७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

ग्राहककाे सन्तुष्टि नै हाम्राे उद्देश्य

काठमाडाैँ – भारतको उडिसामा जन्मेका लक्ष्मीप्रसाद दास हाल लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआइसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत छन्।

करिब दुई वर्ष क्यानरा बैंकमा काम गरी सन् १९९२ मा एलआइसी इन्डियामा अधिकृत तहमा प्रवेश गरेका उनले प्रशासन, आइटी हुँदै उडिसाको भुवनेश्वरीस्थित कम्पनीको सिनियर डिभिजन व्यवस्थापकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। एलआइसी इन्डियामा २७ वर्ष बिताएका दास व्यस्त जीवनका बाबजुद फुर्सदको समयमा नयाँ ठाउँ भ्रमण गर्न रुचाउँछन्। नेपालका गाउँगाउँ पुगेर जीवन बिमाप्रति जागरण फैलाउने काममा समेत सक्रिय उनी नेपाल र नेपालीको मायाले केही वर्ष यतै बसेर सेवा गर्न मन लागेको बताउँछन्।

मुलुकको वर्तमान बिमा क्षेत्रको अवस्था, पहुँच बढाउन चाल्नुपर्ने कदम, कम्पनीको आगामी योजना, वित्तीय अवस्थालगायत विषयमा नागरिक दैनिकका लागि जिपी भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः
एक वर्षदेखि एलआइसी नेपालमा कार्यरत हुनुहुन्छ। हाल कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
एकदम राम्रो छ। बिमा शुल्क आर्जन हेर्दा कम्पनीले गत आवको पहिलो त्रैमासिक अवधिको तुलनामा यस वर्ष ४४ प्रतिशतभन्दा बढी प्रिमियम संकलन गरेको छ। कम्पनीले चालु आवको तीन महिनामा चार अर्ब २० रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। अघिल्लो आवको सो अवधिमा कम्पनीले दुई अर्ब ९० करोड रुपैयाँ संकलन गरेको थियो।
त्यसैगरी, कम्पनीको कुल जीबन बिमा कोष ५७ अर्ब ८० करोड पुगेको छ। अघिल्लो आवको सोही अवधिमा ४६ अर्ब चार करोड रुपैयाँ थियो। हाल कम्पनीको दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ। कम्पनीले ७४ वटा शाखा कार्यालयमार्फत मुलुकका अधिकांश जिल्लामा सेवा दिँदै आएको छ।

जीवन बिमा किन गर्ने ?
बिमा गर्नु भनेको सामान्यतया भविश्यमा आउने जोखिम बहन गर्न सहज गर्नु हो। मान्छे जन्मिएपछि मृत्यु निश्चित छ तर, आफ्नो मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सवल बनाउन बिमा गर्ने हो।
भविश्यमा कुनै कारणवस मृत्यु भइहाले बालबच्चाको शिक्षा, र उपचारका लागि बिमा कम्पनीले परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउने भएकाले यसले बच्चाको उज्ज्वल भविश्य बनाउन ठूलो भूमिका खेल्छ। कूल आम्दानीको करिब ३५ प्रतिशत रकम बराबरको बिमा ग¥यो भने आफ्नो मृत्युपछि पनि परिवारले त्यही अवस्थामा जीवन बिताउन सक्छन्।

एलआइसी नेपालको बिमा किन खरिद गर्ने ?
सबैभन्दा महत्वपूर्ण कम्पनीप्रतिको विश्वास हो। ग्राहकको यही विश्वास र मायाका कारण कम्पनीको वृद्धि राम्रो छ। कम्पनीले जीवन बिमा कम्पनीमध्ये सबैभन्दा बढी बोनस ( न्यूनतम ६६ देखि ८५ रुपैयाँसम्म) वितरण गर्दै आएको छ। कम्पनीले ग्राहकको सन्तुष्टिका लागि जीवन बिमाको अन्तर्राष्ट्रिय मान्यता अनुसारको सेवा प्रदान गर्दछ। बिमा स्वीकृत गर्ने विधि र दाबी भुक्तानी प्रकृया सहज र छिटो सम्पादन गरिन्छ। आफ्नो लगानी सुरक्षित छ भन्ने महसुस गरी जीवन बिमा रक्षावरण प्राप्त गर्न ग्राहकले एलआइसी नेपालमा बिमा गराउने गरेका छन्। त्यसैगरी, कम्पनीको सोल्भेन्सी रेसियो ३.८ छ, जबकी बिमा समितिले न्यूनतम १.५ प्रतिशत सोल्भेन्सी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

लामो सयम एलआइसी इन्डियामा काम गरी हाल एलआइसी नेपालमा कार्यरत हुुनुहुन्छ। आगामी योजना के छन् ?
विगत करिब एक वर्षदेखि कम्पनीमा कार्यरत छु। यो अवधिमा थुप्रै रणनीति, योजना सञ्चालन गरेका छांै। जीवन तरंग, जीवन आनन्द नामका बिमा योजनाबाट मात्र कम्पनीले ६५ प्रतिशत व्यापार पाईरहेका छ। यी बिमा योजना भारतमा सबैले रुचाएका बिमा योजना हुन्।

गत मे महिनादेखि सुरु भएको धनवृष्टि पनि अधिकांश सर्वसाधारणले रुचाएको बिमा योजना हो। यस योजनामा हरेक तीन वर्षपछि बिमांकको ३३ प्रतिशत रकम बिमितलाई फिर्ता दिइन्छ। यो बिमा योजना १० वा १५ वर्षको अवधिका लागि उपलब्ध हुन्छ।

बिमाप्रति विश्वास बढाउन बिमा कम्पनीले के गर्नुपर्छ ?
सर्वप्रथम एकपटक जारी भएका बिमा पोलिसीलाई निरन्तरता दिनुपर्छ। बीच बाटोमै छाडेर गयो भने सर्वसाधारणमा नैराश्यता पैदा हुन्छ। फलस्वरुप कम्पनीले घाटा बेहोर्नु पर्छ।

एलआइसी नेपालले जारी गरेका मध्ये ९८ प्रतिशत बिमालेख पूर्ण कार्यान्वयन छन्। ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि भएकाले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदा हेर्नुपर्छ।

हाल मुलुकका बिमा कम्पनीको अवस्था कस्तो छ ?
करिब अढाई दशकभन्दा बढी भारतीय बिमा कम्पनीमा काम गर्दा सिकेको कुरामध्ये सबैभन्दा महŒवपूर्ण कुरा हामीले ग्राहकको रकमको सुनिश्चित गर्नुपर्छ। पोलिसी होल्डरलाई सबैभन्दा राम्रो रिटर्न दिन सक्नुपर्छ। नेपालमा सबै कम्पनीले राम्रो गर्न खोजिरहेका छन्। फलस्वरुप बिमा गर्नेको संख्या विगत तीन वर्षमा धेरै वृद्धि भएको छ।

भारत र नेपालको बिमा क्षेत्रमा के फरक छ ?
भारतको बिमा क्षेत्र ठूलो छ। बिमासम्बन्धी सबै काम इन्टरनेटबाट गर्न सकिन्छ। तर, दुवै देशको धर्म, संस्कृति समान छ। मलाई भारत र नेपालमा काम गर्दा कुनै फरक अनूभति भएन।

जीवन बिमा कम्पनी पेनिट्रेसन भारतका पाँच प्रतिशतभन्दा कम छ। तर, नेपालमा १९ प्रतिशत छ। यो बिमा कम्पनीका लागि खुसीको कुरा हो। नेपालमा बिमाको ठूलो बजार छ। काम गर्न रमाइलो अनुभूति भइरहेको छ।

पहिलो त्रैमासिक अवधिमा मात्र ३० हजार बिमा अभिकर्ताले नयाँ अनुमति पत्र लिएका छन्। बिमा पहुँच वृद्धि गर्न बिमा अभिकर्ता नै पर्याप्त छन् वा अन्य पहल जरुरी छ ?
बिमा कम्पनी सञ्चालनका लागि बिमा अभिकर्ता मेरुदण्ड हुन्। रातदिन लगाएर ग्राहकको सेवाका लागि काम गरिरहेका छन्। हाल कम्पनीमा करिब ४५ हजार अभिकर्ता छन् जसमध्ये करिब सात हजार सक्रिय बिमा अभिकर्ता भई कार्यरत छन्। आगामी दिनमा थप बिमा अभिकर्ता नियुक्त गर्ने योजनामा छांै। बिमा अभिकर्ताबिना बिमा सम्भव छैन। हामी अभिकर्तालाई सक्षम र दक्ष बनाउन नियमितरुपमा ख्यातिप्राप्त बिमा प्रशिक्षकबाट प्रशिक्षित गराउँदै आइरहेका छौं।

भारतजस्तो विशाल मुलुकमा २५ वटा जीवन बिमा कम्पनी छन्। तर, नेपालमा १९ वटा जीवन बिमा कम्पनी पुगेका छन्। नेपालको जनसंख्याको आधारमा यी बिमा कम्पनी आवश्यक छन् ?
भारतको तुलनामा नेपालको जनसंख्या कम छ। तर, पछिल्लो चार वर्षमा नेपालको बिमा क्षेत्रमा विस्तार भएको छ। जसको एउटै कारण बिमा कम्पनीको संख्यामा भएको वृद्धि हो। पछिल्लो चार वर्षमा करिब १० प्रतिशतको पहुँचमा रहेको बिमा हाल झन्डै २० प्रतिशतको पहुँचमा पुगेको छ।

जीबन बिमा कम्पनीको संख्यामा वृद्धि भएपछि बिमा पहुँचमा वृद्धि भएको हो। जति धेरै सेवा प्रदायक कम्पनी उति धेरै फाइदा हुन्छ तर, बिमा क्षेत्रको बिकृति हटाउन नियामक निकायले नियन्त्रण गर्नुपर्छ।

बिमा कम्पनीले दाबी भुक्तानी गर्दा दुःख पाए भने के गर्ने ?
बिमा गर्नेलाई समयमै दाबी भुक्तानी गर्ने जिम्मेवारी सम्बन्धित बिमा कम्पनीको हो। तर, यदि कुनै कम्पनीले दाबी भुक्तानी गर्न ढिला वा अन्य कारणले दुःख दिएमा बिमा समितिमा गर्न उजुरी गर्नसक्ने व्यवस्था छ। बिमा कम्पनीको नियामक निकाय बिमा समितिको काम कम्पनीलाई नियमन मात्र गर्ने नभइ पीडितले गुनासो गरेमा समस्या समाधानका लागि पहल गर्छ।

हाल बिमा कम्नपनीबीच कस्तो प्रतिस्पर्धा छ ?
हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन्। फरक कम्पनीका फरक बिमा योजना छन्। सबैको उद्देश्य बिमा गराउने भएकाले कम्पनीबीचमै चर्को प्रतिस्पर्धा हुने गरेको छ।

एलआइसी नेपाललाई अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न समस्या नभए पनि नयाँ कम्पनीलाई धौधौं भएको छ। एकातिर बिमा पोलिसी बिक्री गर्नुपर्ने प्रतिस्पर्धा छ भने अर्कोतिर चुक्ता पुँजी वृद्धि गरी दुई अर्ब पु¥याउनु पर्ने बाध्यता छ।

विगत एक वर्षदेखि एलआइसी नेपालमा कार्यरत हुनुहुन्छ। हाल २० प्रतिशत जनसंख्याको पहुँचमा रहेका बिमा बढाउन निती नियम परिमार्जन गर्न आवश्यक छ ?
अहिलेको अवस्थामा जीवन बिमा कम्पनीमा नीति नियम परिमार्जन गर्न आवश्यक छैन। नीति नियम समयसापेक्ष नै छन्। त्यस्तो केही समस्या छैन। बिमा पहुँच वृद्धि गर्न काम कस्तो ढंगले गर्ने भन्ने कुरा महŒवपूर्ण हुन्छ। पछिल्ला दिनमा बंैकले पनि बिमा गर्दै आएकामा नेपाल राष्ट्र बैंकले रोक लगाएको अवस्था छ। कसैले ठूलो कर्जा लियो भने बिमा अनिवार्य रुपमा गर्नैपर्छ। त्यही भएर नियामक निकायले बिमा कम्पनी र ग्राहकलाई सहज हुने ढंगले नियमन गर्नुपर्छ।

आगामी योजना के छन् ?
यो वर्ष दुइ–तीनवटा नयाँ योजना पाइपलाइनमा छन्। एउटा योजनाका लागि बिमा समितिबाट अनुमति लिइसकेका छांै भने अन्य प्रक्रियामा रहेका छन्।

कम्पनीका हाल चारवटा प्रादेशिक कार्यालय छन्। आगामी दिनमा थप दुई प्रादेशिक कार्यालय खोल्ने योजनामा छांै। नयाँबिमा अभिकर्ता नियुक्त गर्नै योजना बनाएका छांै। कम्पनीको मुख्य उद्देश्य पीडितलाई समयमै दाबी भुक्तानी गर्ने रहेको छ। आगामी दिनमा दाबी भुक्तानीलगायत सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले ‘चेक लेस’ सेवा सञ्चालन गर्न गृहकार्य गरिरहेका छांै।

बिमा गर्ने मानिस दूरदराजमा बस्ने भएकाले क्षतिपूर्ति रकम लिन महिनौं कुर्नुपर्ने अवस्था छ। यो समस्याको दीर्घकालिन समाधानका लागि बंैकसँग सहकार्य गरी २४ घण्टाभित्र पीडितको क्षतिपूर्ति रकम बंैकको खातामा जम्मा हुनेछ। दाबी भुक्तानीमात्र नभई,  कर्जा, बिमा अभिकर्ताको कमिसनलगायत कामका लागि इन्टरनेटबाट कारोबार सुरु गर्ने योजनामा छांै।

प्रकाशित: ८ मंसिर २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App