६ वैशाख २०७८ सोमबार
अन्तर्वार्ता

पर्यटन प्राधिकरण, बोर्ड वा विश्वविद्यालय आवश्यक ठानेका छौंः विकास लम्साल (अन्तर्वार्ता)

विकास लम्साल, पर्यटनमन्त्री, गण्डकी प्रदेश

गण्डकी प्रदेशको मुकाम पोखरा आफैमा कहलिएको पर्यटकीय सहर हो । पोखरासँगै आसपासका क्षेत्र पनि पछिल्लो समय विश्वमै परिचित पर्यटकीय गन्तव्य बनिरहेका छन् । पर्यटन व्यवसायबाट लाभ लिन सकिने भन्दै यहाँ ठुलो आकारको लगानि पनि भईरहेको छ । तर, कोरोना भाइरस महामारीका कारण पर्यटनले एकवर्षदेखि लय लिन सकेको छैन । कोरोनाको मारमा परेका अरु सबै क्षेत्रले गति लिन थालिसक्दा पनि पर्यटन क्षेत्र भने उठ्न सकेको छैन । कोरोनाले गलाएको पर्यटन क्षेत्रलाई उकास्नका लागि पछिल्लो समय यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै जोड दिईरहेका छन् ।  अझै केही समय नेपालमा विदेशी पाहुना आउने सम्भावना नरहेकोेले त्यतिन्जेलसम्म आन्तरिकको भरमा चल्नुपर्ने बाध्यता रहेको व्यवसायीले बताउँदै आएका छन् । यही सन्दर्भमा गण्डकी प्रदेश सरकारले कोरोनाको मारमा परेको पर्यटनलाई उकास्नका लागि गरेको पहल तथा व्यवसायीलाई पलायन हुन नदिनका लागि ल्याईएका योजनाबारे प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसँग नागरिककर्मी सन्तोष पोखरेलले गरेको कुराकानीको सारः  

गण्डकी प्रदेशको पर्यटन व्यवसाय अहिले कुन अवस्थामा छ ?  

हाम्रो पर्यटन अहिले पनि निरन्तरतामै अघि बढेको छ । विगतमा जे जसरी पर्यटन व्यवसाय चलिरहेको थियो, त्यसैको निरन्तरता अहिले छ । पर्यटनबाट समृद्धि ल्याउन अब ऐन, कानुन, पूर्वाधार, जनशक्ति, प्रडक्ट थप्नुपर्ने हुन्छ ।  

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्रलाई पारेको असरलाई गण्डकी प्रदेश सरकारले कुन रुपमा बुझेको छ ?  

कोरोनाको कारणले पर्यटन कोमामै पुगेको थियो । आन्तरिक पर्यटनको कारणले केही अघि बढिरहेको देखिएको छ । अहिले पनि विदेशी पाहुना आउने अवस्था छैन । पछिल्लो समय केही भारतीय आउन थालेका छन् । अरु विदेशी आउने अवस्था छैन । अहिले कोरोनाको खोप पनि लगाउन थालिएकोले बिस्तारै चलायमान हुन खोजेको जस्तोे देखिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले प्रतिदिन १४ करोडको घाटा बेहोरेको थियो । त्यो घाटा अहिले पनि छ । असोजपछि केही आन्तरिक पाहुना आउन थालेपछि घाटा थोरै कमी भएको होला । आन्तरिक पर्यटकले होटलको ढोका खोलेको र ढुसी मात्र फालेको हो, आम्दानी भने भएको छैन ।  

गण्डकी प्रदेश सरकारले २०१९ मा आन्तरिक पर्यटन वर्ष मनायो । त्यसपछि कोरोनाको कहर सुरु भयो, अहिले कोरोनाको त्रास केही घटेको देखिएको छ । अब फेरि अभियान चलाउने बेला भएन र ?

२०१९ मा आन्तरिक पर्यटक लक्षित भ्रमण वर्ष मनाएपनि कोरोनाका कारण त्यसपछि रोकिएको हो । पर्यटनमा व्यक्तिको आदानप्रदान हुनुपर्छ । कोरोनाका त्रासले मान्छे नै डुल्न, आउजाउ गर्न नपाउने अवस्था आएपछि रोकिएको हो । अब आन्तरिक पर्यटनका लागि काम गर्ने बेला हुन थालेको छ । अब बिस्तारै सुरक्षित हिसाबले स्वास्थ्यका मापदण्ड बनाएर आन्तरिक पर्यटन चलायमान बनाउने बेला भएको छ । तर, पूर्ण रुपमा त्रास अझै हटेको छैन । कतिपय देशमा कोरोनाको दोश्रो लहर पनि देखिएको छ । अन्यत्र अझै पनि कोरोनाको प्रभाव देखिएकोले हामीले हतार नगरी सुरक्षित रहन खोजेका हौं ।  

पोखराले आन्तरिक पर्यटनमा ४० प्रतिशत हिस्सा लिइसकेको थियो । व्यवसायीले अझै पनि आन्तरिक पर्यटन भनिरहेका छन् । तर, के पोखराले बोलाउँदैमा आन्तरिक पर्यटक आउँछन् त ?  

पोखरा प्रकृति, संस्कृतिको धनी भएकोले यहाँ भित्रिनासाथ पाहुनाले भिन्दै अनुभव गर्छ । उडेर वा गुडेर यहाँ आइसक्दा पाहुनामा भिन्दै खुसियाली हुन्छ । हामी अझ व्यवस्थित नभईसक्दा पनि यो अवस्था छ । पोखरा खुला छ, पोखरा सुरक्षित छ भनेर सन्देश दिन सकियो भने पक्कै पनि पर्यटक आउँछन् ।  

कुनै प्याकेज र योजना बिना पाहुना तान्न सकिएला र ? पर्यटक तान्ने बहाना के त ?  

पर्यटन क्षेत्रमा प्याकेज बनाउनु पर्छ । अहिलेसम्म पर्यटन गुजारा र निरन्तरतामा थियो । तर, अब प्रतिश्पर्धा आवश्यक छ । अब खर्च गर्ने पर्यटक तान्नुपर्छ । अहिलेसम्म संख्यात्मक रुपमा पर्यटक भित्रिएको कुरामा हामी भुलेका छौं, तर, अब संख्या मात्र नभई गुणस्तरीय पर्यटक तान्नुपर्छ । त्यसका लागि महंगा पर्यटकले खर्च गर्नेगरि गतिविधि बढाउनुपर्छ । 

पूर्वाधार निर्माणमै जोड दिएर पर्यटक तान्न सकिन्छ । हामीले पुर्वाधारको कुरा गर्दा सडकमा फड्को मारेका छौं । हवाई सञ्जाल पनि सातैवटा प्रदेशमा जोड्ने तयारी छ । धनगढिबाट पोखरा उडान थाल्नासाथ गन्तव्य बढ्छ । सिमरा पनि केहीदिनपछि उडानको योजना छ । रारा र फेवा जोड्नेसम्मका योजना बनिरहेका छन् । त्यस्तै प्रदेश सरकारले २०१९ मा आन्तरिक पर्यटन भ्रमण वर्ष मनाउँदै गर्दा छुटका प्याकेज सार्वजनिक ग¥यो । त्यो अनुसार हामीले कार्ड बनाएर २० प्रतिशतसम्म छुट दिएका थियौं । त्यो छुट व्यवसायीकै थियो । हामीले सुरु मात्र ग¥यौ, कोरोनाले गर्दा रोकियो, पूर्ण रुपमा अघि बढ्नै पाएन । तीनलाख कार्ड छापेपनि बाड्न पाएनौ ।  

तर, पर्यटकीय क्षेत्र लेकसाइडको गुनासो त पूर्वाधार भएन भन्ने नै छ त ? निजी क्षेत्रले लगानी ग¥यो, तर सरकारी तहबाट सहयोग भएन भन्ने गुनासो छ । के भन्नुहुन्छ ?

गुनासो उनीहरुको हो । पोखराको फेवाताल बनाउन २८ करोड रुपैयाँ (सिल्टेसन ड्याम), पूम्दिकोटमा ४३ करोड रुपैयाँ खर्चेर शिबजी मन्दिर र योगासन, फेवाताल सौन्दर्यीकरण, फेवातालको सीमांकन जस्ता पुर्वाधार बनाउने र संरक्षणका काम भईसकेका छन् । यी काम प्रदेश सरकारले गरेको छ । डेढकरोड रुपैयाँ खर्चेर सराङकोटमा रिभल्भिङ टावर बनिरहेको छ । कुन ठाउँमा पैसा परेको छैन भनेर भन्न सकिन्न । विभिन्न गन्तव्यमा पनि बाटो बनाएका छौं । काम नियमित भईरहेका छन् ।  

त्यसो भए किन यस्तो गुनासो आउँछ त पर्यटन व्यवसायीबाट ?

गुनासो त आउनुपर्छ । आफ्नै अगाडि भएन भने उसले गुनासो गर्छ । यताउती पाइला चालेर हेर्दैन । उ आफ्नो व्यवसायबाट आत्मकेन्दित छ । त्यस्तो बेला गुनासो आउने हो । हामीले पनि गरेका कामको प्रचार गर्न सकेका छैनौ । हाम्रा कमिकमजोरीलाई देखाएर गुनासो गर्नु नराम्रो होइन, त्यो गुनासोको रुपमा नभई माग गरेको रुपमा हामीले बुझेका छौ ।  

आन्तरिक पर्यटक प्रवद्र्धन गर्नका लागि कर्मचारीलाई खर्च दिएर घुम्न पठाउने तयारी प्रदेश सरकारले गर्ने भन्दै आएको थियो । संघीय सरकारले पनि दुईदिन सार्वजनिक बिदा दिएर कर्मचारीलाई घुमाउने भनेको हो । यो प्रक्रिया कहाँ पुग्यो ?

गण्डकी प्रदेशका २२ सय कर्मचारीलाई सातदिन घुमेर आउ, अनि एकमहिनाको तलब लैजाउँ भनेका हौ । ६ दिन काम गराएर दुईदिन बिदा गराउनु ठुलो कुरा होईन । तर, हामीले कामै दिन सकेनौ । अवसर र सुविधा दिने तर, ६ दिन काम नै पुगेन । प्रयाप्त काम दिएर २ दिन बिदा दिन समस्या छैन । तर, कर्मचारीलाई काम नै पुगेको छैन । घुम्न पठाएर मात्र भएन ।  

२०२१ भित्रै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । विमानस्थल तयार भईसक्दा त्यही विमानस्थलसम्म पुग्ने पहुँचमा समस्या छ । विमानस्थलसम्म पुग्ने पुर्वाधार बनाउन अब ढिला भएन ?

ढिला भएको हो । प्रदेशका मुख्यमन्त्री, महानगरका मेयर र हामी बसेर त्यो बारेमा छलफल गरिरहेका छौं । पोखराको फोहरमैला व्यवस्थापन, लेकसाइडदेखि विमानस्थलसम्म ६ लेनको सडक बिस्तार, विमानस्थल बाहिर सौन्दर्यकरण गर्ने काममा ढिलाई भइसकेको छ । अहिले पनि सामान्य पर्यटकका लागि समस्या छैन । त्यसबाहेक एसियाली विकास बैंंंक (एडीबी)ले पोखरा–मुग्लिन सडक बनाउँदैछ । त्यही काम मुग्लिनतिरबाट नभई पोखरातिरबाट सुरु गरौं भन्ने चाहेका हौ । तर, त्यो पनि ढिलाई भइसकेको छ । खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भिœयाउनका लागि पनि सकारात्मक सन्देश दिनेगरि हामीले पूर्वाधार बनाउन ध्यान दिनुपर्छ ।गुफामा योगा गर्ने, खेलकुद, शिक्षाका पूर्वाधार खोजेर पनि थप्न चाहेका हौ । 

अहिले जगभित्र हालेको ढुंगा बाहिर नदेखिएको मात्र हो, तर, काम नभएको होईन । बाहिर आउन नसकेको हो । त्यसबाहेक पर्यटन गुरुयोजना बनाएका छौ । पर्यटन विकासको लागि पर्यटन प्राधिकरण, गण्डकी प्रदेशको पर्यटन बोर्ड वा विश्वविद्यालय आवश्यक हुने ठानेका छौ । त्यस्तै काँहुधारामा यशोधारा पार्क बनाउने तयारी छ । कफुचे लेकसम्मको पदयात्राका लागि रुट निर्माणको तयारी छ । पर्वतीय उडान पनि तयारी छ । गोरखा र बागलुङबाट पर्वतीय उडानको तयारी छ ।

विमानस्थल निर्माण भईसक्दा हवाई रुटको बारेमा तयारी कहाँ पुगेको छ ?  

यसमा कुनै समस्या छैन । आन्तरिक रुपमा काम भईरहेको छ । हङकङ, चीन, भारतबाट पोखरासम्म उडान गर्ने योजना छ । हवाई रुटमा समस्या हँुदैन ।

पर्यटनका हिसाबले सबै कुरा पोखरामा मात्र केन्द्रीकृत भयो भन्ने अरु जिल्लाको गुनासो छ । त्यस्तो हो र ?

हामीसँग पर्यटकको आकर्षण नै पोखरामा छ । हिमाल, ताल, गुफा सहितका पूर्वाधार छन् । त्यसैले त्यस्तो गुनासो आएको हुनसक्छ । तर, सबैतिर ध्यान दिएका छौं ।

मोटरबाटोको कारणले पोखरा सेरोफेरोको पदमार्ग ध्वस्त भयो भन्ने छ त्यसलाई कसरि रोक्ने ?  

कुनैबेला जानै नपर्ने ठाउँमा मोटर पुग्यो । तर, अहिले हामी सचेत छौ । अब कुनैपनि ठाउँमा मोटरबाटो खन्न पाइदैन । वातावरणीय प्रभाव मुल्यांकन नगरी अब सडक खन्न पाइदैन भनेर हामीले सबै स्थानीय तहलाई जानकारी दिएका छौं ।

होमस्टेमा गण्डकी प्रदेश सरकारले निकै ठुलो लगानी ग¥यो । त्यो रहरमा मात्र सिमित भयो की साच्चै परिणाम आयो ?  

होमस्ेटमा हामी अलि बढि उत्साही भएकै हौ । त्यो बेला आकर्षण थपिएर माग  बढेको र आवेदन आएको हो । पहिलो चरणमा आकर्षण बढाउन कार्यविधिमा केही सहज पनि बनायौं । पछि कार्यविधि सच्चायौं । अहिले ३०० होमस्टेमध्ये १३३ मात्र पास भएका छन्, अरु फेल भएका छन् । १३३ वटाले दोश्रोपटक अनुदान पाएका छन् । अहिले १३ करोड रुपैयाँ अनुदान पाएका छन् । वर्षमा दुईहजार जना पर्यटक पुगेको हुनुपर्ने, पर्यटकीय गन्तव्यसँग जोडिएको हुनुपर्ने, अग्र्यानिक उत्पादन हुनुपर्ने, १० घर हुनुपर्ने, भिन्दै कोठा, शौचालय हुनुपर्ने भनेर मापदण्ड बनाएपछि सबै होमस्टे सफल हुन सकेनन् ।  

होमस्टे संचालनमा कतिपयले रहर मात्र गरेका हुन् त त्यसो भए ?  

होमस्टे रहरले मात्र चल्ने विषय होइन, होमस्टे नहुँदा गाउँमा पुग्दा पिढींमा बस्नुपर्दथ्यो । अहिले त्यसले व्यवसायिकता लिएको छ । होमस्टेले उत्पादनमा सघाएको छ । आयात बिस्थापित गराएको छ भने संस्कृति जोगाएको छ । होमस्टे जनता र गरिबसँग जोडिएको छ ।  

अब प्रदेशको पर्यटन मन्त्रालयको प्रवद्र्धनको योजना के छ ?  

अहिले पर्यटन व्यवसायीले मात्र चलायमान बनाउन प्रयास गरेका छन् । हामीले आव्हान गरेका छैनौ । अहिले पनि कोरोनाको पुरै प्रभाव सकिएको छैन । सबैले खोप लगाउन पाएका पनि छैनन् । अन्यत्र दोश्रो चरणको प्रभावले लकडाउनको प्रभाव बढ्दो छ । हामी अहिलेसम्म कम क्षतिमा रहेका छौ । कम क्षतिमा रहेको बेला अहिले नै आव्हान गर्नु हतार हुनेछ ।

तर व्यवसायी पलायन भयौं भनेका छन् नी ?

व्यवसायी जोगाउनकै लागि अहिले एकअर्बको जीवन रक्षा कोषको अनुदानको योजना ल्याएका छौ । त्यसमा १० अर्ब रुपैयाँ बैंकले लगानी गर्ने हो । तीनवर्षसम्म १० अर्ब रुपैयाँ व्यवसायिको हातमा जान्छ । तीनवर्ष प्रदेश सरकारले ब्याज तिरिदिन्छ । बिनाब्याज १० अर्ब रुपैयाँ व्यवसायीको हातमा जान्छ । त्यो एउटाले मात्र पनि पाउने होईन । साना व्यवसायीको लागि प्राण हो ।  

व्यवसायीले के गर्दा पर्यटन उकासिन्छ त ?  

व्यवसायी यो बेला बाच्नुपर्छ । उनीहरुका चिज बच्नुपर्छ । उनीहरु निराश हुनुहुँदैन । व्यवसायीको क्षमता बढाउनुपर्छ । अहिले पर्यटन ठप्प छ । अब पर्यटनको बाढी आउँदाका दिनसम्म आफ्नो क्षमता बढाएर तयारी गर्नुपर्छ । पूर्वाधार पनि अब बनाउनुपर्छ । ऋण गरेर भएपनि पूर्वाधार बनाउनुपर्छ, नोक्सानमा कहिल्यै जाँदैन । अहिलेको लगानीमा केही थपेर गह्रौ भारी बोक्न तयार हुनुपर्छ । क्षति पूरा गर्नका लागि पनि तयार हुनुपर्छ ।  

पोखराका हालका पूर्वाधार पर्यटन क्षेत्रका लागि कत्तिको प्रयाप्त हुन् ?  

हामीसँग कामचलाउ पुर्वाधार छ । तर, खर्च गर्ने महंगा पर्यटकका लागि दिने चिज छैन । स्पेशल कोठा नै दिन सक्दैनौ । पाँचतारे एउटा मात्र छ । कम्तिमा २० वटा होटल हामीलाई चाहिन्छ ।

प्रकाशित: ८ चैत्र २०७७ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?