१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

ब्रान्डप्रति नेपाली उपभोक्ता सचेत छन्

आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापित ।

सामसङ इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनी हो। सामसङ मोबाइलले नेपालको बजारमा ठूलो हिस्सा ओगटेको छ। सामसङले पछिल्लोपटक नेपालमा ग्यालेक्सी एस २१ मोबाइल लन्च गरेको छ। नेपालमा मोबाइलको बजार, कोभिडले पारेको प्रभाव, प्रतिस्पर्धा, पछिल्लोपटक सामसङले लन्च गरेको ग्यालेक्सी एस २१ मोबाइलका फिचर लगायत विषयमा आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापितसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

कोभिड–१९ले लकडाउनपछि मोबाइल र ल्यापटपको बजार निकै बढेको छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?

कोभिडले लकडाउनपछि फरक परिस्थिति सिर्जना भयो। सामाजिक दुरी कायम गर्नुपर्ने, कामहरू सकेसम्म भर्चुअल गर्नुपर्ने बाध्यता भयो। घरमै बसेर बैंकमा पैसा जम्मा गर्न, ट्रान्सफर गर्न, भुक्तानी गर्न पाउने व्यवस्था भयो। विद्यार्थीहरूले घर मै बसेर अनलाइन कक्षा पढ्न पाए। अफिसको काम घरमा ल्यापटपबाट गर्दा सहज, सुरक्षित भयो। यी कारणले गर्दा उपभोक्ताको बानीमा परिवर्तन तीव्र गतिमा भयो। विगतमा पनि डिजिटलाइजेसनको क्रम थियो। कोभिड र लकडाउनले गर्दा मान्छेहरू दु्रत गतिमा डिजिटलाइजेसनमा गए। नेपाल पनि त्यही क्रममा छ। यसले गर्दा मोबाइल फोन, ट्याब्लेट, ल्यापटप, डेस्कटप लगायत वस्तुको माग बढेको छ।

सामसङले नेपालको बजारलाई कसरी हेरिरहेको छ ? बजार हिस्सा बढाउन के कस्ता रणनीति र योजना बनाउनुभएको छ ?  

विश्व बजारमा सामसङ मोबाइल डिभाइसमा नम्बर वान कम्पनी हो। अनुसन्धान तथा विकासमा सबैभन्दा धेरै खर्च गर्ने कम्पनी पनि हो। विभिन्न अध्ययन, अनुसन्धानबाट डिभाइसहरू तयार हुन्छ। त्यसका आधारमा नयाँ उत्पादनमा नयाँ फिचर थपिन्छ। सामसङले नेपालमा जहिले पनि नयाँ फिचर भएका डिभाइसहरू ल्याउँछ। सामसङले विश्व बजारमा लन्च गर्नासाथ सानो बजार भए पनि त्यो उत्पादनलाई चाँडोभन्दा चाँडो नेपाल ल्याउँछ। नेपाल सानो बजार भए पनि दक्षिण एसियाका उपभोक्ता निकै प्रोग्रेसिभ छन्। संख्या कम भए पनि नेपालीहरू नयाँ प्रविधि प्रयोग गर्न धेरै अगाडि छन्। वैदेशिक रोजगार, अध्ययनका लागि विदेश जाने प्रचलनले पनि होला। हामीले नेपालमा अफोर्डेबल मूल्यमा नयाँ प्रविधि चाँडो ल्याउने प्रयास गर्छौं। रोजगारी, पढाइ, छोरोछोरी भेट्न, घुम्न विदेश जाने प्रचलन छ। यहाँ महँगो भयो भने उतैबाट किनेर ल्याउन सक्छन्। सकेसम्म विदेशको जस्तै मूल्य राख्ने प्रयास गर्छौं।

सामसङले पछिल्लोपटक नेपाली बजारमा मोबाइलका के कस्ता नयाँ डिभाइस ल्याएको छ ?

हामीले पछिल्लोपटक ग्यालेक्सी जी फोल्ड टू डिभाइस लञ्च गरेका छौं। यो सामसङले पहिलोपटक बजारमा ल्याएको हो। त्यो फोल्डेबल डिभाइस हो। यो मोबाइलको स्क्रिनलाई पट्याउन मिल्छ। त्यसैगरी, पछिल्लोपटक सामसङको एस २१ डिभाइस पनि नेपालमा लन्च गरेका छौं। यो आकर्षक मूल्यमा छ।

यहाँले सामसङको एस २१ सिरिज लन्च गरेको बताउनुभयो। यसमा के कस्ता फिचर छन् ?

सामसङका तीनवटा फोन लन्च गरेका छौं। ग्यालेक्सी एस २१, एस २१ प्लस तथा एस २१ अल्ट्रा स्मार्टफोन हुन्। एस २१ अल्ट्राको माग नेपालमा धेरै छ। नयाँ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ। जो नयाँ प्रविधिलाई आत्मसाथ गर्ने, नयाँ चिजबाट आफ्नो उत्पादन क्षमता बढाउन चाहन्छन्। त्यस्तो वर्गलाई लक्षित गरेर ल्याएको हो। यसमा धेरै प्रकारका फिचर छन्। यो सामसङको लेटेस्ट, शक्तिशाली, उत्कृष्ट डिभाइस हो।  

नयाँ एस २१ सिरिज यसको अर्थपूर्ण आविष्कार हो। यसले प्रयोगकर्ताको दैनिक जीवनलाई अझै सहज एवं समृद्ध बनाएको छ। यो नयाँ डिजाइन र बोल्ड छ। अरू स्मार्टफोनभन्दा पृथक छ। यसमा १२० हर्ज रिफ्रेस रेट छ। प्रतिसेकेन्ड एक सय २० पटक रिफ्रेस हुन्छ। त्यसले गर्दा कुनै गेम खेल्यो, तस्बिर स्क्रोल गर्‍यो भने फास्ट हुन्छ। यो प्रयोग गर्दा नयाँ अनुभव हुन्छ। सामसङले क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ। अल्ट्रामा एक सय मेगापिक्सलको क्यामरा छ, जसले गर्दा टाढाको दृष्यलाई एक सय गुणासम्म नजिक जुम गरेर फोेटो लिन सकिन्छ। हाई रिजोलुसनमा भिडियो खिच्न सकिन्छ। भिडियोबाट फोटो निकाल्न सकिन्छ। फोनको मुटु भनेको प्रोसेसर हो। यस सिरिजमा सामसङको अत्याधुनिक एक्जनस २१०० प्रोसेसर प्रयोग गरिएको छ। यो पहिलेको भन्दा २० प्रतिशत बढी शक्तिशाली छ। समग्रमा भन्दा क्यामरा, डिस्प्ले, प्रोसेसिङ पावर धेरै राम्रो छ।  

पछिल्लोपटक नेपालको बजारमा सामसङले लन्च गरेको एस २१ मोबाइलबाट कति आशावादी हुनुहुन्छ ?

सामसङले लन्च गरेको एस २१ मोबाइल डिजाइन, प्रविधि उच्च भएको अवश्य पनि उपभोक्ताले मन पराउनु हुन्छ। अहिले प्रिमियम मूल्य भएकाले सबैको हातहातमा पुग्न सक्दैन। यो मोबाइल बैंकबाट किस्ताबन्दीमा किन्न सक्नुहुन्छ।

प्रायः सबै मोबाइल निर्माता कम्पनीले फोन लन्च गर्दा डिस्प्ले, फोेटो, ब्याट्रीको टिकाउपन, प्रोसेसर लगायतलाई बढी जोड दिएर प्रचार गर्छन्। प्रविधिको स्तरोन्नति गरेर नयाँ फोन ल्याइएको हो कि आवरणलाई राम्रो बनाउन खोजिएको हो ?

प्रयोगकर्ताका लागि अहिलेको समयमा मोबाइल फोन केका लागि प्रयोग हुन्छ भन्ने कुरामा ध्यान दिइन्छ। फोन प्रयोग हुने तीनवटा चिज होला। पहिलो सम्पर्कका लागि, दोस्रो कामकाज जस्तै इमेल चेक गर्न, म्यासेज पठाउन, अफिसको सफ्टवेयर डाउनलोड गर्ने लगायत काममा प्रयोग गरिन्छ। आफिसको रिपोर्टिङ पनि मोबाइलबाट गर्न सकिन्छ। एप्लिकेसन प्रयोग गर्न राम्रो प्रोसेसर चाहियो। अहिले फेसबुक र इन्स्टाग्रामको जमाना हो। जन्मदेखि मृत्युसम्मका, प्रगतिका सबै सूचना फेसबुक, ट्विटरबाट थाहा हुन्छ। फेसबुक र इन्स्टाग्रामका लागि उच्च क्षमताको राम्रो फोटो चाहियो। त्यसका लागि राम्रो मोबाइल चाहियो। नयाँ पुस्ताको मनोरञ्जनमा रुचि छ। गेमिङका लागि उच्च प्रविधिको मोबाइल चाहियो। यसको कारण ती कुरालाई प्रचार गरिएको हो।

छिटो–छिटो (करिब ६ महिनामा) विभिन्न कम्पनील नयाँ–नयाँ फोन लन्च गरिरहेका छन्। यो छोटो अवधिमा नयाँ प्रविधि प्रयोग गरेर एडभान्स्ड मोबाइल सार्वजनिक गरिएको हो कि बजारमा उपस्थिति देखाउन प्रचारका लागि मात्र हो ?

उपभोक्ताको जिज्ञासा हुनु स्वाभाविक हो। सामसङमात्र यस्तो कम्पनी हो, जसले दुई हजारदेखि साढे दुई लाख रूपैयाँभन्दा बढी मूल्यका प्रिमियम मोबाइल उत्पादन तथा बिक्री गर्छ। यसको अर्थ हरेक व्यक्तिको आवश्यकता फरक छ। आवश्यकताले किन्ने क्षमता बढाउँछ। हरेक वर्गले आफ्नो क्षमता अनुसार मोबाइल छनोट गर्छन्। हामी हरेक सेग्मेन्टमा फोन लन्च गरिरहेका हुन्छौं। विगतको तुलनामा प्रविधिको विकास अहिले दु्रत छ। बजारमा टिक्नका लागि पनि नयाँ–नयाँ फोन ल्याउनुपर्ने आवश्यकता छ। सामसङ ग्लोबल मार्केट लिडर भएकाले अवश्य पनि अरूको भन्दा सामसङले चाँडो–चाँडो लन्च गरेको हो। प्रचारका लागि मात्र होइन नयाँ प्रविधि प्रयोग गरेर स्तरोन्नति गरिन्छ। पुरानो र नयाँमा ब्याट्री पनि फरक छ। जस्तै अहिले एस २१ मा प्रयोग भएको ग्लास निकै बलियो छ। फोन भुइँमा खसे पनि फुट्दैन। ब्याट्रीको कुरा गर्दा पहिला तीन÷चार हजार एमएएच क्षमताको ब्याट्री प्रयोग हुन्थ्यो। पछिल्लोपटक सामसङले सात हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरेको छ। बाहिर जाँदा ब्याट्री टिकाउ भयो भने फोटो खिच्न, गेम खेल्न सजिलो हुन्छ। मोबाइलका फिचर पनि थप गरिन्छ।  

सामसङको नेपालको बजारमा हिस्सा कति हो ? मोबाइल बजारमा प्रतिस्पर्धा कस्तो छ ?

सामसङ नेपालको बजारमा अग्रस्थानमा छ। प्रतिस्पर्धाले ग्राहकको चाहना बुझ्ने बनाउँछ। ग्राहकको आवश्यता बुझ्न सक्यो भने बजारमा टिक्न सक्छ। धेरै ब्रान्ड नेपालमा आए। टिक्न नसकेर गए। अहिले मोबाइल किन्यो, तीन महिनापछि त्यो कम्पनी हरायो भने प्रयोगकर्ता कहाँ जाने ? मोबाइल बिग्रियो भने कहाँ जाने ? सामसङले उपभोक्ताको विश्वास जितेको छ। सम्पूर्ण कारणले गर्दा नेपालमा १ नम्बर ब्रान्ड र पहिलो रोजाइ भएको छ।  

किस्ताबन्दीमा किन्दा के फाइदा छ ?

बैंकबाट शून्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ। घर, गाडी किस्ताबन्दीमा किने जस्तै मोबाइल पनि किस्ताबन्दीमा किन्न सक्ने व्यवस्था मिलाएका छौं। हामीले एनआइबिएल, ग्लोबल आइएमई, सानिमा, एनआइसी एसिया बैंकमार्फत किस्ताबन्दीको व्यवस्था मिलाएका छौं। बैंकबाट अरू प्रक्रिया पुर्‍याएपछि शून्य प्रतिशत ब्याजमा किन्न सक्ने सुविधा छ।

विगतमा मोबाइल फोन गैरकानुनी रूपमा नेपाल भित्रिए भन्ने सुनिन्थ्यो। अवैध कारोबारलाई निरुत्साहित गर्न सरकारले कर पनि हटायो। अहिले अवैध रूपमा मोबाइल भित्रिएका छन् कि छैनन् ?

लकडाउनभन्दा पहिला आफ्नो सिस्टमबाट जाँच गर्दा नेपालमा सामसङको जति बिक्री हुन्थ्यो त्यसको ४० देखि ५० प्रतिशत ग्रे मार्केटको प्रोडक्ट पाउँथ्यौं। केहीले विदेशमा काम गरेर फर्केर आउँदा ल्याएको र अर्को चोरी पैठारीबाट आएको। नेपालको सीमा क्षेत्र पार गरेपछि भारतको रूपैडिहा, सुनौली, रक्सौल लगायत ठाउँमा तीन÷चारवटामध्ये एउटा मोबाइल पसल देख्न सकिन्छ। त्यहाँ नेपाली भाउमा नेपालीले खरिद गर्छन्। संस्थागत रूपमा ग्रे प्रोडक्ट आइरहेको छ। यसले सबैलाई असर गरेको छ। सरकारले राजस्व गुमाएको छ भने कम्पनीलाई पनि घाटा भएको छ। सरकारले मोबाइलमा १३ प्रतिशत भ्याट र साढे दुई प्रतिशत ड्युटी लिन्छ। त्यो गुम्छ। आधिकारिक डिलरबाट किन्दा वारेन्टी, इन्स्योरेन्स सहित अन्य सुविधा पाइन्छ। यसलाई निरुत्साहित गर्न सबैको ध्यान जानु जरुरी छ। सरकारलाई पनि अनुरोध गरेका छौं। वैधानिक रूपमा आयात भएका मोबाइललाई मात्र एक्टिभेट बनाउन प्रयास भइरहेको छ।

आम प्रयोगकर्तालाई के भन्न चाहनुहुन्छ ?

मोबाइल किन्दा सस्तोभन्दा ब्रान्डलाई ध्यान दिन अनुरोध छ। ग्रे मार्केटबाट किन्दा सस्तो पर्न सक्छ। छोटो समयका लागि सस्तोभन्दा बजारको अध्ययन गरेर राम्रो ब्रान्ड किन्नुपर्छ। राम्रो ब्रान्डको मोबाइल किनेपछि सर्भिस लगायत सुविधा पाइन्छ। भोलिका दिनमा बिग्रिने नहोस्।

प्रकाशित: २९ माघ २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App