बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश ः
चिकित्सा सेवामा लागेको कति वर्ष भयो ?
चिकित्सा सेवामा लागेको २४ वर्ष भयो। अकुलोप्लास्टिक (आँखा शल्यचिकित्सा) को रूपमा चाहिँ १९ वर्ष भयो।
अकुलोप्लास्टिक सर्जन भनेको के हो ?
अकुलोप्लास्टिक सर्जरी आँखाभित्रको विशेष विधा हो। यो विधाअन्तर्गत आँखाको ढकनी, आँसु नली, आँखाको क्यान्सरसम्बन्धी रोगको निदान र उपचार हुन्छ।
अकुलोप्लास्टिक विधाले हेर्ने रोगहरू कुन कुन हुन् ?
– यो विधाभित्र थुप्रै रोग पर्छन्। मुख्य रूपमा आँखाको ढकनी नखुल्ने, आँखाको डल्लो बाहिर आउने, आँखाको ढकनीमाथि गएर आँखा असामान्य देखिनेजस्ता रोग पर्छन्। यसमा पनि साझा समस्या भनेको आँसुको नलीसम्बन्धी रोग पर्छ। यो रोगमा आँसु बगिरहने, केही वर्षपछि आँखाबाट कचेरा आउने, आँखा धमिलो हुनेजस्ता समस्या देखिन्छन्। यो रोग ४० वर्ष कटेका महिलामा बढी देखिन्छ।
महिलाको आँसु नलीको बनावट नै अलि साँघुरो र घुमाउरो हुने भएकाले उनीहरूमा यो रोग बढी देखिन्छ। त्यसैगरी आँखाको क्यान्सर पनि यही विधाभित्र पर्छ। आँखाको ढकनीको छालाको क्यान्सर, आँखाको अर्बिट खोपिल्टाको क्यान्सर, आँखाको झिल्लीको, आँखाको रेटिनोब्लास्टो (बच्चाको आँखाको क्यान्सर)मा हुने क्यान्सर र आँखाको स्नायुको क्यान्सर पर्दछन्।
–विकसित देशमा एक वर्षभित्र आँखा जाँचिने कारण जन्मजात हुने आँखाका क्यान्सरजस्ता अन्य रोगको सुरुमै उपचार गर्नु हो।
आँखाको क्यान्सर बढेको हो ?
हो, आँखाको रोग पहिचान हुने र रेफर भएर आउने चलन बढेकाले बिरामी बढेका छन्।
भर्खरै रेटिनोब्लास्टोमा (बच्चाको आँखाको क्यान्सर) जनचेतना सप्ताह मनाउनुभयो, के कस्ता उपलब्धि भए ?
हामीले नेपाल अकुलोप्लास्टिक सर्जनको सहकार्यमा यो सप्ताह मनाएका हौं। नेपालभरका २७ वटा आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल हातामा स्टल राखेर अस्पताल आउने बिरामी र बिरामीका साथीलाई समेत यो रोगबारे पर्याप्त जानकारी दियौं। यो सप्ताहमा रेटिनोब्लास्टोमा भएर आउने बिरामीको निःशुल्क उपचार ग¥यौं। कार्यक्रमले समुदायमा यो रोगको जानकारी पुगेको कुरालाई उपलब्धि मान्नुपर्छ।
यो सप्ताह मनाउनुको कारण ?
यो क्यान्सरको पहिचान समयमै भएन भने बच्चाको ज्यानै जान सक्छ। जन्मजात रूपमा आउने यो क्यान्सरको छिट्टै पहिचान र उपपचार हुन सक्यो भने बच्चाको दृष्टि, आँखा र जीवनरक्षा गर्न सकिन्छ। ढिला भएमा तीनै कुरा गुम्छन्। यो रोग पाँच वर्षमुनिका बालबालिकामा लाग्ने भएकाले ‘तीन वर्षभित्रै आँखाको जाँच गरेर बच्चाको जीवन बचाऔं’ भन्ने सन्देश दिन सो सप्ताह मनाएका हौं। दोस्रो कुरा बुढो उमेरका बिरामीलाई बचाउनुभन्दा बच्चालाई बचाउँदा भोलिको समाजमा प्रभाव पर्छ। यो रोग समयमै पहिचान भए शतप्रतिशत निको हुन्छ।
–२० वर्षअघि क्यान्सरले आँखा नै बाहिर निस्केपछि बिरामी आउँथे। अहिले सुरुकै अवस्थामा या आँखाको डल्लोमा टीका देखिनेबित्तिकै आउँछन्।
कति समयभित्र आए बच्चाको आँखाको दृष्टि बचाउन सकिन्छ ?
बच्चा जन्मेको एक वर्षभित्रमा एकपटक र तीन वर्षभित्रमा एकपटक आँखाको पर्दा फुलाएर जाँच गरे रोग पत्ता लाग्छ। यीबाहेक घरैमा रोग पत्ता लगाउने केही उपाय छन्। यो रोग लागेमा मुख्य चारवटा संकेत देखिन्छन्। पहिलो हो, आँखाको कालो भाग कालै हुनुपर्छ। यदि त्यो सेतो टीकाजस्तो देखियो भने आँखाको क्यान्सर हुन सक्छ।
केही समय पहिलेसम्म सिधा हेर्ने बच्चाले विस्तारै छड्के हेर्न थालेको खण्डमा पनि आँखाको क्यान्सर भएको हुन सक्छ। त्यस्तै आँखा लामो समयसम्म रातो भइरहने र दुख्ने समस्या भएमा। तर यस्तो दुखाइमा पिप तथा कचेरा आउँदैन। अर्को आँखा आफैं ठूलो भएर बाहिर निस्केर बाहिर आउन थाल्यो भने रेटिनोब्लास्टोमा हुनसक्छ। हिँड्दा लड्न थाल्यो भने पनि।
विकसित देशमा बच्चाको अनिवार्य आँखा जाँच गर्ने मापदण्ड छ, नेपालमा छ कि छैन ?
यहाँ त्यो मापदण्ड छैन। विकसित देशमा एक वर्षभित्र आँखा जाँचिने कारण जन्मजात हुने आँखाका क्यान्सरजस्ता अन्य रोगको सुरुमै उपचार गर्नु हो। यसकारण ती देशमा आँखाको क्यान्सरको कारण हुने मृत्युदर पनि एक प्रतिशत मात्र छ। हामीकहाँ ढिला गरी मात्र उपचारमा आउने चलनले रोग लागेकामध्ये ७० प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ। हामीकहाँ पनि हरेक जन्मेका बच्चाको खोप जस्तै अनिवार्य रूपमा आँखा जाँच्ने प्रावधान हुनुपर्छ।
–लामो समय आँखाको घाउ निको नभएमा, नानीछेउका डल्ला रातो भई सुन्निएमा वा बिझाएमा क्यान्सर हुन सक्छ।
आँखाको क्यान्सरका बालबालिका कुन अवस्थामा अस्पताल आइपुग्छन् ?
२० वर्षअघि क्यान्सरले आँखा नै बाहिर निस्केपछि आउँथे। अहिले सुरुकै अवस्थामा या आँखाको डल्लोमा टीका देखिनेबित्तिकै आउँछन्। सुरुमा आउनेको आँखामा सानो ट्युमर छ भने पनि आँखाभित्र लेजर थेरापी, क्रायोथेरापी, टिपिटी (ट्रान्सपियुपिलुरी थर्मोथेरापी) र किमोथेरापीले पनि मार्न सक्छौं। किमोथेरापी आँखाको वरिपरि दिएर पनि मार्न सक्छौं। यी उपचारले नहुने अवस्थामा मात्र आँखा निकाल्छौं। क्यान्सर आँखाबाट फैलिएर बिरामीको मृत्यु नहोस् भन्नका लागि क्यान्सर प्रभावित आँखा निकाल्छौं। आँखा निकालेपछि पुनः कृत्रिम आँखा राखिदिन्छौं।
बच्चालाई कुनै पनि आँखाको क्यान्सर या रोगबाट बचाउन अविभावकले के गर्नुपर्छ ?
एक वर्षदेखि तीन वर्षबीचमा एकपटक आँखा जाँच गर्नुपर्छ। यदि परिवारका सदस्यमा जन्मजात रोग छ भने बच्चाको अझ चाँडो आँखाजाँच गराउनुपर्छ।
ठूला मानिसमा हुने आँखाको क्यान्सरको अवस्था नेपालमा कस्तो छ ?
यो क्यान्सरको अवस्था पनि धेरै छ। सबैभन्दा बढी देखिने भनेको आँखाको डिलको छालाको क्यान्सर हो। यो क्यान्सरमा वातावरणले पनि प्रभाव पार्छ। अस्टे«लियामा यो भागको क्यान्सर बढी हुन्छ। रसायन, विकिरणमा बस्नेहरूमा पनि छालाको क्यान्सर हुन्छ। त्यसकारण आँखाको डिलमा सानोतिनो खटिरा आए निकालिहाल्नु पर्छ। धेरैले अन्धविश्वासका कारण यस्ता खटिराको बेवास्ता गर्छन्। कसैकसैले त भाग्यको चिह्नको रूपमा पनि लिन्छन्।
ठूलामा हुने अर्को साझा कन्जमटाइवा (आँखाको डल्लोको झिल्ली)को क्यान्सर हो। यो क्यान्सरमा आँखाको कालो भागवरिपरि सानो डल्लो आउँछ। सुरुमा हामीले वास्ता गर्दैनौं। पछि गएर फैलिन्छ।
आँखाको क्यान्सरको सुरुमा कस्तो लक्षण देखिन्छ ?
आँखाको कुन भागको क्यान्सर हो, त्यसै अनुसार लक्षण भिन्नभिन्न हुन्छन्।
आँखाको डिलको क्यान्सरको लक्षण कस्तो देखिन्छ ?
लामो समय घाउ निको नभएमा, आँखाभित्र नानीछेउका डल्ला रातो भई सुन्निएमा वा बिझाएमा क्यान्सर हुन सक्छ।
आँखाको खोपिल्टाको लक्षण नि ?
– आँखा ठूलो भएर बाहिर आउने
– आँखा चलाउनलाई अप्ठ्यारो हुने, एउटा वस्तु दुइटा देखिने, दृष्टि ह्रास हुने।
दृष्टि नसाको क्यान्सर हुँदा कस्ता लक्षण देखिन्छन् ?
सानो हुन्जेल केही थाहा हुँदैन जब ट्युमर ठूलो हुन्छ, आँखा नै बाहिर निस्कन थाल्छ।
आँखाको मेलानोमाको क्यान्सर हुँदाको लक्षण नि ?
यो ठूला मानिसमा हुने साझा क्यान्सर हो। पर्दाको बीचबाट सुरु भएमा दृष्टि कम हुन्छ। छेउमा छ भने कुनै लक्षण नै देखिँदैन। नियमित जाँच गर्ने क्रममा मात्र थाहा हुन्छ। त्यसकारण धेरै फैलिसकेपछि मात्र थाहा हुन्छ। यो कम तर प्राणघातक क्यान्सर हो।
नेपालमा आँखाको उपचारको अवस्था कस्तो छ ?यो विधामा अध्ययन गर्नेको पनि रुचि बढिरहेको छ। त्यसैगरी हरेक वर्ष दुईदेखि तीनजना चिकित्सक यो विधामा उत्पादन भइरहेका छन्। यो विधाका जनशक्ति १८ जना छन् तर सक्रिय भएर काम गर्ने १० जना मात्र छन्।
यो उपचारमा हाम्रो प्रविधि पर्याप्त छ त ?
प्रविधि पर्याप्त छ। तर अति विकसित राष्ट्रको दाँजोमा भने अझै पुगेका छैनौं।
कुनै पनि आँखाको क्यान्सरमा विदेश जानुपर्दैन त ?
इन्ट्राआर्टरी क्यान्सरको उपचार गर्नसकेका छैनौं, ब्राकोथेरापी र इन्ट्राआर्टरी केमोथेरापी उपचारका लागि अहिले पनि विदेश जानुपर्ने अवस्था छ। तर यो प्रविधि लिन पनि कोसिस भइरहेको छ।
प्रकाशित: ४ जेष्ठ २०७६ ०२:३४ शनिबार