्छ।
महिलाहरूले विभिन्न प्रकारका विभेदको सामना गर्नुपर्छ। त्यस्तै सामाजिक मान्यताका कारण जीवनका धेरै पक्षहरूमा उनीहरूको न्युन सहभागिता छ। नेपालमा प्रविधिको विकास हुँदै गर्दा महिलालाई सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा सक्रियतापूर्वक सहभागी नगराउने हो भने उनीहरू फेरि पछि पर्ने जोखिम हुन्छ।
सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा नयाँ विवेचना तथा भिन्दै दृष्टिकोणहरू सहित महिलाको आफ्नै आवाज छ। यसले उपरोक्त क्षेत्रमा परम्परागत रूपमा हामीले सुनिरहेकोभन्दा फरक आवाज प्रस्ताव गर्दछ। महिला नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा भएको तीव्र विकासको एक भाग हुन जरुरी छ। आगामी दिनमा प्रयोग हुने प्रविधिको प्रकार, मानव जीवन समुन्नत बनाउन प्रयोग गरिने नवप्रवर्तनहरू, नीति निर्धारण तथा हाम्रो जीवनलाई प्रभावित गर्ने निर्णयहरू गर्दा प्रयोग गरिने सूचना तथा प्रमाणहरूले हाम्रो भविष्यलाई आकार कोर्छ। यस क्षेत्रमा महिला सहभागिताको हकमा अहिले पनि ठूलो लैंगिक असमानता विद्यमान छ। तसर्थ एक समान भविष्यका लागि महिलाहरूको पर्याप्त सहभागिता आवश्यक छ।
तपाईंलाई सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा महिलाले कस्ता चुनौतीहरू सामना गर्नुपर्छ ?
सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा पुरुषको वर्चश्व छ। त्यहाँ भएका महिला सहयोगी भूमिकामा छन्। तसर्थ यस क्षेत्रमा अनुकरणीय व्यक्तित्वका रूपमा हेर्न सकिने थोरै महिलाहरू मात्र छन्। आफ्नो व्यावसायिक यात्राको हरेक मोडमा महिलाले आपूmलाई एक्लो महिलाको रूपमा पाउँछन्। चाहे त्यो कक्षा कोठामा होस् वा कार्यालयमा होस्। उनीहरूले आफ्नो आवाज सुनाउन कडा परिश्रम गर्नुपर्छ। कुनै पनि महिलाको सूचना, प्रविधि तथा विज्ञानको क्षेत्रमा आफ्नो कार्यलाई निरन्तरता दिने निर्णयलाई लैंगिक भूमिका, लैंगिक पूर्वाग्रह तथा रूढीवादी सोचले प्रभावित गरेको हुन्छ। यही कारणले उनीहरूले आफ्नो व्यावसायिक यात्राको अगाडिको बाटोलाई निरन्तरता दिन सकेका छैनन्।
विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (स्टेम) को क्षेत्रमा काम गर्ने मानिसको २६ प्रतिशतलाई मात्र महिलाले प्रतिनिधित्व गर्छन्। यो क्षेत्रमा महिलाको नेतृत्व क्षमता बढाउन के कस्ता अवसरहरू रहेको देख्नुहुन्छ?
विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (स्टेम) को विधामा कार्यरत कैयौं महिलाको क्षमता हेर्दा नेतृत्वमा देखिएको अवरोध समाधान गर्नै नसकिने समस्या होइन भन्ने स्पष्ट छ। सहभागिता र नेतृत्वको संख्या बढेसँगै नयाँ पुस्ताका महिलाका लागि यो क्षेत्रमा अनुकरणीय व्यक्तिको भूमिका निर्वाह गर्ने महिला पनि बढ्ने छन्। त्यस्तो वृद्धि पश्चात यो क्षेत्रमा महिलाका लागि अवसरमा सुधार भएको देखिनेछ। यसका लागि सानो उमेरदेखि नै महिलामा लगानी गर्नु आवश्यक हुन्छ। नयाँ नेतृत्व सिर्जना गर्न विश्वविद्यालय तहबाट नै स्टेमको विधामा लाग्न महिलालाई प्रोत्साहन गर्नु एक महत्वपूर्ण अवसर हो। त्यसैगरी महिलालाई यस क्षेत्रमा पूर्ण आत्मविश्वासका साथ सहभागी हुनसक्ने बनाउन नेतृत्व क्षमता विकास, पेशागत तथा प्राविधिक सीप अभिवृद्धि गर्न लगानी गर्न सक्छौं। अन्य युवा महिलालाई सशक्त बनाउन कार्य गर्न सकिन्छ।
नेपालमा नागरिक समाजको रूपमा सूचना तथा प्रविधिको क्षेत्रमा पोख्त संगठनको एक सक्रिय समूह छ। वुमन इन स्टेम, वुमन लिडर्स इन टेक्नोलोजी तथा गल्र्स इन टेकलाई केही उदाहरणका रूपमा लिन सकिन्छ। यसका साथै महिलाको नेतृत्वमा प्रविधि क्षेत्रका कैयौं निजी कम्पनी छन्। मुनलिट सोलुसन्स्, स्मार्ट चेली, सोचवेयर, लग पोइण्ट तथा किम्बु टेक केही त्यस्ता कम्पनी हुन्। महिलाको नेतृत्वमा रहको अन्य संगठनसँग मिलेर ती संस्थाहरूले नियमित कार्यक्रम सञ्चालन गर्ने, महिला समूह स्थापित गर्ने, नेतृत्व विकास तालिम चलाउने, डाटा र विद्युतीय साक्षरता, नेटवर्किंग, करियर कार्यक्रम (जस्तो रोजगार बजार, टेड–टक आदि) सञ्चालन गर्ने अवसरहरू छन्। यस्ता कार्यहरूबाट यो क्षेत्रमा महिला नेतृत्वको अवसर सिर्जना गर्न सकिन्छ।
आफ्नो व्यावसायिक यात्रातर्फ फर्केर हेर्दा, अन्य महिलाले तपाईंका लागि मार्गदर्शकका रूपमा कस्तो भूमिका खेलेका थिए? अथवा तपाईंले युवा पेसाकर्मीलाई कसरी मार्गदर्शन गर्नुभयो?
मलाई सहयोग गर्ने धेरै मानिसहरू हुनुहुन्थ्यो। म सँधै थोरै अनिच्छुक थिएँ। जस्तो म पदोन्नतिका लागि निवेदन दिन पनि अनिच्छुक थिएँ। यो महिलाको एउटा साझा विशेषता हो। हामी आफूलाई कुनै कामका लागि उपयुक्त नभएको ठान्छौं। मलाई सधैं यो काम गर्न तयार छु भन्ने महसुस गर्नुपर्ने जरुरत हुन्थ्यो। यो काम आफैं गर्न सक्छु भनेर आफैंलाई प्रमाणित गर्नका लागि म अस्थायी रूपमा उच्च तहको काम गर्न सहमत भएको थिएँ। विगतका कैयौं अवसरमा मानिसहरूले मलाई भेटेर कम्तिमा त्यस्तो काम लिएर त हेर भन्ने हौसला दिनुभएको थियो। उहाँहरू सबै पुरुष हुनुहुन्थ्यो। मेरो क्षमताका बारेमा उहाँहरू सही हुनुहुन्थ्यो।
प्रकाशित: १९ चैत्र २०७७ ०४:३३ बिहीबार