१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘गण्डकी प्रदेशमा क्रिकेट कल्चर कमजोर छ’ (अन्तर्वार्ता)

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल

खेलकुद र पर्यटन  आर्थिक विकासको लागि परिपुरक हुन् । त्यसमा पनि अझ दर्शकयुक्त खेल पर्यटन प्रवद्र्धनको लागि कोेशेढुंगा नै हो । फुटबलसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने खेल क्रिकेट हो । क्रिकेटको विकास र विस्तार पर्यटन प्रवद्र्धनको आधार बन्नेमा दुईमत छैन् । घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश सरकारले पनि क्रिकेट मैदान निर्माणमा चासो र गम्भीरता देखाएको छ । क्रिकेट मैदान निर्माणले क्रिकेटमा नयाँ आयाम थपिने छ भने पर्यटन प्रवद्र्धनमा अर्को इँटा थपिने छ । यसै सन्दर्भमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष समेत रहेका कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलसँग नागरिककर्मी धन बस्नेतले गरेको कुराकानी ।  

क्रिकेट विकासको लागि संघ, स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारको भूमिका कस्तो छ ?

–क्रिकेट विकासका लागि नै संघहरुको स्थापना भएका हुन् । त्यसैले खेलको विकास र वृत्तिमा हामी लागेका छौं । सरोकारवालाहरुको भूमिका सकारात्मक नै मान्नुपर्छ ।  कास्कीका पाँचैवटा स्थानीयतहसम्म क्रिकेट लैजान सकिएको छैन् । विशेष गरि पोखरा महानगरमा मात्रै सीमित छ । आशा गरे अनुसार स्थानीय सरकारको सहयोग पाउन नसकेकै हो । प्रदेश सरकारको सन्दर्भमा समग्र खेल क्षेत्रको लागि सकारात्मक छ । पोखरामा क्रिकेटको अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउने योजना अनुसार जग्गा प्राप्तिसंगै डीपीआर समेत सार्बजनिक भईसकेको छ । यस वर्ष २ करोड रुपैयाँ बजेट विनियोजित भएकोले केही आशा गर्न सकिन्छ । तर बजेट कार्यान्वयन पक्ष कमजोर छ । बजेट को सहि सदुपयोग गर्न संघ लागेको छ । केन्द्र सरकारको सन्दर्र्भमा पछिल्लो समय नेपाल क्रिकेटले असामान्य परिस्थितिलाई व्यहोर्न पुग्यो । नेपाली क्रिकेटको नेतृत्व संस्था कामविहीन हुन पुग्यो । पछिल्लो समय प्रतियोगितासँगै भौतिक संरचनामा पनि लगानी बढेको छ । बिडम्बना कोरोनाको महामारीसँगै गतसाल परेको ३ करोड रुपैयाँ बजेट फ्रिज भयो । अब नेपाल क्रिकेटको सर्बोच्च संस्था नेपाल क्रिकेटले पूर्णता पाएको छ । । तीनै तहको सरकार, प्रदेश, संघ र  जिल्ला संघहरुको संयुक्त प्रयासले अन्तर्राष्ट्रिय रुपमा पाएको क्रिकेटको सफलतालाई जोगाउन र चुनौतीको डटेर सामना गर्नुपर्छ ।  

पूर्वाधार विना खेलकुदको विकास सम्भव छैन । क्रिकेटको बर्तमान अवस्थालाई कसरी औल्याउन सकिन्छ ?

खेलकुद विकासको लागि पूर्वाधार अपरिहार्य हो ।  कास्की क्रिकेटको हकमा तयार मैदान छ यो पनि ठुलै कुरा हो ।  यसका साथै अभ्यासका लागि विकेटहरु छन् । हाम्रो तयारी र प्रशिक्षणमा धेरै समस्या छैन र पनि हामी पोखरालाइ क्रिकेटको गन्तब्यको रुपमा विकास गर्ने हो भने हाम्रो मैदानको स्तरोन्नतिसंगै अर्को मैदान पनि आवश्यक रहन्छ । जसका लागि प्रदेश सरकारको पनि चासो रहेको छ ।  नेपालमा खेलकुदलाई  छुट्टिने बजेटको हिसाबले ठिकै हो । तर जसरी नेपाललाइ क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा सफलता दिएको छ त्यसको तुलनामा बर्तमान अवस्थामा सन्तुष्टी गर्ने ठाँउ छैन् ।  

पूर्वाधारमा संघीय र प्रदेश सरकारको लगानीलाई कसरी हेर्न सकिन्छ ?

लगानी न्यून छ । परेका बजेट पनि कार्यन्वयनमा समस्या छ । सरकारी मेकानिज्म चुस्त र दुरुस्त हुनुपर्छ । सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यसमा सरकारसँगै निजी क्षेत्र पनि आउनुपर्छ ।  नेपाली क्रिकेटको सर्बोच्च संस्था नेपाल क्रिकेट संघको नेतृत्व र अन्तर्राष्ट्रिय क्रिकेट संघको पनि अनुदान महत्वपूर्ण हुन्छ । हामीले अन्य देशका सफल मोडेलहरु पनि अपनाउन सक्छौ

क्रिकेट आफैंमा दर्शकयुक्त खेल हो । यसलाई अन्तर्राष्ट्रिय बजार क्षेत्रमा बजारीकरण गर्न नसक्नुको कारण के हो जस्तो लाग्छ ?  

नेपालमा क्रिकेटको क्रेज छ । ननटेस्ट प्लेईङ नेशनमा दर्शकको हिसाबले नेपाल अग्रस्थान मै आउँछ । जुन अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा आकर्षण छ ।  आइसिसीको टार्गेटमा नेपाल पनि पर्छ । नेपाली क्रिकेटको पछिल्लो बिबादले केही दुरी बढाइराखेको छ ।  तरपनि सकारात्मक देखिएको छ । आइसिसीको गाइड लाइन अनुसार नेपालले काम पनि गरिराखेको छ । तर मुख्य समस्या पूर्वाधार कै हो । दोश्रो मिडिया र तेश्रो ठुला लिगहरु, जसमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुन् ।  हामीसँग तयार पूर्वाधार हुने अबस्थामा धेरै लगानीहरु आउन सक्छ । जसले अन्तर्राष्ट्रिय बजारको पहुच पुग्न सक्छ ।

खेलकुद पर्यटनको संवाहक हो । क्रिकेटलाई टुरिज्मसँग जोड्दै प्रवद्र्धनात्मक अभियानको लागि संघको भूमिका कस्तो छ र हुनुपर्छ ?

पर्यटन प्रवद्र्धनमा खेलको महत्वपूर्ण भूमिका रहन्छ ।  पोखरा खेल शहरसंगै पर्यटनको पनि राजधानी हो ।  पर्यटकका लागि पोखरामा निजीक्षेत्रबाट धेरै लगानीहरु आएका छन् । अब यसलाई पर्यटनसँग जोड्न यो क्षेत्रमा पनि लगानी आबश्यक छ । क्रिकेटमा पनि त्यो लागानी आओस भन्ने चाहेका हौ । यो संगै पोखरामा छिमेकी शहर, जिल्ला र मुलुकका साथै कर्पोरेट, फ्रेन्चाईज क्रिकेट लिग, पत्रकार र  भिआइपीहरुको च्यारिटी खेलहरु पनि आयोजना गर्न हामीले प्रोत्साहन गरेका छौं ।    

गत साल बेलायतको पुरानो क्रिकेटको जननी  क्लब एमसीसी जसको च्यारिटी मार्फत पोखराको सामुदायिक विद्यालयहरुमा एकेडेमी संचालनको साथ पोखरा भ्रमण आगामी चारवर्षका लागि तय भएको थियो । यसले पर्यटनका साथै यहाँको क्रिकेट स्तरोन्नतिको लागि बिशेष हुने थियो ।  मलेसिया गतसाल पोखरा खेलेर गयो । उनीहरु पनि वार्षिक कार्यक्रम मै पोखरा आउन चासो राखेका थिए । ओमान नेपालसंग हुने खेल पोखरामा खेल्न चासो देखाएको थियो । यसले समग्र पोखराको पर्यटनमा महत्वपूर्ण आशा देखाएको छ ।

एकताका निकै नै चर्चा थियो की पोखरालाई अन्तर्राष्ट्रिय न्युट्रल भेन्यु बनाई क्रिकेटको प्रवद्र्धन गर्ने । त्यो चर्चा अहिले सेलाएको छ । सरोकारवालाको ध्यान नपुगेरै हो ?

हिजो चर्चा मात्र हो ।  अहिले काम पनि भईरहेको छ । केही महिना मात्र अगि प्रदेश सरकारले गण्डकी अन्तर्राष्ट्रिय मैदानको डिपीआर सार्बजनिक गरेको छ । यो वर्ष केही टोकन मनी पनि राखेको छ । आगामी वर्ष संघीय सरकारको बजेटमा पार्न मुख्य मन्त्री र सिंगो सरकार लागेको पनि छ ।  प्रदेश खेलकुद विकास परिषदले पनि छिट्टै पूर्णता पाउला आशा गरौं छिट्टै अन्तर्रास्ट्रिय खेलहरु हामी पोखरा मै बसेर हेर्न पाइनेछ ।  

पोखरालाई क्रिकेटको सिटीको रुपमा एक्सपोज गर्न सरोकारवाला निकायको भूमिका कमजोर भएको जस्तो लाग्दैन ?

त्यस्तो अवस्था छैन । यसका लागि धेरै कुराहरुको संयोजन मिल्नुपर्छ । आकर्षण, लगानी, ब्यवस्थापन,  खेलाडी, प्राबिधिक, प्रायोजक, सरकार, समुदाय र बिशेष यसको नेतृत्व गर्ने संस्थाको भूमिका गहन हुनुपर्छ ।  

गण्डकी प्रदेश क्रिकेटमा आफैंमा कमजोर छ । विकासको लागि संघले कस्ता योजना ल्याएको छ ?

नेपाली क्रिकेटले पूर्णता पाइसकेको छ । बिगतका तितामिठा अनुभवबाट सबैले सिक्नु पर्छ । प्रदेशिक क्रिकेट संघ गण्डकी प्रदेश गठन पछि यसले पनि यस प्रदेशको विकास योजनामा काम गरिरहेको छ । गण्डकी प्रदेशमा क्रिकेट कल्चर कमजोर नै छ ।  कास्की बाहेक अन्य जिल्लामा पूर्वाधारको कारण पनि आकर्षण कम छ । क्रिकेट मात्र नभई सबै खेलाडीहरु क्रिकेटको भबिष्यको बारेमा सोच राख्ने सके शतप्रतिशत नजिता दिन सक्छन् । खेलाडीले शतप्रतिशत दिनसकेको अवस्थामा खेलले नतिजा दिन थाल्छ । नतिजाले खेलाडी मात्र होइन यसका सरोकारवालाहरुलाई पनि त्यही खालको बल पुग्छ । जसले यसको विकासका गर्न प्रेरित गर्छ । योजना अनुरुप काम गर्न उर्जा थपिन्छ ।  

पूर्वाधार भएरपनि क्रिकेटको विकास नहुनुको कारण के हो जस्तो लाग्छ ?

मुख्य कुरा त खेलाडीहरुको भविश्य नै हो । प्रशिक्षक नहुनुले पनि यसको बिकासमा असर गरिरहेको छ । करिब १० वर्षदेखि कास्कीले प्रशिक्षक पाएको पनि छैन ।  पोखरामा उच्च शिक्षापछि युनिभर्सिटीको अध्ययन गर्न विदेश जाने चलन नै जस्तो छ । स्कुलसम्म राम्रो देखिन्छन् अनि बिस्तारै खेलबाट टाढा हुन्छन । खेलमा आकर्षण दिन कठिनाई छ । यसमा भबिष्य खोज्ने खेलाडीहरु पनि विभागीय टोलीहरु रोज्छन । हामीले प्रदेश सरकारसँग यस प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाइ आकर्षक प्याकेज दिन योजना बनाउन प्रेरित गरिरहेका छौ । स्थानीयमा क्रिकेटिङ कल्चरको  बिकास नभइन्जेल बाहिरबाट आएर खेल्ने खेलाडीहरुबाट मात्र पनि यसको विकास असम्भव छ ।  

खेलकुदमा राजनीति हावी हुँदै गएको छ । यसले नेपाली खेलकुदको विकासमा बाधा पु¥याएको छ कि छैन ?  

नेपाली खेलकुदलाई पार्टीगत राजनीतिले माथि उठाएको छैन । यसको प्रत्यक्ष उदाहरण नेपाली क्रिकेट नै हो । जबसम्म राजनीतिको प्रभाव कम थियो क्रिकेट राम्रो थियो । प्रभाब बढ्दै गयो भताभुंग भयो।  राजनीति आबश्यक छ यसका नेतृतव गर्ने नेताहरुको पहुँचले बजेट देखि खेलाडीहरुको प्रोत्साहन र आकर्षणका लागि पनि महत्वपूर्ण छ । यस्तो राजनीति व्यव्स्थापनमा स्वच्छता हुनुपर्छ ।  प्राविधिक र खेलाडीहरु सम्म पुग्दा यसको पुरै संरचना ध्वस्त हुनुपर्छ । राजनीतिबाट प्रवेश भएको नेपाली क्रिकेटको बिबादलाई समाधान गर्न यही राजनीति प्रवेश नगरोस भनि आइसिसी नेपाली क्रिकेटको बिधान निर्माण मै सचेत पनि देखिएको छ । नेपाली खेलकुदको सर्वाेच्च संस्था मै राजनैतिक नियुक्तिले प्रभाव पर्नु स्वभाविक नै हो । यसलाई व्यवस्थित गर्दै  खेल र खेलाडीको पक्षमा काम भयो भने र आस्थाको आधारमा खेल संघ र पधादिकारीहरुलाई नकारात्मक रुपमा नहेरीसमेटिएर काम हुदाँ स्वीकार्य नै हुनुपर्छ । 

प्रकाशित: २८ फाल्गुन २०७७ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App